असोज २५, २०८३ आइतबार October 11, 2026

इन्टरनेटको सेवाशुल्क बढाए दूरसञ्चार प्राधिकरणले कारबाही गर्ने

शुल्क बढाउनुभन्दा कम्तीमा तीन महिनाअगावै स्वीकृतिका लागि यस प्राधिकरणमा पेस गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज २५ गते । बिनास्वीकृति इन्टरनेटको सेवाशुल्क बढाए नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता सेवाप्रदायक कम्पनीलाई कारबाही गर्ने भएको छ ।

इन्टरनेट सेवाको शुल्क वृद्धि भएको भन्दै पछिल्लो समय सार्वजनिक भएका विषयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले शुल्क वृद्धिसहित स्वीकृत सेवाशुल्कको दररेटभन्दा बढी सेवाशुल्क लिने तथा ग्राहकलाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गरेको पाइएमा दूरसञ्चार ऐन तथा नियमबमोजिम कारबाही गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले शुक्रबार विज्ञप्ति जारी गर्दै इन्टरनेटको सेवाशुल्क वृद्धि गर्ने गरी हालै इन्टरनेट सेवाप्रदायकबाट कुनै प्रस्ताव नआएको र सेवाशुल्क वृद्धि गर्ने गरी कुनै स्वीकृति प्रदान नगरिएको जनाएको छ ।

हालैमात्र इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइस्पान) ले महँगिएका कारण देखाउँदै सस्ता इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरेको थियो । उक्त घोषणापछि उपभोक्तालाई न्यूनतम दुई सय एमबिपिएसको प्याकेज लिनुपर्ने बाध्यता भएको थियो । यसले सस्तो प्याकेज प्रयोग गरिरहेका उपभोक्ता प्रत्यक्ष प्रभावित भएका थिए । प्राधिकरणले दूरसञ्चार सेवाप्रदायकले दूरसञ्चार सेवा उपलब्ध गराएबापत लिने सेवाशुल्क उचित र मनासिब हुनुपर्ने पनि जनाएको छ ।

सेवाशुल्कको दर यस प्राधिकरणको निर्देशिकाका आधारमा तयार गरी लागु हुने भएकाले शुल्क बढाउनुभन्दा कम्तीमा तीन महिनाअगावै स्वीकृतिका लागि यस प्राधिकरणमा पेस गर्नुपर्ने व्यवस्था रहेको सेवाप्रदायकलाई स्मरण गराएको छ । स्वीकृत सेवाशुल्क अनिवार्य रूपमा प्राधिकरणबाट तोकेबमोजिम सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने प्राधिकरणले उल्लेख गरेको छ । स्वीकृत दररेटभन्दा बढी शुल्क लिएमा वा गैरकानुनी रूपमा सेवा सञ्चालन गरी उपभोक्ताको हकहितविपरीत कार्य गरेको भए जानकारी गराउन पनि प्राधिकरणले आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया