काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई काउन्टरसम्म नपुगी अनलाइन आवेदनमार्फत नयाँ प्रिपेड फिजिकल सिमकार्ड हुलाकबाट घरमै उपलब्ध गराउने गरी ‘हुलाक सिम सेवा’ सुरु गरेको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले एक कार्यक्रमका बीच सो सेवाको आरम्भ गरेका हुन् ।
उद्घाटनका क्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र हुलाक सेवा विभागकी महानिर्देशक मनमायाँ भट्टराई पङ्गेनीले पहिलो ग्राहकका रूपमा मन्त्री तिमिल्सिनालाई सिमकार्ड हस्तान्तरण गरेका थिए । सो अवसरमा मन्त्री तिमिल्सिनाले यस सेवाको दायरा विस्तार गर्न निर्देशन दिँदै आगामी दिनमा बाँकी सरकारी सेवाहरू समेत पूर्ण रूपमा अनलाइनमार्फत प्रवाह गरी नागरिकलाई सहज बनाउनुपर्नेमा जोड दिए ।
सञ्चार मन्त्रालयका सचिव एवम् टेलिकम सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेलले नयाँ पुस्ताको आवश्यकता सम्बोधन गर्न सरकारी निकायहरूबिचको यस्तो सहकार्यलाई थप विस्तार गर्नुपर्ने बताए ।
त्यस्तै, प्रबन्ध निर्देशक पहाडीले कार्यालय र डिलरमा सीमित सेवा अब ग्राहकको घरसम्म पुग्ने र सडक सञ्जाल नभएका ग्रामीण क्षेत्रमा समेत सेवा पुर्याउन मद्दत पुग्ने बताइन् ।
हुलाक महानिर्देशक पङ्गेनीले ग्रामीण भेगमा टेलिकमका सेवा पुर्याउन हुलाक संयन्त्र प्रभावकारी हुने उल्लेख गर्दै आगामी दिनमा अन्य सेवामा पनि सहकार्य गर्न सकिने धारणा राखिन् ।
यस्तो छ आवेदन, शुल्क र डेलिभरी प्रक्रिया
यो सेवा लिनका लागि ग्राहकले टेलिकमको वेबसाइट (esim.ntc.net.np) मा रहेको ‘Postal SIM Portal’ मा प्रवेश गरी व्यक्तिगत विवरण दर्ता गर्नुपर्नेछ । फाराम भर्दा पूरा नाम, जन्ममिति, ठेगाना, नजिकको ल्यान्डमार्क खुलाउनुका साथै आफ्नो फोटो र नागरिकता वा राहदानीको दुवैतर्फको स्पष्ट प्रतिलिपि अपलोड गर्नुपर्नेछ । त्यसपछि नजिकको टेलिकम काउन्टर छनोट गरी आवेदन पेस गर्न सकिनेछ ।
पेस गरिएको कागजात टेलिकमले जाँच गरेपछि त्यसको जानकारी एसएमएसमार्फत दिइनेछ । विवरण त्रुटिपूर्ण भए सच्याउन सकिनेछ भने स्वीकृत भएमा भुक्तानी प्रक्रिया खुल्नेछ ।
ग्राहकले सिमबापत ९० रुपैयाँ र हुलाक डेलिभरी शुल्कबापत ७० रुपैयाँ गरी कुल १६० रुपैयाँ जुनसुकै डिजिटल वालेट, मोबाइल बैंकिङ वा ‘नमस्ते पे’ मार्फत भुक्तानी गर्न सक्नेछन् ।
रकम भुक्तानी भएपछि टेलिकमले ग्राहकको नयाँ मोबाइल नम्बर तय गरी एसएमएस र ईमेलमार्फत डेलिभरी कन्फर्मेसन तथा एक्टिभेसन कोड पठाउनेछ । त्यसपछि नजिकको हुलाक कार्यालयमार्फत सिम ग्राहकको ठेगानामा पठाइनेछ, जसलाई अनलाइनबाटै ट्र्याकिङ गर्न सकिने सुविधा दिइएको छ ।
हुलाक कर्मचारीले घरमा सिम ल्याइदिँदा ग्राहकले आफ्नो विवरण प्रमाणित गराउनुपर्नेछ । सिम प्राप्त भएपछि पोर्टलमा लगइन गरेर प्राप्त एक्टिभेसन कोड प्रविष्ट गरी वा सोही सिमबाट *1414# डायल गरी सेवा एक्टिभेट गर्न सकिने टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिएका छन् । टेकपाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया