काठमाण्डाैंः कोरोना भाइरसको सङ्क्रमण बढेका बेला विज्ञान प्रविधिको अध्ययन अनुसन्धानमा जोड दिन विज्ञान विषयका शिक्षक एवं सरोकार भएका निकायका अधिकारीहरुले जोड दिनुभएको छ ।
साताव्यापी रुपमा मनाइएको आठौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको कोभिड–१९ महामारीको बेला ‘अनुसन्धान र नवप्रवर्तन’ तथा ‘महामारीमा विज्ञान शिक्षा’ नामक बहसमा नेपालमा अनुसन्धानको क्षेत्रलाई फराकिलो पार्न सबै सरोकार भएका निकाय मिलेर जानुपर्नेमा जोड दिइएको हो ।
वर्तमान अवस्थामा विज्ञान प्रविधिका माध्यमबाट नव प्रवर्तन गर्न चाहने विद्यार्थी एवं शोधकर्तालाई प्रोत्साहित गर्न सोसाइटीले माग गरेको छ । विज्ञान प्रविधिलाई जोड दिएको भए सात महिनासम्म विद्यार्थी घरमै बसेर पनि अध्ययन गर्ने सक्ने हुने थिए भन्ने सहभागीहरुको भनाई थियो ।
विज्ञान प्रविधिका क्षेत्रमा सरकारले उल्लेख्य मात्रामा लगानी गर्नुपर्ने, विज्ञान शिक्षालाई जीवन्त राख्न र अझ प्रभावकारी बनाउन प्रकृति, हाम्रो घरपरिवार, आदिलाई प्रयोगशालाका रुपमा हेरी विद्यार्थीलाई सोही अनुरुप जिज्ञासा तथा योजना केन्द्रित माध्यमबाट पठनपाठन गराउन सके हालको असाधारण समयमा विज्ञान शिज्ञालाई प्रभावकारी बनाउन सकिने उहाँहरुको भनाई थियो ।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका प्रा बालचन्द्र लुइँटेल, विज्ञान शिक्षिकाहरु रविना महर्जन, चन्द्रकला दवाडी, सोसाइटीका अध्यक्ष सुरेश भट्टराई लगायतले जीवन र जगत्लाई व्याख्या गर्न विज्ञान र गणितका विषयमा कक्षा १२ सम्म अनिवार्य गरिनुपर्ने बताउनुभयो । प्रकृति, घरको भान्सामा विज्ञान छ भनेर सिकाउन सकिएन विद्यालयको प्रयोगशालामै जानुपर्छ भन्ने सोचबाट विद्यार्थीलाई मुक्त गरिनुपर्नेमा शिक्षिका महर्जनले जोड दिनुभएको थियो ।
विज्ञान शिक्षक समाजका प्रवक्ता डमरुप्रसाद पोखरेलले एकीकृत पाठ्यक्रममा विज्ञान लोप भएको, कोरोनाका कारण हाल भर्चुअल कक्षा चले पनि भर्चुअल पाठ्यक्रम नबन्दा समस्या भएको बताउनुभयो । भर्चुअल माध्यमको पठनपाठनमा सहभागी हुन नसक्ने विद्यार्थीका लागि पनि केही वैकल्पिक व्यवस्था गरिनुपर्नेमा उहाँको जोड थियो । सप्ताहव्यापी उत्सवको रुपमा मनाउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आह्वानसँगै विभिन्न सङ्घसंस्थाको समन्वय तथा सहकार्यमा अनुसन्धान, नवप्रवर्तन तथा शिक्षासम्बन्धी छलफललाई निरन्तरता दिइनुपर्ने निष्कर्ष पनि कार्यक्रमले निकालेको छ ं। विसं २०६९ असोज १ गतेदेखि विज्ञान दिवस मनाउन शुरु भएको हो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया