फागुण ६, २०८२ बुधबार February 18, 2026

पोखरामा सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला

मेलामा गण्डकी प्रदेशभित्रबाट छानिएका १५ नवीन सोचमा आधारित उद्यम, वस्तु तथा सेवा वा प्रक्रियामा नवप्रवर्तनसँग सम्बन्धित व्यवसायको प्रदर्शनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की, २७ पुसः गण्डकी प्रदेशको राजधानी पोखरामा सूचना–प्रविधि तथा ‘स्टार्टअप’ व्यवसाय प्रदर्शनी हुने भएको छ । नवप्रवर्तनमार्फत रोजगारी सृजना र बेरोजगारी अन्त्यका लागि युवापुस्ताका उद्यमीबाट उत्पादित प्रविधि तथा व्यवसाय प्रदर्शनका लागि मेला आयोजना गर्न लागिएको हो ।

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा आगामी माघ अन्तिम साता प्रदर्शनी आयोजना गर्दैछ । मेलामा गण्डकी प्रदेशभित्रबाट छानिएका १५ नवीन सोचमा आधारित उद्यम, वस्तु तथा सेवा वा प्रक्रियामा नवप्रवर्तनसँग सम्बन्धित व्यवसायको प्रदर्शनी गरिनेछ ।

सो प्रदर्शनी प्रतिस्पर्धात्मक हुने र पहिलो हुनेले रु ४० हजार, द्वितीयले रु ३० हजार र तृतीय हुनेले रु २० हजार पुरस्कार प्राप्त गर्ने राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले जानकारी दिनुभयो ।

“प्रदर्शनीमा सहभागी हुन चाहनेले अनलाइन फाराम भर्नुपर्नेछ । तीमध्ये छानिएकालाई मेलामा सहभागी गराइने, आवेदकको उमेर ४० वर्ष ननाघेको, उद्योग÷व्यवसाय सञ्चालन गरेको १० वर्षभन्दा बढी नभएको तथा सरकारी कार्यालयमा दर्ता भएको एवं वार्षिक कारोबार रु १५ करोडभन्दा बढी नभएको हुनुपर्नेछ”, उहाँले भन्नुभयो ।

पोखराबाट सुरु गरिने यो प्रदर्शनी देशका सातवटै प्रदेशमा आयोजना गरिने छ भने अन्तिममा काठमाडौँमा हुने बृहत् प्रतिस्पर्धात्मक प्रदर्शनीमा समेत प्रदेशमा उत्कृष्ट रहेकालाई सामेल गरिने परिषद्ले जनाएको छ । प्रदर्शनीको तयारीको सन्दर्भमा युवा परिषद्ले पोखरामा अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरेको छ । कास्कीसहित स्याङ्जा, बागलुङ, तनहुँ र पर्वतका उद्योगी÷व्यवसायीको सहभागिता रहेको सो अभिमुखीकरण कार्यक्रममा उद्यमशीलता विकास विज्ञ इन्जिनियर रमेश सुवेदीले नवप्रवर्तनमार्फत रोजगारी सृजना र युवा पलायन रोक्नका लागि मेला आयोजना गरिएको बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले युवापुस्ताको पलायन रोकियोेस्, देशमै रोजगारी सृजना होस् भन्ने निजी क्षेत्रको चाहना रहेको बताउनुभयो । “गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा उद्योगी÷व्यवसायीमाथि भएको आक्रमणका कारण निजी क्षेत्र हतोत्साही बनेको अवस्थामा यस्ता प्रदर्शनीले युवापुस्तालाई प्रोत्साहित गर्नेछ”, उहाँले भन्नुभयो ।

पोखरा महानगरपालिकाको व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारीले उद्यमशीलता विकासका निम्ति पोखरा महानगरपालिकाले चालेका कदमबारे जानकारी दिँदै युवा परिषद्ले आयोजना गर्ने कार्यक्रमले नयाँ सोचको विकास गराउने बताउनुभयो । युवा परिषद्का उपसचिव तारापति खरेलले निजी क्षेत्र र खासगरी युवालाई सृजनात्मक व्यवसायमा सामेल गराउन मेला आयोजना गर्न लागेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार