काठमाडौं । बालानन्द शर्मासँग नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद ए. मनिखरले शिष्टाचार भेट गरेका छन्। आइतबार (फागुन १७) परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–साउदी सम्बन्धका विविध पक्षबारे विस्तृत छलफल भएको जनाइएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र परिणाममुखी बनाउने विषयमा विचार आदान–प्रदान भएको थियो। विशेषगरी श्रम, लगानी, ऊर्जा, व्यापार तथा आपसी सहकार्यका सम्भावनाबारे छलफल केन्द्रित रहेको बताइएको छ।
छलफलमा मध्यपूर्व क्षेत्रमा विकसित समसामयिक अवस्था तथा त्यसले नेपाली नागरिकहरूमा पार्न सक्ने प्रभावबारे पनि समीक्षा गरिएको थियो। साउदी अरेबियामा कार्यरत नेपाली कामदारहरूको सुरक्षा, हित संरक्षण तथा आवश्यक परे समन्वयलाई प्रभावकारी बनाउने विषयमा दुवै पक्षबीच समझदारी बनेको जनाइएको छ।
नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र अधिकार संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै मन्त्री शर्माले आपत्कालीन अवस्थामा द्रुत समन्वय र सूचना आदान–प्रदान प्रणाली सुदृढ बनाउनुपर्ने धारणा राखेका थिए।
राजदूत मनिखरले पनि नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो देश प्रतिबद्ध रहेको जनाउँदै आपसी सहकार्यका क्षेत्र विस्तार गर्न सकारात्मक संकेत दिएका थिए।
नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता श्रम तथा आर्थिक सहकार्य मुख्य आधारका रूपमा विकसित हुँदै आएको छ। हाल हजारौँ नेपाली नागरिक साउदी अरेबियामा रोजगारीका लागि कार्यरत छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया