फागुण २, २०८२ शनिबार February 14, 2026

मतदाता रिझाउन शीर्ष नेताहरूको देश दौडाह : भावी प्रधानमन्त्रीका उम्मेदवारलाई दोहोरो चिन्ता

घोषणापत्र सार्वजनिक गरेपछि चुनावी सभाहरूको कार्यतालिका निकाल्ने योजनामा काँग्रेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकिएसँगै राजनीतिक दलका शीर्ष नेताहरू चुनावी प्रचार गर्न देश दौडाहमा निस्किएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलका प्रमुख र शीर्ष नेताहरू प्रचार अभियान नै बनाएर देश दौडाहमा निस्किएका हुन् । शुक्रबार पोखरा पुगेर काठमाडौं फर्किनुभएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार कोसी प्रदेश पुग्नुभएको थियो । सभापति थापा मंगलबार सुनसरीमा आयोजित विभिन्न चुनावी कार्यक्रममा सहभागी हुनुभयो । पोखरा जानुअघि सभापति थापा काठमाडौं र त्यसअघि आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ लगायत मधेस प्रदेशमा केन्द्रित हुनुभएको थियो ।

यसपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने गृहजिल्ला झापामै केन्द्रित हुनुभएको छ । शुक्रबार दोस्रोपटक झापा पुग्नुभएका अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्र झापा-५ का विभिन्न ठाउँमा मतदाताको घरदैलो गरिरहनु भएको छ । रास्वपाका सभापति रवि लामिछाने चितवन आसपासका जिल्लामा केन्द्रित हुनुभएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल काठमाडौंकै चुनावी कार्यक्रममा व्यस्त रहनुभएको छ ।

आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्रीको दाबेदारका रूपमा अघि सारिएका प्रमुख दलका तीन नेताहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन साहले करिब दुई दर्जन जिल्लाहरू घुमिसक्नु भएको छ । निर्वाचन आयोगले फागुन ४ गतेअघि चुनावी सभा र घरदैलोमा रोक लगाएका कारण अरू दलका नेताहरूले चुनावी कार्यक्रमको तयारी गरिरहँदा बालेन पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म घुमेर दोस्रोपटक आफ्नो चुनाव क्षेत्र झापा पुगिसक्नु भएको छ । साह अहिले मधेस प्रदेशमा केन्द्रित हुनुभएको छ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पनि खासगरी पूर्वी पहाडी क्षेत्रमा सभाहरू गरेर अहिले धरानमा चुनावी प्रचारमा रहनुभएको छ । केही समय आफ्नो चुनावी क्षेत्रमा केन्द्रित भएका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ साताको अन्त्यतिर मधेस क्षेत्रमा चुनावी सभाहरू गरिरहनु भएको छ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन १ गतेसम्म चुनावी कार्यक्रम लिएर लुम्बिनी प्रदेशमा जानुभएको छ ।

यस्ता छन् प्रतिबद्धता

कांग्रेस सभापति गगनकुमार थापाले ‘कांग्रेसले देश सम्हाल्छ र सुधार गर्छ’ भन्ने सन्देश लिएर घरदैलो गर्न पार्टीका नेता, कार्यकर्ता र उम्मेदवारलाई निर्देशन दिनुभएको छ । एमाले अध्यक्ष केपी ओलीले नातिहरूको पुस्ताले राजनीतिमा लाग्छु भन्दा नराम्रो मान्नुपर्ने कुरा नरहेको बताउनुभएको छ । नेकपा संयोजक पुष्पकमल दाहालले आफूहरूभन्दा नयाँ अरू कोही नभएको दाबी गर्नुभएको छ । रास्वपा सभापति रवि लामिछानेले आगामी २१ फागुनमा हुने चुनावबाट रास्वपाले कम्तीमा पनि बहुमतको सरकार बनाउने जनमत प्राप्त गर्नुपर्ने बताउनुभएको छ । उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले आफूहरूलाई विश्वास गर्न आह्वान गर्नुभएको छ ।

यस्ता छन् भावी कार्यक्रम

आसन्न प्रतिनिधिसभाको चुनावलक्षित निर्वाचन आचारसंहिताले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र चुनावी प्रचारप्रसारका काम गर्न पाइने उल्लेख गरेको छ । निर्वाचन आयोगले चुनावी खर्च कम गर्न भन्दै फागुन चार गतेबाट १८ गतेसम्म १५ दिन मात्रै चुनावी सभा र घरदैलो लगायतका प्रचारप्रसारका गतिविधि गर्न उम्मेदवार र दलहरूलाई समय दिएको छ । निर्वाचन आयोगले दिएको समयसीमाभित्र प्रचारप्रसारका गतिविधिमा सहभागी हुन दलका शीर्ष नेता समयतालिका निर्धारण गर्ने तयारी गरेका छन् । आफ्नो परम्परागत चुनावी क्षेत्रमा प्रधानमन्त्रीका अर्का दाबेदारबाट चुनौतीको सामना गरिरहनु भएका एमाले अध्यक्ष ओली योपटक देशका धेरै ठाउँ जाने योजना नरहेको एमालेका नेताहरूले जानकारी दिएका छन् । एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले फागुन पहिलो साताबाट एमालेले चुनावी सभाहरू गर्ने योजना भए पनि सातै प्रदेशमा अध्यक्ष ओली पुग्ने सम्भावना कम रहेको जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले घोषणापत्र सार्वजनिक गरेपछि चुनावी सभाहरूको कार्यतालिका निकाल्ने जानकारी दिनुभएको छ । चुनावअघि देशका सातवटै प्रदेशमा थापासहितका शीर्ष नेताहरूको उपस्थितिमा चुनावी सभा गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । तीनजना पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल रहेको नेकपाले पनि चुनाव क्षेत्रकेन्द्रित सभाहरू गर्ने तयारी गरेको छ । नेता अग्निप्रसाद सापकोटाले आचारसंहिताका कारण अहिले बाहिरी गतिविधि खासै नराखेको उल्लेख गर्दै सकेसम्म सातै प्रदेशमा र त्यसका अतिरिक्त केही विशेष क्षेत्रहरूमा पनि चुनावी सभाहरू गर्ने जानकारी दिनुभयो । रास्वपाले सातवटै प्रदेशमा चुनावी सभा गर्ने योजना बनाएको छ ।

सभापति थापाको आग्रह- ‘बदलिएको कांग्रेसलाई विश्वास गरेर भोट हाल्नुस्’

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गर्नुभएको छ । मंगलबार सुनसरी–२ झुम्कामा नेता कार्यकर्तालाई सम्बोधन गर्दै सभापति थापाले भन्नुभयो, ‘तपाईंहरूले कांग्रेस र मलाई विश्वास गर्नुभएको छ, माया गर्नुभएको छ । अब यो क्षेत्रबाट कांग्रेसलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु । बाँकी कुरा पूरा गर्नेछु ।’ सभापति थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन ? भन्ने विषय जनतालाई बताइदिन नेता/कार्यकर्तालाई आग्रह गर्दै भन्नुभयो, ‘म तपाईंहरूको विश्वासमा परेको छु । हामीले भनेका कुरा पूरा गरेका छौँ, कांग्रेस बदलिएर आएको छ । बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधारसहित काम गर्छ ।’

बालेनलाई ओलीको कटाक्ष- ‘आफ्नै जिल्लामा नपत्याएपछि अर्कै क्षेत्र खोज्दै हिँडे’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका वरिष्ठ नेता बालेन साहप्रति लक्षित गर्दै आफ्नै क्षेत्रमा विश्वास गुमाएका नेताहरू नयाँ क्षेत्रको खोजीमा आउने गरेको टिप्पणी गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा मंगलबार आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो क्षेत्रमा विश्वास गुमाएकाहरू नयाँ ठाउँ चहार्दै हिँडेको टिप्पणी गर्नुभएको हो । अध्यक्ष ओलीले भन्नुभयो, ‘काठमाडौंमा जितिसकेको मान्छेले त्यहाँबाटै लड्ने किन आँट नगरेको ? आफूले काम गर्न नसकेपछि अरू नयाँ ठाउँमा जानुपर्ने बाध्यता आइलागेको हो । समाजमा सद्भाव बिथोल्ने प्रयासहरूप्रति सचेत रहन म सबैलाई आग्रह गर्दछु ।’

अब स्टण्ट र भ्रमले चल्दैन : संयोजक दाहाल

नेकपाका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ सालमा जितेकै ठाउँमा पनि ओरालो लागेको टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जालमा स्टण्ट गर्नेहरूलाई यसपटकको निर्वाचनमा नराम्रो हुने उहाँको दाबी छ । काठमाडौं उपत्यकामा पनि रास्वपा कमजोर अवस्थामा रहेको दाबी गर्दै संयोजक दाहालले भन्नुभयो, ‘सोसियल मिडियावाला, स्टण्टवाला भन्ने गरेका छौँ हामीले, पहिला जहाँ जिते, त्यहाँ उनीहरूको अवस्था ओरालो छ । तपाईं उपत्यकामै हेर्नुभयो भने उनीहरूको अहिले राम्रो छैन । नयाँ-नयाँ ठाउँमा भ्रम दिन सजिलो हुँदो रहेछ ।’ दाहालले आसन्न निर्वाचनमा नेकपा पहिलो बन्ने दाबी गर्दै भन्नुभयो, ‘७७ वटै जिल्ला र सबै निर्वाचन क्षेत्रमा प्रभावित गर्नसक्ने हाम्रो हैसियत छ । हामी देशभर घुम्दा जनताको तहमा जे स्थिति बन्दै गएको छ, त्यसलाई हेर्दा पहिलो बन्छौँ । त्यसका लागि यो २३/२४ दिन युद्धस्तरमा खट्नुपर्छ ।’

प्रशासनको चेतावनीलाई रविको चुनौती

नवलपरासी जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको अंकुशका बाबजुद रास्वपा सभापति रवि लामिछानेले निर्धारित समयतालिकाअनुसार नै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का विभिन्न स्थानमा सम्बोधन गर्नुभएको छ । निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेको अवस्थामा ठूलो संख्यामा भेला र चुनावी प्रचारप्रसार गर्नु आचारसंहिताविपरीत हुने कार्यक्रम नगर्न समितिले सोमबार नै पत्र काटेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी एवं आचारसंहिता अनुगमन अधिकृत पोषनराज भण्डारीले प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनलाई निष्पक्ष बनाउन रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन’ कार्यक्रम आचारसंहिता प्रतिकूल हुने बताउनुभएको थियो । प्रशासनले निगरानी बढाए पनि लामिछानेले पूर्ववत् तालिकाअनुसार नै कार्यक्रम गर्नुभएको हो । लामिछानेले नवलपरासीका विभिन्न स्थानमा आयोजित कोणसभालाई सम्बोधन गर्नुभएको थियो । आचारसंहिताविपरीत प्रचार गरिएको पाइए कारबाहीका लागि सिफारिश गरिने आचारसंहिता अनुगमन अधिकृत पोषनराज भण्डारीले जानकारी दिनुभएको छ ।

हुलाकी राजमार्गमा बालेनको ‘रोड सो’

रास्वपाका उम्मेदवार बालेन साहले मतदातालाई रिझाउन हुलाकी राजमार्ग केन्द्रित ‘रोड सो’ गर्नुभएको छ । बालेनले मंगलबार मधेस प्रदेशको पूर्वी सीमा जिल्ला सप्तरीको राजविराज पुगेर गाडीबाटै हात हल्लाउँदै फर्किनुभएको हो । नेता-कार्यकर्ता र समर्थक एकाबिहानैदेखि राजविराजमा पर्खिरहँदासमेत बालेन भने गाडीबाट ओर्लिनुभएन । गजेन्द्र चोक पुग्दा उहाँले स्वर्गीय नेता गजेन्द्रनारायण सिंहको शालिकमा समेत माला फ्याँकेर हिँड्नुभएको थियो । साह माल्यार्पण गर्न गाडीबाट नओर्लिएपछि उपस्थित नेता-कार्यकर्ता र समर्थक चकित परेका थिए । गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गरेर छेउमै रहेको पार्टी कार्यालय पुग्ने कार्यक्रम रहे पनि बालेन पार्टी कार्यालय अगाडिबाटै गाडी नरोकी गन्तव्यतिर लाग्नुभएको थियो । हिमालय टाइम्स दैनिक 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया