बैसाख २६, २०८३ शनिबार May 9, 2026

आर्थिक सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रभावकारी

प्रविधिको प्रयोग गरेर अनुदान र सहायता वितरणलाई पारदर्शी बनाउँदै ‘पार्टी’ र ‘जाति’ हेरेर सेवासुविधा दिने प्रवृत्तिको अन्त्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी, २५ पुस : बेनी नगरपालिकाले प्रयोगमा ल्याएको आर्थिक सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रभावकारी बनेको छ । विकास योजना छनोट, लक्षित समुदायमा कार्यक्रम सञ्चालन, सेवा, सुविधा, अनुदान र सहायता वितरणका लागि लाभग्राही पहिचान, आन्तरिक आम्दानी वृद्धि तथा विपद् व्यवस्थापनका लागि सूचना प्रणाली प्रभावकारी बनेको हो ।

नगरप्रमुख सुरत केसीले प्रविधिको प्रयोग गरेर अनुदान र सहायता वितरणलाई पारदर्शी बनाउँदै ‘पार्टी’ र ‘जाति’ हेरेर सेवासुविधा दिने प्रवृत्तिको अन्त्य गरेको बताउनुभयो । “लक्षित समुदाय र आवश्यकता पहिचान गरेर कार्यक्रम सञ्चालन गर्न यो सूचना प्रणालीले सहयोग गरेको छ”, उहाँले भन्नुभयो, “पहुँच, सम्बन्ध, भनसुन र दबाबका आधारमा एकै व्यक्तिले दोहोरो, तेहोरो सुविधा पाउने र कसैले नपाउने अवस्थाको अन्त्य गरेका छौँ ।”

नगरप्रमुख केसीका अनुसार बेनी नगरपालिकाले नेपालमै पहिलोपटक गत वर्षदेखि सबै घरपरिवारको विस्तृत विवरण रहेको सूचना प्रणाली प्रयोगमा ल्याएको थियो । सफ्टवेयरमा आधारित सूचना प्रणालीमा घरको तस्बिर, परिवारका सदस्य, उनीहरूको रोजगार, आर्थिक, शैक्षिक, स्वास्थ्य अवस्थालगायत ९२ किसिमका सूचना राखिएको छ ।

दश किसिमका व्यक्तिगत सूचनालाई गोप्य राखिएको छ । नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, सचिव र विषयगत शाखाका कर्मचारीको पहुँच हुने प्रणालीको विवरण अद्यावधिक गर्ने अधिकार पनि उनीहरूलाई नै दिइएको छ ।

यही प्रणालीका आधारमा सात हजार ४४० घरमा क्यूआर कोडसहितको विद्युतीय घर नम्बर प्रणाली लागू भइसकेको छ । यसबाट घरधनीको नाम र सम्पर्क नम्बरबाट घरको स्थान पहिचान गर्न सकिनेछ । घरवाहाल करमार्फत आन्तरिक आम्दानी वृद्धिका लागि यो प्रणालीले सहयोग गरेको नगरप्रमुख केसीले बताउनुभयो ।

सूचना प्रणालीको आधारमा पहिचान भएका ३४० जना विपन्न महिलालाई संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सम्बोधन परियोजनामार्फत आयआर्जनमूलक क्रियाकलाप गर्न बीउपुँजीस्वरूप रु २७ हजारका दरले अनुदान वितरण गरिएको छ । थप एक सय जनालाई रु ४० हजारका दरले व्यवसाय सञ्चालन गर्न बीउपुँजी अनुदान वितरण भएको थियो । घरविहीन १३ परिवार नगरवासीका लागि गत वर्ष घर निर्माण गरिदिएको र यस वर्ष थप १३ परिवारलाई घर बनाउनका लागि रु तीन–तीन लाखका दरले अनुदान उपलब्ध गराउन बजेट विनियोजन गरेको उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो ।

“सूचना प्रणालीको अधिकतम प्रयोग गरेर विकास आयोजना र कार्यक्रमलाई लक्षित समुदायको पहुँचमा पुर्याउन सजिलो भएको छ”, उहाँले भन्नुभयो, “सहायता, अनुदान, राहत पाउनेहरूको सबै विवरण सफ्टवेयरमा हेरेर जानकारी पाइने भएकाले दोहोरो पर्ने समस्या हटेको हो ।”

योजना निर्माण र कार्यान्वयनका लागि आर्थिक सामाजिक जोखिम सूचना प्रणालीले सहयोग गरेको जनप्रतिनिधि र कर्मचारीको अनुभव छ । बेनी नगरपालिका–१ सारेमारेकी अपाङ्गता भएकी शोभा थापाले सम्बोधन परियोजनामार्फत रु २७ हजार बीउपँुजी पाएपछि लैनो भैँसी किन्नुभयो ।

“घरमा भएको भैँसी बेचेको रु ५० हजार, मसँग भएको रु तीन हजार र २७ हजार बीउपुँजीबाट रु ८० हजारमा लैनो भैँसी किनेर ल्याएपछि घ्यू बेच्न थालेकी छु”, उहाँले भन्नुभयो, “बाख्रा, कुखुरा र भैँसी पालेर दुई जना बहिनी र मेरो एक जना छोरीको पढाइ तथा घरखर्च चलाउन ऋण खोज्नुपर्ने अवस्थाबाट मुक्ति मिलेको छ ।”

युएनडिपीले ‘कोड फ्युजन’ कम्पनीमार्फत विकास गरेको सफ्टवेयरको अवधारणा, डिजाइन र विवरण राख्ने काम नगरपालिकाका सूचना प्रविधि अधिकृत खिम खत्री नेतृत्वको कर्मचारीहरूले गरेका थिए । गैरसरकारी संस्था सङ्गममार्फत प्रत्येक बस्तीमा जनशक्ति परिचालन गरेर घरधुरीको विद्युतीय माध्यमबाट विवरण सङ्कलन गरिएको थियो ।

बेनी नगरपालिकाले प्रयोगमा ल्याएको यो प्रणालीलाई म्याग्दीकै मङ्गला, मालिका र अन्नपूर्ण गाउँपालिकाले पनि लागू गर्नका लागि विवरण सङ्कलनको चरणमा रहेका छन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पालिकाभित्रका सबै घरपरिवारको वास्तविक अवस्था पहिचान गरी उनीहरूको आवश्यकताका आधारमा योजना, कार्यक्रम बनाउनका लागि सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

सङ्गम म्याग्दीको प्राविधिक सहयोगमा पालिकाकै जनशक्ति परिचालन गरेर घरघरमा पुगेर विद्युतीय माध्यमबाट विवरण सङ्कलन गरी सफ्टवेयरमा प्रविष्ट गराउने काम भइरहेको बताउनुभयो । सङ्गम म्याग्दीका सम्बोधन परियोजना संयोजक प्रकाश रेग्मीले मालिकामा चार हजार, मङ्गलामा तीन हजार ४०० र अन्नपूर्णमा तीन हजार ४७७ घरपरिवारको विवरण सफ्टवेयरमा प्रविष्ट गराउने काम सकिएको बताउनुभयो । नियमित अद्यावधिक गर्न र प्रयोगका निरन्तरता चुनौती रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो
२०८३ बैसाख २६, शनिबार
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार