असोज १०, २०८३ शनिबार September 26, 2026

कृत्रिम बौधिकता (एआई)लाई थारु भाषा सिकाउने प्रयास

थारू भाषाका पर्याप्त डिजिटल स्रोत र भाषिक तथ्याङ्क उपलब्ध नहुँदा प्रणाली विकासको काम अपेक्षाभन्दा केही ढिलो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बाँके, १० असोजः लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान, नेपालगन्ज,  स्नातकोत्तर तह (एमटेक) का विद्यार्थीले कृत्रिम बौधिकतालाई थारू भाषा सिकाउन थालेको छ । उहाँहरूले वडा कार्यालयको सेवा डिजिटल बनाउनेलगायत प्रविधिमा आधारित १० परियोजना तयार गर्दै ती परियोजना सम्बन्धित सरकारी, गैरसरकारी तथा निजी संस्थालाई हस्तान्तरण गरिएको छ ।

विश्वविद्यालयको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानअन्तर्गत एमटेक कम्प्युटर साइन्स र एमटेक इन्फर्मेसन टेक्नोलोजीका दोस्रो सेमेस्टरका विद्यार्थीले विभिन्न संस्थाको आवश्यकता र समस्या पहिचान गरी परियोजना विकास गरेको बताउनुभएको छ ।

सो परियोजनामध्ये थारू भाषामा पाठ निर्माण वेबमा आधारित प्राकृतिक भाषा प्रशोधन प्रणाली पनि विद्यार्थीले तयार गर्नुभएको छ । परियोजनामा कृत्रिम बौधिकतालाई थारू भाषा सिकाउने र थारू भाषामै पाठ सिर्जना गर्नसक्ने प्रणाली विकास गर्ने प्रयास गरिएको एमटेकका विद्यार्थी लौटन थारुले जानकारी दिनुभयो । “थारु भाषाको सानोतिनो शब्दको अर्थ आइरहेको छ तर लामो शब्दको अर्थ आउन सकेको छैन”, उहाँले रासससँग भन्नुभयो ।

अहिले प्रयोगमा रहेका अधिकांश कृत्रिम बौधिकतामा आधारित उपकरण र भाषिक नमुनामा थारू भाषाको स्रोत तथा समर्थन सीमित भएकाले भाषालाई एआई प्रणालीमा समेटिएको विद्यार्थी थारुको भनाइ छ । परियोजनामा थारू भाषाभित्र रहेको भाषिक तथा क्षेत्रगत विविधतालाई समावेश गरी राना थारू, डगौरा थारुलगायत भाषिक प्रयोगलाई समेटिएको छ ।

थारू भाषाका पर्याप्त डिजिटल स्रोत र भाषिक तथ्याङ्क उपलब्ध नहुँदा प्रणाली विकासको काम अपेक्षाभन्दा केही ढिलो भइरहेको उहाँले बताउनुभयो । विद्यार्थी थारुले उपलब्ध स्रोतलाई सङ्कलन र प्रशोधन गर्ने काम भइरहेको जानकारी दिँदै लोरा प्रविधिमार्फत ‘क्वेन मोडल’ लाई थारू भाषामा अनुकूलन गर्ने काम भइरहेको उल्लेख गर्नुभयो ।

प्रणालीको भाषिक शुद्धता र प्रयोग योग्यता परीक्षणका लागि थारू भाषा जान्ने व्यक्तिबाट मूल्याङ्कन र स्तर निर्धारण लिने तयारी गरिएको छ । यसबाट प्रणालीले उत्पादन गर्ने पाठ थारू भाषाको प्रयोग र भाषिक संरचनासँग मेल खाने वा नखाने परीक्षण गरिने थारुले बताउनुभयो । सो परियोजनामा थारुसहित राजु सुवेदी, रामद्वारिका चौधरी र रविन श्रेष्ठ संलग्न हुनुहुन्छ ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका निमित्त प्रमुख, डीन डा निरज केसीले थारु भाषा एआइलाई सिकाउने अभ्यास नौलो प्रयोग भएको उल्लेख गर्दै अहिलेसम्म विश्वमा अन्य धेरै भाषा भए पनि थारु भाषाको प्रयोग डिजिटल प्रणालीमा हुन नसकेको बताउनुभयो ।

उहाँले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानभन्दा पनि व्याहारिक र वास्तविक समस्या समाधानमा प्रविधिको प्रयोग गर्नसक्ने उद्देश्यले यस्ता परियोजना प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । “कक्षाकोठामा सिकेको ज्ञानलाई वास्तविक संसारका समस्यासँग जोडेर प्रयोग गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको छ”, डा केसीले भन्नुभयो ।

विद्यार्थीले तयार पारेको अर्को परियोजना स्मार्ट वडा सूचना तथा नागरिक सहभागिता प्रणाली हो । वडा कार्यालयमा हुने कागजी काम घटाउने र सेवा तथा सूचनालाई डिजिटल माध्यमबाट व्यवस्थित गर्ने उद्देश्यले सो प्रणाली विकास गरिएको हो ।

समूहका नेता ब्रिजेस वैश्यका अनुसार वडामा सेवा प्रवाहका क्रममा देखिएका समस्या र नागरिकका आवश्यकतालाई पहिचान गरेर प्रणालीको अवधारणा तयार पारिएको हो । वडा कार्यालयमा हुने कागजी कामलाई सकेसम्म कम गर्ने र सेवासँग सम्बन्धित सूचना डिजिटल माध्यमबाट व्यवस्थित गर्ने प्रणालीको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

विद्यार्थीका अन्य परियोजनामा क्युआर कोडमा आधारित रेस्टुरेन्ट अर्डर प्रणाली पनि रहेको छ । ग्राहकले क्युआर कोडमार्फत रेस्टुरेन्टका सेवा तथा खाद्य सामग्री हेरेर अर्डर गर्नसक्ने अवधारणामा प्रणाली विकास गरिएको हो । शैक्षिक प्रमाणपत्र प्रमाणीकरण प्रणाली, नतिजा व्यवस्थापन प्रणाली, आधुनिक व्यवस्थापन प्रणाली, डिजिटल नागरिक बडापत्र प्रणाली र किसान सदस्यता कार्ड प्रणालीलगायतका परियोजना पनि विद्यार्थीले तयार गरेका छन् ।

एमटेक कम्प्युटर साइन्स र एमटेक इन्फर्मेसन टेक्नोलोजीका कार्यक्रम संयोजक सहायक प्राध्यापक प्रकाश गुप्ताले यी सबै परियोजना कार्यान्वयन हुन बाँकी रहेको जानकारी दिनुभयो । एमटेक कम्प्युटर साइन्स र एमटेक इन्फर्मेसन टेक्नोलोजीमा करिव ६० विद्यार्थी अध्ययनरत छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया