फागुण २, २०८२ शनिबार February 14, 2026

चुनावका धार्मिक फण्डा

दस्तावेजमा निरपेक्ष, भोट माग्न ढोगभेटका चटक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल तथा उम्मेदवारले मतदातालाई व्यक्तिगत ढंगले भेटेर कन्भिन्स गराउनेसँगै सामूहिक र साम्प्रदायिक रूपमा समर्थन लिन धार्मिक चहलपहल बढाएका छन् । २०६२–०६३ को राजनीतिक परिवर्तनप्रतिको आलोचना र असन्तुष्टिलाई एजेन्डा बनाएर राजनीति गर्नेहरूले धार्मिक एजेन्डालाई एकमुष्ट समर्थनको ‘भोट बैंक’ मानेर धर्मको राजनीति गरेको भन्दै चर्चा र विवाद सुरु भएको छ ।

२०६२–०६३ को जनआन्दोलनमार्फत नेपाललाई गणतन्त्र र संघीयतासँगै धर्मनिरपेक्ष घोषणा भएको अवस्थालाई उपलब्धि मान्दै त्यसको संरक्षणका लागि मत मागिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापामा मत माग्ने क्रममा सप्ताह पुराणमा भजनसँगै छमछमी नाचेका छन् । उनले सप्ताह महापुराणमा पण्डितको छेवैमा बसेर धार्मिक प्रवचन दिएको भिडियो तथा भजनमा नाचेको नृत्य सामाजिक सञ्जालमा भाइरल छ ।

झापामा ओलीको नृत्यसँगै रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको पाथीभरा तथा रामजानकी मन्दिरका दर्शनपूजा र रवि लामिछानेको चितवनस्थित घरको स्वस्तिशान्तिका तस्बिर पनि सामाजिक सञ्जालमा छरपस्ट छन् । संविधानमा व्यवस्था भएको धर्मनिरपेक्षता र संघीयतालाई अझ बलियोसँग स्वीकार्ने प्रतिबद्धता जनाएको रास्वपाका नेता र कम्युनिस्ट पार्टीका नेताहरूका यस्ता धार्मिक अभियानका तस्बिरहरू घोषणापत्रमै हिन्दु धर्म लेखेको राप्रपाको भन्दा कम छैनन् ।

जनगणनामा हिन्दु धर्म मान्ने नागरिक धेरै भएको नेपालमा चुनावका बेलामा कट्टर हिन्दुजस्तै देखिने गरी गतिविधि गरेर मत तान्ने फण्डा हुने गरेको धार्मिक अगुवा तथा राजनीतिक विश्लेषकहरू बताउँछन् । राजनीतिक दलहरूले आङ्खना घोषणापत्रमार्फत धर्मको विषयमा ठोस पक्षधरता नदेखाए पनि चुनावका बेलामा भने जस्तो समुदायको समर्थन लिनु छ ।

त्यस्तै पक्षधरता देखाएर सद्भाव वा समर्थन बटुल्ने गरेको पाइएको छ । निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल र उम्मेदवारले भोटका लागि गरेको धार्मिक चहलपहल र ढोगभेटलाई धार्मिक अगुवा तथा राजनीतिक विश्लेषकहरूले भने भोटका लागि भन्दा पनि आङ्खनो पक्षधरता स्पष्ट पार्ने गरी प्रस्तुत हुनु उपयुक्त हुने बताएका छन् ।

राजनीतिक दल र उम्मेदवारले निर्वाचनमा आङ्खनो धार्मिक एजेन्डा प्रस्तुत गर्नु सकारात्मक रहेको वाचन प्रवीण पं दीनबन्धु पोखरेलले बताए । चुनावका बेलामा मन्दिर दर्शनका दौडधुप र आशीर्वादलाई भने चुनावी फण्डा भएको बताए । ‘उहाँहरूको धार्मिक आस्था वा संस्कार संस्कृतिको कुरा भए विगतमा पनि देखिनुपथ्र्यो, उहाँहरू यदि धर्मका सवालमा प्रस्ट हुनुहुन्छ भने जनमत संग्रहका लागि तयार हुँदा राम्रो हुन्छ,’ पोखरेलले भने ।

मन्दिरमा बालेन, चर्चमा पत्नी सविना

रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्तावित झापा ५ का उम्मेदवार बालेन्द्र शाहले ९ माघमा श्रीपञ्चमीको दिन पाथीभरा पुगेर शक्ति आर्जनको भाकलसहित पूर्ण कलश टाउकोमा राखेर पूजा अर्चना गरेका थिए । पाथीभरा पुग्नुअघि जनकपुरको रामजानकी मन्दिरको पूजा अर्चना पनि गरेका उनकी पत्नी सविना काफ्ले भने झापाको क्रिश्चियन समुदायको बस्ती भएको ठाउँमा पुगेर चर्चमा आशीर्वाद मागिरहेकी छन् ।

व्यक्तिगत रूपमा आफ्नो धर्म वा धार्मिक आस्था उल्लेख नगरेका उनीहरूले सांकेतिक रूपमा दुवै धार्मिक समुदायको भावना तान्न चुनावी अस्त्रको रूपमा धर्मलाई उपयोग गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ । धर्मनिरपेक्षताको निर्णयले २०६२–०६३ को परिवर्तन पक्षधर दलहरूबीच मत बाँडिने आशामा रास्वपा र राप्रपाले हिन्दु धर्म मान्नेहरूको मत तान्न गतिविधि गरेको देखिएको छ ।

रास्वपा सभापति रवि लामिछानेले चितवनमा गृह प्रवेशको नामा गरेको पूजा र प्रस्तुत गरेको धार्मिक भावनादेखि वरिष्ठ नेताले रामजानकी मन्दिरदेखि पाथीभरासम्म पुगेर गरेका गतिविधिले हिन्दु धर्मावलम्बीको भोट तान्ने प्रयास भएको देखिएको छ । धार्मिक अभियन्ता दीनबन्धु पोखरेलले भने चुनावका बेलामा नेताहरूले गरेका मन्दिर दर्शन र ढोगभेटले मत प्रभावित नहुने बताए । ‘नेताहरूका यस्ता गतिविधि चुनावी फण्डा र चटक हुन् भन्ने कुरा नेपाली जनताले बुझिसकेका छन्,’ पोखरेलले भने ।

राप्रपा हिन्दु, रास्वपा सनातनी

प्रतिनिधिसभा निर्वाचनमा होमिएका राजनीतिक दलहरूमा धर्मको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी स्पष्ट रहेको र अरू दल निरपेक्ष रहेको पाइएको छ । निर्वाचनका लागि दलहरूले घोषणापत्र तयार गरिरहेको भएपनि धर्मका विषयमा प्रायः दल निरपेक्ष नै रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने नेपाललाई हिन्दु राष्ट्र बनाउने एजेन्डा अगाडि सारेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार राप्रपाले हिन्दु राज्यको पक्षमा वकालत गरिरहेको राप्रपाले घोषणापत्रमा ‘सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रता सहितको वै दिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र’ बनाउन आफ ूलाई मत मागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने आफू सनातन सभ्यता र उन्नत लोकतन्त्रको पक्षमा दृढ रहेको बताएको छ । पछिल्ला केही दिनयता धर्मका विषयले विवादमा तानिएपछि उपसभापति डा.स्वर्णिम वाग्लेले आफूहरू सनातन सभ्यताको रक्षक भएको प्रस्ट्याएका हुन् ।

पार्टीको आधिकारिक दस्ताबेजमा भएकै आधारमा उन्नत लोकतन्त्र र सनातन सभ्यतालाई सँगै लिएर अघि बढेको रास्वपाका नेताहरू बताउँछन् । चुनावका लागि आफूहरूले कुनै नयाँ धार्मिक धारणा अगाडि सारिरहेको नभई पार्टी दस्ताबेजकै आधारमा अघि बढेको रास्वपा नेतृ क्रान्तिशिखा धितालले बताइन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफूलाई धर्मनिरपेक्षताको एजेन्डामै उभ्याएका छन् । २०६२–०६३ को जनआन्दोलनको उपलब्धिका रूपमा प्राप्त धर्मनिरपेक्षतालाई जोगाउनैपर्ने एजेन्डाको रूपमा पार्टीहरूले लिएका छन् । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया