असोज २४, २०८३ शनिबार October 10, 2026

अलग बाटोमा गगन–देउवा

समानान्तर महाधिवेशन गर्ने नेताहरूलाई संस्थापन पक्षले कारबाहीको डन्डा चलाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटन गर्दै असोज १८ मा सभापति गगन थापाले भनेका थिए, ‘पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौं, तर उहाँ आउनुभएन ।’ सभापति थापाले देउवालाई लिनका लागि पार्टीका नेताहरू पटकपटक गए पनि देउवा नआएको दाबी गरे ।

सभापति थापाले पार्टीको महाधिवेशन उद्घाटन गर्न पूर्वसभापति देउवालाई ल्याउन अन्तिमसम्म प्रयास गर्दै देउवा समूहका केन्द्रीय सदस्यलाई समायोजन गर्ने प्रतिबद्धता जनाएका थिए । थापाले मञ्चबाटै भने, ‘तपाईंले गाउँगाउँ गएर भन्दिनुहोला कि शेरबहादुर देउवाका लागि कुर्सी खाली राखिएको थियो, उहाँ आउनुभएन ।’

पर्टीको संस्थापन पक्षले विधानअनुसार १५औं नियमित महाधिवेशन गर्दै गर्दा देउवा पक्ष समानान्तर महाधिवेशनको अभियानमा छ । योसँगै विगतमा विभाजन र एकताबाट गुज्रिएको कांग्रेस यतिबेला फेरि विभाजनको औपचारिक तहमा पुगेको हो । पार्टीलाई विभाजनबाट रोक्न महाधिवेशन उद्घाटन गरेर राजनीतिक जीवनको उत्तरार्धमा विश्राम लिने देशभरका कार्यकर्ताको अपेक्षालाई देउवाले उपेक्षा गरेको टिप्पणी भइरहेको छ । कांग्रेस संस्थापन र इतर समूह छुट्टाछुट्टै महाधिवेशनमा गएपछि पार्टी एक नरहेको स्पष्ट सन्देश गएको छ ।

यसअघि २०५९ असार ४ मा बानेश्वरमा आफूपक्षीय कार्यकर्ताको भेला बोलाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठनको घोषणा गरेका देउवामाथि दोस्रोपटक पार्टी विभाजन नरोकेको आरोप लागेको छ । लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद पार्टीको विशेष महाधिवेशन हुँदै विभाजनउन्मुख भएको हो । देउवा समूहका नेताहरूले पार्टी विभाजन भइसकेको स्वीकार गरेका छन् । सो समूहका नेता डा.प्रकाशशरण महतले विशेष महाधिवेशनकै कारण पार्टी विभाजन भएको बताए । ‘हामीले विशेष वैधानिकता नै नभएको विशेष महाधिवेशनलाई स्वीकार गरेका थिएनौं,’ उनले मध्यान्हसँग भने, ‘विशेष महाधिवेशन गरेर गगनजीहरूले पार्टी विभाजनको रेखा कोर्नुभयो । अहिले दुवैतर्फ महाधिवेशन भइरहेको अवस्थामा पार्टी एक हुने अवस्था रहेन ।’

संस्थापन पक्षले भने केही नेताहरू बाहिर रहेको तर्क गर्दै आएका छन् । कांग्रेस नेता देवराज चालिसेले पार्टीले उल्लासमय ढंगबाट देशभरका वडा, पालिका, प्रदेश हुँदै केन्द्रीय महाधिवेशन सम्पन्न भइसकेको र केही नेताहरू महाधिवेशनमा छुटेको बताए । देशभरका आठ लाखभन्दा बढी क्रियाशील सदस्य सहभागी भएर महाधिवेशन सम्पन्न भएको उनले जिकिर गरे । कांग्रेसका एकाध नेताहरू महाधिवेशनमा आउनुभएन भन्दैमा पार्टी विभाजन भयो भन्ने तर्क गर्न नहुने उनको भनाइ छ ।  विशेष महाधिवेशनमा भाग नलिएका र पूर्वसभापति देउवा समूहमा बसेका ९५ प्रतिशत नेता १५औं महाधिवेशनमा सहभागी भएर पार्टीलाई एक ढिक्का र गुटरहित बनाएको चालिसेले दाबी गरेका छन् ।

‘कांग्रेसका आठ लाखभन्दा बढी क्रियाशील सदस्य सहभागी भएर वडादेखि केन्द्रसम्मको महाधिवेशन सम्पन्न भइसकेको छ,’ उनले मध्यान्हसँग भने, ‘विशेष महाधिवेशनमा भाग नलिएका, पूर्वसभापति देउवा समूहमा बसेका ९५ प्रतिशत नेताहरू १५औं महाधिवेशनमा सहभागी भएपछि अहिले कांग्रेस गुटरहित भएको छ ।’ महाधिवेशनले एक लाखभन्दा बढी ३५ वर्षमुनिका युवाहरूको सहभागिता भएकाले पार्टीमा नयाँ ऊर्जा थपिएको उनले दाबी गरेका छन् । कांग्रेसले विधानमै युवाको क्लस्टर राखेर वडादेखि केन्द्रसम्म ३५ मुनिका युवाहरूको प्रतिनिधित्व अनिवार्य गरेको  छ । यो व्यवस्थाले पार्टीमा नवयुवाको आकर्षण बढे पनि पूर्वसभापति देउवा पक्षमा रहेका केही पुराना नेताहरूले फरक बाटो रोजेका छन् । नयाँ पार्टी नै बनाएर जाने तयारी गरेको सो समूहबाट अधिकांश नेता संस्थापनमै समाहित भएपछि नयाँ दल दर्ताका लागि नेताहरूले हिम्मत गर्न सकेका छैनन् ।

देउवाले २०५९ असारमा कांग्रेस प्रजातान्त्रिक गठन भएको ५ वर्षपछि २०६४ मा पार्टी एकता भएको थियो । त्यसयता आन्तरिक गुटबन्दीमा रहेको कांग्रेस फेरि २४ वर्षपछि देउवाकै कारण विभाजनको बाटोमा लागेको हो । ०५९ को पार्टी विभाजनमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, बालकृष्ण खाँण, पूर्णबहादुर खड्का, एनपी साउदलगायत नेताले साथ दिएका थिए । गोपालमान श्रेष्ठ विशेष महाधिवेशनमा सहभागी भएका थिए भने अरू नेताहरूले बहिष्कार गर्दै आएका थिए । गोपालमान विशेष महाधिवेशनपश्चात् वरिष्ठ नेताको जिम्मेवारी पाएर दिवंगत भइसके । प्रकाशमान सिंह, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, एनपी साउद, प्रकाशशरण महतलगायत नेताहरूले १५औं महाधिवेशनमा समेत भाग नलिएर समानान्तर अधिवेशनमा जुटेका छन् ।

संस्थापनइतर समूहका नेता एनपी साउदले कञ्चनपुरमा क्षेत्रीय अधिवेशन गराउन व्यस्त रहेको बताए । कञ्चनपुर जिल्लाका वडा र पालिका अधिवेशन सकेर क्षेत्रीय अधिवेशनमा सहभागी भइरहेका नेता साउदले देशभर पाँच हजार वडा अधिवेशन, सयौं पालिका र सोहीअनुसारका क्षेत्रको अधिवेशन भइरहेको दाबी गरे । पार्टीको विशेष महाधिवेशन रोक्न लागे पनि नरोकिएपछि पार्टीमा विभाजनको रेखा कोरिएको उनको भनाइ छ । ‘अदालतमा रहेको पुनरावलोकनको मुद्दा टुंगो नलाग्दासम्म हामीले महाधिवेशन नगरौं भनेका थियौं,’ मध्यान्हसँग कुरा गर्दै उनले भने, ‘तर विशेष महाधिवेशन पक्षधर साथीहरूले मान्नुभएन र हामी पनि महाधिवेशनको प्रक्रिया अघि बढाउन बाध्य भयौं । अहिले पाँच हजार वडा अधिवेशन भइसकेका छन् । पालिका र क्षेत्रको अधिवेशनसमेत भइरहेका छन् ।’

अदालतबाट आफ्नो पक्षमा परमादेश आउँछ भन्ने विश्वासमा रहेको यो समूहका नेताहरू प्रतिकूल निर्णय आएपछि पुनरावलोकनको माग गर्दै सर्वोच्च गएका थिए । पुनरावलोकनका लागि निस्सा पाएको देउवा समूह उक्त मुद्दाको टुंगो नलाग्दासम्म कुनै अधिवेशन नगर्ने पक्षमा थिए । दुवै पक्षले अधिवेशनका कार्यक्रम अघि नबढाउन आग्रह गरे पनि विशेष महाधिवेशन पक्षले नमानेपछि आफूहरू अधिवेशन गर्न बाध्य भएको नेता साउदले बताए । यद्यपि यो समूहको आगामी गन्तव्य अझै तय भइसकेको छैन ।

नेता साउदले अदालतले दिएको पुनरावलोकनको निस्साको निर्णय पर्खनुको विकल्प नरहेको बताएका छन् । ‘हामीलाई अदालतले आधिकारिकता दियो भने हामी सबैलाई मिलाएर लान्छौं,’ नेता साउदले भने, ‘अर्को पक्षलाई दियो भने उहाँहरूको भूमिका के गर्नुहुन्छ ? र कसरी अघि बढ्ने भन्ने त्यसपछि निर्णय लिन्छौं । त्यसबेला के गर्ने भन्ने अहिले नै म कमेन्ट गर्न चाहन्नँ । दुवैतर्फ महाधिवेशन भइरहेकाले पार्टी एक रहेको भन्न मिल्दैन ।’

समानान्तर महाधिवेशनको प्रक्रियालाई निरन्तर अघि बढाए पनि सुदूरपश्चिमबाहेक यो समूहमा पार्टी कार्यकर्ता देखिएका छैनन् । पार्टीका अधिकांश क्रियाशील सदस्यहरू आधिकारिक महाधिवेशनमा भाग लिइसकेका कारण देउवा समूहले अधिवेशनका लागि तल्लो तहको संरचनामा बस्ने नेतृत्वसमेत नपाएको नेताहरूले बताएका छन् । यो समूहको महाधिवेशन आयोजक समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले घरैमा बोलाएर जिल्ला, क्षेत्र र पािलका संयोजक तोक्ने काम गरिरहेका छन् । त्यसरी तोकिएका संयोजकसमेत आफ्नो भूगोलमा जाने अवस्था छैन ।

यता, सभापति गगन थापाले असोज १८ बाट उद्घाटन गरेको कांग्रेसको महाधिवेशन अझै सकिएको छैन । मतदान सकिए पनि मतगणना कार्य आजबाट प्रारम्भ हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेसको १५औं महाधिवेशनबाट आगामी चार वर्षका लागि नयाँ केन्द्रीय समिति घोषणा हुनै लाग्दा समानान्तर महाधिवेशन गर्ने नेताहरूलाई संस्थापन पक्षले कारबाहीको डन्डा चलाउने तयारी गरेको छ । महाधिवेशनको परिणाम सार्वजनिक भएर नयाँ कार्यसमितिले पदीय जिम्मेवारी लिएलगत्तै उनीहरूलाई कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कारबाही अघि बढाइने नेताहरूले बताएका छन् । सभापति थापाले कांग्रेसको महाधिवेशनमा नआएका नेताहरूलाई कांग्रेस छाडेको हो कि होइन भन्ने विषयमा स्पष्ट उत्तर दिन आग्रह गरेका छन् । ‘केही साथीहरू महाधिवेशनबाहिर रहनुभएको छ, उहाँहरूले कांग्रेस छाडेको हो कि होइन ? त्यसको स्पष्ट जवाफ दिनुपर्नेछ ।’

देउवा समूहले आगामी २१, २२ र २३ मंसिरमा काठमाडौंमा १५औं केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ ।मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार
चौध लाखभन्दा बढीका सामान र ई-लोडर बरामद
२०८३ असोज २४, शनिबार
सुन तस्करीमा चिनियाँ नयाँ समूह : २१ किलो ७५० ग्राम सुनसहित तीन जना बुढानीलकण्ठबाट पक्राउ
२०८३ असोज २४, शनिबार
पुरानो बसको लापरबाहीले खोस्यो ५ जनाको ज्यान, माझठाना गाउँ शोकमा डुब्यो
२०८३ असोज २४, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी
२०८३ असोज २४, शनिबार