फागुण २, २०८२ शनिबार February 14, 2026

थप संगठित र सक्रिय बन्दै राजावादी धार

राजसंस्थाको बहस चुनावी एजेण्डाका रूपमा उठ्नु स्वाभाविक भए पनि त्यसको कार्यान्वयन भने सहज देखिँदैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। मुलुक प्रतिनिधिसभा निर्वाचनको संघारमा उभिएको बेला राजसंस्था पुनःस्थापनाको एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो राजनीतिक स्वरलाई अझ तीव्र बनाएको छ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र पूर्वअध्यक्ष कमल थापाका पछिल्ला अभिव्यक्तिहरूले राजावादी धार पुनः संगठित र सक्रिय बन्दै गएको संकेत दिएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहको सार्वजनिक सक्रियता र धार्मिक-सांस्कृतिक कार्यक्रममा देखिने उपस्थितिसँगै राजसंस्था समर्थक समूहहरू उत्साहित देखिन थालेका छन्।

पछिल्ला महिनाहरूमा पूर्वराजा ज्ञानेन्द्र शाहको विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रममा देखिएको सक्रियताले राजावादी समूहहरूमा ऊर्जा थपेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ।

धार्मिक अनुष्ठान, मन्दिर दर्शन र सार्वजनिक भेटघाटमा पूर्वराजाको उपस्थितिलाई सामाजिक सञ्जालमार्फत व्यापक प्रचार गरिएको छ। यसले राजसंस्था समर्थक धारलाई मनोवैज्ञानिक बल दिएको देखिन्छ । राजसंस्थाको बहस चुनावी एजेण्डाका रूपमा उठ्नु स्वाभाविक भए पनि त्यसको कार्यान्वयन भने सहज देखिँदैन।

आइतबार काठमाडौंमा आयोजित पार्टीका उम्मेदवारहरूसँगको साक्षात्कार कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको राष्ट्रिय संकटको समाधान केवल चुनावबाट सम्भव नभए पनि देशलाई थप संकटमा जानबाट जोगाउन आफूहरू चुनावी मैदानमा होमिएको बताए। उनले भने, ‘पुरानै व्यवस्थाभित्र हुने चुनावले सबै समस्या समाधान गर्दैन ।

तर, देशलाई बचाउन, थप विघटन र अस्थिरताबाट जोगाउन हामी चुनावमा सहभागी भएका हौँ ।’ लिङ्देनले मुलुकको निर्णायक शक्ति नेपाली जनताकै हातमा रहनुपर्ने भन्दै राजा, राजनीतिक दल र नवयुवा पुस्ताबीच नवीनतम राष्ट्रिय समझदारी अपरिहार्य भएको धारणा राखे।

उनका अनुसार हालको राजनीतिक संरचनाले राष्ट्रिय एकता र दीर्घकालीन स्थायित्व दिन नसकेको दाबी गर्दै उहाँले देश ‘पूर्वाधार विकासभन्दा पनि अस्तित्वकै संकटको अवस्थामा’ पुगेको टिप्पणी गरे। ‘आज प्रश्न सडक, पुल वा भवनको मात्र होइन; देशै रहने कि नरहने भन्ने अवस्थामा पुगेको छ,’ उनले भने।

राप्रपा एक प्रजातान्त्रिक पार्टी भएको उल्लेख गर्दै उनले विद्रोहको बाटोभन्दा निर्वाचनको माध्यमबाट परिवर्तन खोजेको स्पष्ट पार्नुभयो । ‘हामी लोकतान्त्रिक प्रक्रियाबाटै जनमत लिएर परिवर्तन गर्न चाहन्छौँ’, उनले जोड दिए।

जनताले राजा र हिन्दूराष्ट्र खोजिरहेका छन् : थापा

राप्रपाका पूर्वअध्यक्ष तथा काठमाडौं-५ का उम्मेदवार कमल थापाले घरदैलो अभियानका क्रममा मतदाताबाट राजसंस्था र हिन्दूराष्ट्रको माग व्यापक रूपमा आएको दाबी गरेका छन्। ‘जहाँ-जहाँ भोट माग्न गएका छौं, अधिकांशले हिन्दूराष्ट्र चाहन्छौँ भन्छन् । धेरैले अब राजा नभई हुँदैन भन्छन्’, उनले भने।

उनले यो चाहना केवल बुढापाकामा सीमित नभई युवापुस्तामा अझ बढी देखिएको दाबी गरे। ‘राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा सबैभन्दा उत्साह युवामा देखिएको छ’, थापाको भनाइ थियो। उनले मतदातालाई भ्रष्टाचारमा मुछिएका दल र नेताहरूलाई भोट नहाल्न आग्रह गर्दै कम्तीमा यसपटक भ्रष्टाचारको महारोग भित्र्याउने शक्तिहरूलाई अस्वीकार गर्नुपर्ने सन्देश दिएको बताए।

राजसंस्थाको छहारी अति आवश्यक : मिश्र

राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं-१ का उम्मेदवार रवीन्द्र मिश्रले नेपालमा राजसंस्था अत्यावश्यक भइसकेको दाबी गरे। उनका अनुसार सबै जाति, भाषा, धर्म, संस्कृति र राजनीतिक शक्तिहरूभन्दा माथि एउटा साझा संस्थाका रूपमा राजसंस्थाले देशलाई एकताबद्ध राख्नसक्छ । ‘देशमा विभिन्न जातजाति, भाषाभाषी, धर्म-संस्कृति, राजनीतिक पार्टी र गुटहरूभन्दा माथि एउटा राजसंस्थाको छहारी अति आवश्यक भयो’, उनले भने।

मिश्रले राप्रपाले अघि सारेको नवीन समझदारीलाई राष्ट्रिय निकासको मार्गका रूपमा प्रस्तुत गर्दै मतदातालाई राप्रपाको चुनाव चिह्न ‘हलो’ मा मतदान गर्न आह्वान गरे।

‘यदि फेरि पुरानै शैलीमा मतदान गरियो भने समस्या समाधान हुँदैन, चुनाव-चुनावमै उत्साह र निराशाको चक्र दोहोरिरहन्छ’, उनले चेतावनी दिए। उनले राजसंस्थाको आलोचना गर्ने नेताहरूमा समेत पछिल्लो समय मौनता देखिन थालेको दाबी गर्दै राजनीतिक वृत्तमै पुनर्विचारको वातावरण बन्दै गएको संकेत गरे। हिमालय टाइम्स दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया