फागुण २, २०८२ शनिबार February 14, 2026

पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौं फर्किदै

पूर्वराजाको भ्रमणलाई लिएर समर्थक समूह सक्रिय देखिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह करिब तीन महिना झापामा बसाइँपछि आज काठमाडौं फर्किँदै हुनुहुन्छ। उहाँ आज दिउँसो १२ बजे झापाको भद्रपुर विमानस्थलबाट बुद्ध एयरमार्फत काठमाडौं आउन लाग्नुभएको हो।

पूर्वराजाको आगमनलाई लक्षित गर्दै राजसंस्थापक्षधर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत कार्यक्रम तथा र्‍याली आयोजना गर्ने तयारी गरेका छन्। उनीहरूले विमानस्थलबाट तिलगंगा, चाबहिल, चक्रपथ र महाराजगञ्ज हुँदै निर्मल निवाससम्म र्‍यालीसहित पूर्वराजालाई लैजाने योजना बनाएका छन्।

तर, राजसंस्थापक्षधर समूहको प्रदर्शन तयारीपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विमानस्थल तथा आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रशासनले निर्वाचन आचारसंहिता लागू रहेको, विमानस्थल संवेदनशील क्षेत्र भएकाले सुरक्षा तथा यात्रुको आवागमन प्रभावित हुन सक्ने भन्दै जुलुस, र्‍याली, भेला तथा प्रदर्शन नगर्न आग्रह गरेको छ। निषेधाज्ञा उल्लङ्घन गरे कानुनअनुसार कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ।

यसअघि एक वर्षअघि फागुन २५ गते पोखराबाट काठमाडौं फर्किँदा पूर्वराजा शाहको स्वागतमा विमानस्थल क्षेत्रमा ठूलो भीड लागेको थियो। त्यतिबेला विमानस्थल आसपासको क्षेत्रमा यातायात तथा जनजीवन प्रभावित भएको थियो।

पूर्वराजा शाह पछिल्लो समय देशका विभिन्न स्थानमा धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा सहभागी हुँदै आउनुभएको छ। उहाँको भ्रमणलाई लिएर समर्थक समूह सक्रिय देखिँदै आएका छन् भने राजनीतिक वृत्तमा पनि विभिन्न प्रतिक्रिया देखिने गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया