बैसाख १०, २०८३ बिहिबार April 23, 2026

महान्यायाधिवक्ताविरुद्ध रिट निवेदनमा ‘कारण देखाउ आदेश’

निरन्तर १५ वर्ष कानुन व्यवसायमा संलग्न व्यक्ति हुनुपर्नेमा महान्यायाधिवक्ता डा कँडेलको सो अनुभव नभएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १० वैशाखः महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उक्त रिट निवेदनमा कारण देखाउ आदेश गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार यही वैशाख १७ गते अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न आज दुवै पक्षलाई बोलाइएको हो । महान्यायाधिवक्ताको नियुक्तिविरुद्ध बुधबार छुट्टाछुट्टै तीन रिट निवेदन दायर गरिएको थियो । आज उक्त विषयमा प्रारम्भिक सुनुवाइ भएर कारण देखाउ आदेश गरेको हो ।

महान्यायाधिवक्ता डा कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै शिवराज बराल, माधव बस्नेत, दीपकराज जोशीलगायत अधिवक्ताले रिट निवेदन दायर गर्नुभएको थियो । रिट निवेदनमा महान्यायाधिवक्ता जस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरिएको उल्लेख छ । प्रधानमन्त्री वालेन्द्र शाहले गत चैत २२ गते डा कँडेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको थियो ।

सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई प्रधानमन्त्रीले महान्यायाधिवक्तामा नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ । निरन्तर १५ वर्ष कानुन व्यवसायमा संलग्न व्यक्ति हुनुपर्नेमा महान्यायाधिवक्ता डा कँडेलको सो अनुभव नभएको रिट निवेदनमा उल्लेख गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया