भाद्र ७, २०८३ आइतबार August 23, 2026

नेपालमा टिकटकको ‘इन–एप इलेक्सन सेन्टर’ सुरु

निर्वाचन आयोगसँग सहकार्य गर्दै टिकटकले सुरु गर्‍यो ‘इन–एप इलेक्सन सेन्टर’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपालमा ‘इन–एप इलेक्सन सेन्टर’ सुरु गरेको घोषणा गरेको छ। आगामी आम निर्वाचनलाई लक्षित गर्दै प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले उक्त सुविधा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

टिकटकका अनुसार सन् २०२० यता विश्वभर २०० भन्दा बढी निर्वाचनमा लागू गरिँदै आएका निर्वाचन निष्पक्षता तथा नैतिकता सम्बन्धी पहलको निरन्तरता स्वरूप नेपालमा पनि यो सेवा सुरु गरिएको हो। यसले प्रयोगकर्तालाई निर्वाचनसम्बन्धी आधिकारिक जानकारीमा प्रत्यक्ष पहुँच दिलाउने लक्ष्य राखेको छ।

यसै क्रममा टिकटक र निर्वाचन आयोग, नेपालबीच निर्वाचनको निष्पक्षता तथा नैतिकता प्रवर्द्धन गर्ने विषयमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ। आयोग परिसरमै क्षमता अभिवृद्धि कार्यशाला समेत आयोजना गरिएको टिकटकले जनाएको छ। कार्यशालामा जिम्मेवार डिजिटल सहभागिता, भ्रामक सूचना नियन्त्रणका उपाय तथा सरोकारवालाबीच निर्वाचन नैतिकतासम्बन्धी समझदारी सुदृढ गर्ने विषयमा छलफल भएको थियो।

एपभित्र समावेश गरिएको ‘इलेक्सन सेन्टर’ निर्वाचन आयोगसँगको सहकार्यमा विकास गरिएको हो। उक्त केन्द्रमा नेपालको निर्वाचन प्रक्रिया, मतदान गर्ने स्थान र तरिका, भ्रामक सूचना कसरी पहिचान गर्ने भन्ने जानकारीका साथै आयोगका आधिकारिक स्रोतमा जोडिने लिङ्कहरू उपलब्ध गराइएको छ। निर्वाचनसम्बन्धी सामग्री वा खोजी गर्दा विशेष ट्याग प्रयोग गरी प्रयोगकर्तालाई सो केन्द्रतर्फ मार्गनिर्देशन गरिने जनाइएको छ।

दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फेर्दौस मोत्ताकिनले निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण क्षण भएको उल्लेख गर्दै प्लेटफर्मले सुसूचित सहभागिता र सुरक्षित डिजिटल वातावरण प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको बताए।

भ्रामक तथा हानिकारक सूचना नियन्त्रणका लागि टिकटकले कडा नीति लागू गरेको जनाएको छ। एड्भान्स मोडरेशन प्रविधि र सुरक्षा विज्ञहरूको सहयोगमा सामग्री अनुगमन गरिने तथा नेपालका लागि ‘इलेक्सन टास्कफोर्स’ समेत परिचालन गरिएको उल्लेख गरिएको छ। अपुष्ट सामग्रीमा लेबल लगाउने, सिफारिस प्रणालीबाट हटाउने वा सेयर गर्नुअघि सचेत गराउने जस्ता उपाय अपनाइने जनाइएको छ।

साथै, गोप्य प्रभाव सञ्चालन (कोभर्ट इन्फ्लुएन्स अपरेसन), नक्कली पहिचान र बोट नेटवर्कजस्ता कृत्रिम संलग्नता पूर्ण रूपमा निषेध गरिएको छ। यस्ता गतिविधिविरुद्ध गरिएका कारबाहीहरू ‘ट्रान्सपेरेन्सी सेन्टर’मार्फत सार्वजनिक गरिने टिकटकले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया