म्याग्दी, ७ वैशाखः अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ पर्यटक र पूर्वाधारका पर्खाइमा छ ।
स्थानीयवासीले ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ नामाकरण गरेको गुफाभित्र अनौठा दृश्यहरु अवलोकन गर्न सकिन्छ । पाउद्वारका बासिन्दा जसे पुनका अनुसार दुईतले गुफाभित्र विभिन्न देवी देवता, मानिसका शरीरका अङ्ग, शिवलिङ्ग, जनावरका थुन, खुर, सिङ जस्ता आकृतिहरु अवलोकन गर्न सकिने गुफा ओझलमा परेको छ ।
“गुुफाभित्र भेटिने मूर्तिकारले पहाडमा चट्टान कुुँदेर बनएका विचित्रका दृश्यहरु देख्दा अनौठो लाग्छ,” उहाँले भन्नुभयो “स्थानीय स्तरमा सीमित यो गुुफाको धार्मिक, ऐतिहासिक महत्वको विषयमा अध्ययन, संरक्षण, व्यवस्थापन, पूर्वाधार निर्माण र प्रवद्र्धन गरी धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न पाउद्वारवासी जुटेका छौँ ।”
गणेश, शिवलगायत हिन्दू धर्मावलम्बीहरुका देवीदेवताहरुको आकृतिहरु पनि भेटिन्छ । तपतप गरेर पानी चुहिरहने गुुफा करिब १० मिटर लामो भएको स्थानीयको भनाइ छ । गुफाभित्र अँध्यारो भएकाले बत्ती अथवा ‘लाइट’ बाल्नुपर्छ ।
टेक्ने भुइँ चिप्लो र होचो भएको हुँदा अवलोकन गर्दा सावधानी अपनाउनुपर्छ । घोप्टो परेर हिँड्नुपर्छ । स्थानीयवासीबाहेक बाहिरका पर्यटकहरु हालसम्म यस गुफा अवलोकन गर्न नआएका पुनले बताउनुभयो ।
पाउद्वार गाउँदेखि सवारीसाधनमा १० मिनेट र पैदलयात्रा २० मिनेट हिँडेपछि झारवाङको छेउमा रहेको गुफामा पुगिन्छ । यसअघि गुुफासम्म पुग्ने पदमार्ग थिए । निगालोको झ्याङ समाएर गुफासम्म पुग्नुपर्ने अवस्था थियो । गुफा नजिकको झारवाङखोलामा पुल थिएन ।
पाउद्वारकी पुुर्जा रोकाले आमा जैसराले पाउने ‘पेन्सन’ बापतको रकम खर्चेर गुुफामा जाने करिब ३०० मिटर पदमार्ग निर्माण गरिदिनुभएको छ । पदमार्ग निर्माणमा पाउद्वारवासीले श्रमदान गरेका छन् । झारवाङदेखि गुफासम्म ५०० मिटर तार तानेर विद्युत् पनि विस्तार भएको छ ।
अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु तीन लाख बजेटबाट झारवाङ खोलामा आठ मिटर लामो ‘ट्रस’ पुल निर्माण भएको छ । गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी पुनले उक्त गुफाभित्रको आकृतिहरु देखेर अनौठो महसुस भएको बताउनुभयो ।
गुफाको विषयमा विस्तृत अध्ययन–अनुसन्धान गरेर धार्मिक र ऐतिहासिक तथ्यहरुको खोजी थालिएको उहाँले बताउनुभयो । त्यहाँका बासिन्दाको केही दिनअघि मात्रै उक्त गुफालाई ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ नामाकरण गरेका हुुन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया