काठमाडौं। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै प्रभावका कारण देशका विभिन्न भागमा बदली र वर्षाको स्थिति बनेको छ।
अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी प्रदेशका सबै भूभागका साथै देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ भने तराईका भूभागमा आंशिक बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। यसैगरी, कोशी प्रदेशको तराई क्षेत्रका एक-दुई स्थानमा पनि चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाका साथै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया