फागुण १८, २०८२ सोमबार March 2, 2026

स्वच्छ निर्वाचन गराउन आयोग ‘क्रियाशील छ’ : कावा प्रमुख आयुक्त

सात सय ५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १४ फागुनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन निर्वाचन आयोग लागिरहेको बताउनुभएको छ । आयोगले आज यहाँ आयोजना गरेको नेपालस्थित कूटनीतिक नियोगका अधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालस्थित कूटनीतिक नियोगका अधिकारीहरुको उपस्थिति थियो । आयोगका सचिव कृष्णबहादुर राउतले निष्पक्ष निर्वाचन गराउन जिल्लाजिल्लामा निर्वाचन आचारसंहिता अनुगमन समिति गठन गरिएको बताउनुभयो । सात सय ५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले निर्वाचनलाई पारदर्शी बनाउन राजनीतिक दल र उम्मेदवारले निर्वाचन खर्च गराउन अनिवार्य बैंक खाता खोल्ने व्यवस्था गरिएको कूटनीतिक नियोगका अधिकारीलाई जानकारी गराउनुभयो ।

कार्यक्रममा आयोगका सहसचिव ज्ञानहरि घिमिरेले निर्वाचन तयारीका विषयमा प्रस्तुति दिनुभएको थियो । सो अवसरमा आयोगका आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरालगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया