तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल मतदाता रहेको निर्वाचन क्षेत्र हो तनहुँ–१ । यस क्षेत्रमा तीन वर्षमा तेस्रो चुनाव हुँदै छ ।
०७९ मा कांग्रेसबाट प्रतिनिधिसभा सदसय निर्वाचन जितेको केही महिनामै पौडेल राष्ट्रपतिमा निर्वाचित भए । त्यसपछि रिक्त तनहुँ–१ मा १० वैशाख ०८० मा उपनिर्वाचन भएको थियो । साढे दुई वर्ष नबित्दै संसद् विघटन भएर २१ फागुनमा अर्को चुनाव हुँदै छ ।
पौडेललाई पहिलो पटक ०४८ मा र अन्तिम पटक ०७९ मा जिताउने क्षेत्र तनहुँ–१ नै हो । २०७४ मा भने यही क्षेत्रमा हारे । अन्य निर्वाचनमा उनी तनहुँ–२ बाट प्रतिस्पर्धा गरेर विजयी भए ।
तनहुँ–२ ले २०६४ यताको चुनावमा कुनै पनि दललाई लगातार जिताएको छैन, दोहोरिएर कोही पनि उम्मेदवारले जितेका छैनन् ।
यस क्षेत्रमा ०५१ र ०५६ मा कांग्रेसबाट गोविन्दराज जोशीले जितेका थिए । ०५१ देखि पौडेलले तनहुँ–२ बाट चुनाव जितेका थिए । उनी ०७४ मा तनहुँ–१ मा उठ्दा एमाले–तत्कालीन माओवादी वाम गठबन्धनका कृष्णकुमार (किसान) श्रेष्ठले चुनाव जिते ।
यहाँका मतदाताले ०६४ मा तत्कालीन माओवादीका सुरेश आलेमगरलाई जिताएका थिए । ०७० मा कांग्रेसका शंकर भण्डारी विजयी भए । पौडेल राष्ट्रपति भएका कारण रिक्त बनेको तनहुँ–१ मा उपनिर्वाचन गराइएको थियो, रास्वपाका स्वर्णिम वाग्ले विजयी भए ।
यस पटक रास्वपाबाट वाग्ले (५१) नै प्रतिस्पर्धामा छन् । ०६४ मा जितेका कांग्रेसका शंकर भण्डारी यसबाट तनहुँ–२ उम्मेदवार छन् । तनहुँ–१ मा कांग्रेसले गोविन्द भट्टराई (६२) लाई प्रतिस्पर्धामा उतारेको छ । एमालेबाट भगवती न्यौपाने (४९) र नेकपाबाट विद्यानाथ ढकाल (६५) उम्मेदवार छन् । पूर्वसांसद गोविन्दराज जोशीका छोरा दीपक जोशी (५६) ले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
राप्रपाका रामदत्त जोशी, नेपाल मजदुर किसान पार्टीका रामलक्ष्मी दुवाल, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, नेपाल जनमुक्ति पार्टीका यामबहादुर आले, नेसनल रिपब्लिक नेपालका सुमन थापामगर र श्रम संस्कृति पार्टीका काशीराम गुरुङ पनि उम्मेदवार बनेका छन् । नेकपा माओवादीका ओमविक्रम पन्त, उज्यालो नेपालका मन्जिल राना, आम जनता पार्टीका चिजामाया अधिकारीले पनि उम्मेदवारी दिएका छन् । लेखनाथ खनाल र सन्देश रानाभाट लौडारी स्वतन्त्र उम्मेदवार हुन् ।
०७९ को निर्वाचनमा कांग्रेसबाट पौडेल २५ हजार ३ सय ६१ मतसहित विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानामगरलाई १९ हजार ९ सय ८१ मत परेको थियो । कांग्रेसबाट विद्रोह गरेका गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएर ६ हजार ८ सय ८६ मत ल्याएका थिए ।
रास्वपाका विकास सिग्देलका पक्षमा ६ हजार ४४ मत खसेको थियो । १० वैशाख ०८० मा भएको उपनिर्वाचनमा नतिजा उल्टियो । कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका वाग्ले ३४ हजार ९ सय १९ मत ल्याएर विजयी भए ।
कांग्रेसका गोविन्द भट्टराई २० हजार १ सय २२ मत ल्याएर दोस्रो भए । कांग्रेसका भट्टराईले ०७९ मा पौडेलले प्राप्त गरेभन्दा साढे ९ हजार कम मत पाएका हुन् । एमाले प्रवेश गरेर उम्मेदवार बनेका नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल ८ हजार ४ सय ८८ मतसहित तेस्रो भए ।
उनले पनि एमालेका पहिलेका उम्मेदवार रानामगरले भन्दा साढे ११ हजार कम मत प्राप्त गरेका थिए । पाँच महिनाकै अन्तरमा कांग्रेस, एमाले, तत्कालीन माओवादीलाई चकित पार्ने गरी मतदाताले मत बदलेका थिए । उपनिर्वाचनमा वाग्लेलाई आन्तरिक रूपमा जोशी समूहले पनि सघाएको थियो ।
०७९ र ०८० को निर्वाचनमा तत्कालीन माओवादी (नेकपा) ले कांग्रेस उम्मेदवार भट्टराईलाई समर्थन गरेको थियो । यस पटक नेकपाले आफ्नै उम्मेदवार उठाएको छ । नेकपा उम्मेदवार ढकाल पूर्वएमाले हुन् । पार्टी विभाजनपछि उनी एकीकृत समाजवादी (एस) मा गएका थिए ।
तत्कालीन माओवादी र एसबीचको एकतामा उनी सामेल भएका थिए । ढकाल ०७९ मा तनहुँ–१(१) बाट प्रदेशसभा सदस्यको उम्मेदवार थिए । एसमा गएका पूर्वसांसद किसान श्रेष्ठ केही महिनाअघि एमाले फर्किएका छन् । उनले ०७९ मा निर्वाचित भएको बारा–४ बाटै यसपालि उम्मेदवारी दिएका छन् ।
कांग्रेसले भट्टराईलाई उम्मेदवारमा दोहोर्याएको हो । कांग्रेससँग असन्तुष्ट जोशी समूहसँग तनहुँ–१ मा ५ हजार हाराहारी मत रहेको अनुमान गरिन्छ । एमालेले पूर्वसंघीय मामिलामन्त्री न्यौपानेलाई अघि सारेको हो । उनी ०७४ मा भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् । मेयरमा पराजित भएको दुई वर्षमै एमालेबाट टिकट पाएर उनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनी जेन–जी आन्दोलनअघिसम्म मन्त्री थिइन् ।
वाग्ले पार्टीबाट प्रस्तावित अर्थमन्त्री र राष्ट्रिय व्यक्तित्वका भएकाले मतदाताले विश्वास गर्ने दाबी रास्वपा पक्षले गरिरहेको छ । अर्का उम्मेदवार भट्टराई भने पुरानो कांग्रेस गढमा सहानुभूतिको मत बटुल्ने प्रयासमा छन् । एमालेकी न्यौपाने र नेकपाका ढकाल आआफ्नो परम्परागत मतलाई सुरक्षित गरेर थप मत तान्ने कसरतमा छन् ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका वाग्ले देशभरि नै रास्वपाका पक्षमा चुनावी माहोल रहेको र आफूले सहजै जित्ने दाबी गर्छन् । ‘भर्खर मतदाता भेटघाट थालेको छु । तनहुँवासी हामीप्रति धेरै आशावादी छन्,’ उनी भन्छन्, ‘उत्साहित छु । मत पहिलेभन्दा अलिकति फरक पला, तर अवस्था चुनौतीपूर्ण छैन ।’
तनहुँ–१ मा पर्ने ४२ वटै वडामा चुनावी प्रचारमा पुग्ने वाग्लेको तयारी छ । स्थानीयले सुशासनसहित सडक, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार खोजेको र त्यो रास्वपाले मात्र पूरा गर्न सक्ने उनले दाबी गरे । अर्थविद् वाग्ले चैत ०७९ मा कांग्रेसबाट अलग भएर रास्वपा प्रवेश गरेका थिए । गोरखा बुंकोटका उनी चुनाव लड्न तनहुँ आएका हुन् ।
कांग्रेस उम्मेदवार भट्टराई ०८० को उपनिर्वाचनयता मतदाताको धारणा र अपेक्षा फेरिएको बताउँछन् । ‘म चुनाव हारे पनि मतदातासँगै छु । जिते पनि हारे पनि सँगसँगै रहन्छु । हिजो गल्ती गरिएछ भन्ने मतदाता पनि प्रशस्तै भेटिन्छन्,’ उनी भन्छन्, ‘हिजोका नयाँ पनि परीक्षण भएर पुराना भइसके । नयाँ अरू आइसके । जनताको अपेक्षा पनि पूरा भएन । यसपालिको नतिजा कांग्रेसलाई राम्रै हुन्छ ।’
पार्टीहरूबीच गठबन्धन नभएकाले सबैतिर भोट बाँडिँदा आफूले जित्ने भट्टराईको दाबी छ । ब्यास मिलनटारका उनी ०५४ मा नेविसंघ अध्यक्ष हुँदै कांग्रेस राजनीतिमा स्थापित भएका थिए । एमाले उम्मेदवार न्यौपाने निर्वाचन क्षेत्रमा पार्टी कमिटी बैठक र मतदाता भेटघाटमा व्यस्त छिन् । ‘हिजोदेखि पसिना बगाउँदै जनसेवा गरेको ठाउँ हो । यहाँको माटो चिनेको र गहिरो प्रेम रहेकालाई मतदाताको न्यानो साथ र सहयोग पाउनेमा ढुक्क छु,’ उनले भनिन् ।
नेकपा उम्मेदवार ढकाल पालिका र वडा तहसम्मको पार्टी बैठक सकिँदै गर्दा उत्साही रहेको बताउँछन् । ‘अरू पार्टी र उम्मेदवारसँग असन्तुष्टि बढी छ । हामीसँग विश्वास छ, अपेक्षा छ । तनहुँ–१ का मतदाताले यसपटक नेकपालाई मत दिन्छन्,’ उनी भन्छन् ।
स्वतन्त्र उम्मेदवार जोशी नयाँ र पुराना पार्टीबीचको प्रतिस्पर्धामा आफूले जित निकाल्ने दाबी गर्छ् । ‘जनता पुराना दलप्रति खुसी छैनन् । नयाँ दलहरू पनि उस्तै त रहेछन् । बढी नै पपुलिस्ट भए,’ उनी भन्छन्, ‘पहिले हाम्रो, कांग्रेस, एमाले र माओवादी सबैको भोट पाएर स्वर्णिमले जितेका हुन् । अहिले सबैले उनलाई मत दिने अवस्था छैन ।’
जोशी ०७९ को स्थानीय तह निर्वाचनमा एमालेको समर्थनमा व्यास नगरपालिकाको मेयरको प्रत्याशी थिए । १२ हजार ७८ मत ल्याएर कांग्रेसका वैकुण्ठ न्यौपाने निर्वाचित जोशीले ११ हजार ८२६ मत प्राप्त गरेका थिए । पुनः मतगणना माग गर्दै उनले दिएको रिट सर्वोच्चमा विचाराधीन छ ।
बन्दीपुर बजारबाट दक्षिण रामकोटतर्फ ओरालो झर्दै गर्दा सडकछेउकै घरमा कान्तिपुर टिमले चन्द्रिका विकलाई भेटेको थियो । चुनावको प्रसंग निकाल्दा विकले तनहुँ–१ बाट निर्वाचित नेताहरूसँग असन्तुष्टि जनाइन् । ‘गाउँमा सुविधा छैन । महँगी बढेको छ,’ विकले भनिन्, ‘छोराछोरी विदेश धाउनुपरेको छ । नेताहरूको मुख हेर्दा सबै राम्रो लाग्छ । राम्रो चाहिँ कसैले पनि गर्दैनन् ।’ घरदैलोमा आउने नेताको कुरा सुनेर कसलाई भोट हाल्ने निधो गर्ने विक बताउँछिन् । उनकी छिमेकी जेनिसा विक स्थानीयलाई रोजगारीको व्यवस्था गर्न सक्ने, विकास निर्माणमा सहयोग गर्ने उम्मेदवारलाई मत दिने बताउँछिन् ।
बन्दीपुर रामकोटमा होमस्टे सञ्चालक खड्गबहादुर थापा नयाँ दलका पुराना दललाई अप्ठ्यारो रहेको बताउँछन् । ‘पहिले कांग्रेस, एमाले र माओवादी मात्र थिए । अहिले रास्वपाको पनि प्रभाव बढ्दो छ,’ उनले भने, ‘अहिले युवा उज्यालो नेपाल र श्रम संस्कृति पार्टीमा पनि सक्रिय हुन थालेको देखिन्छ ।
स्थानीय भुन्टीमाया मगर जनताको सुखसुविधाको ख्याल गर्न सक्ने नेतालाई भोट दिने बताउँछिन् । ‘अहिलेसम्म जित्नेले वृद्धाभत्ताबाहेक केही दिएका छैनन्,’ ७२ वर्षीया उनले भनिन्, ‘बिजुली त आएको छ । बस्तीमा पानी ट्याङ्की र घरघरै धारा बने पनि पानी आउँदैन ।’
चितवनसँग जोडिएको देवघाटसहित आँबुखैरनी गाउँपालिका, बन्दीपुर, भानु नगरपालिका र सदरमुकाम रहेको व्यास नगरपालिकाका १२ वडा तनहुँ– १ मा पर्छन् । यस क्षेत्रमा १ लाख ३६ हजार ८ सय ८२ मतदाता छन् ।
भानु–१ का ३० वर्षीय विनोद गन्धर्व राम्रो उम्मेदवार रोजेर भोट दिनुपर्ने बताउँछन् । ‘अहिलेसम्म जितेर गएकाहरू आफ्नो दुनो सोझ्याउने मात्र भए । यस पटक कसले राम्रो नीति कार्यक्रम ल्याएर मन जित्छ, उसलाई मत दिने हो,’ उनी भन्छन् ।
बन्दीपुर बजारका सानुकाजी श्रेष्ठ छोराबुहारीले भनेअनुसार मतदान गर्ने बताउँछन् । ‘कोही नयाँलाई जिताउने भन्छन् । कोही पुरानो ठीक भन्छन् । काम गर्ने नेतालाई पनि जस नदिने लुछाचुँडी छ,’ ७४ वर्षीय उनले भने, ‘हामी त बूढा भयौं । नयाँ पुस्ताले राम्रो नेता छानुन् ।’ कान्तिपुर
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया