असोज २४, २०८३ शनिबार October 10, 2026

पुरानो बसको लापरबाहीले खोस्यो ५ जनाको ज्यान, माझठाना गाउँ शोकमा डुब्यो

दुर्घटनापछि पोखरा महानगरपालिकाले घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कास्की। पोखरा-२८ कालिकाका विकल केसी शुक्रबार बिहान भर्खरै ब्युँझिएका थिए। साथीले ‘भीरबाट बस खस्यो, उद्धारका लागि जानुपर्यो’ भनेपछि उनी जुरुक्क उठेका थिए। सामुदायिक प्रहरी कालिकाको पूर्वअध्यक्ष समेत रहेका केसी दुई जना साथीलाई साथमा लिएर घटनास्थल ओख्लेको भीरतर्फ दौडिएका थिए।

घटनास्थल पुग्दा भीरमा कोही विद्यार्थी अड्किएका थिए भने कोही बससँगै तल पुगेका थिए। घाइते विद्यार्थीको चित्कारले वातावरण स्तब्ध थियो। ‘दाइ, अङ्कल, मलाई बचाउनुहोस्’ भन्दै विद्यार्थीले गुहार माग्दै थिए।

भीरको अप्ठ्यारो बाटो हुँदै उनी साथीसहित तल ओर्लिएका थिए। बसका पार्टपुर्जा छरिएका थिए, विद्यार्थी यत्रतत्र थिए। उद्धारका लागि आवश्यक सामग्री केही थिएन। तर, घाइतेको चित्कार सुनेर उनीहरू पछि हट्न सकेका थिएनन्।

घाइते विद्यार्थीलाई पिठ्युँमा बोकेरै सडकसम्म ल्याउन थालिएको थियो। “हामीसँग उद्धारका लागि केही पनि सामान थिएन। सबैलाई पिठ्युँमै बोकेर भए पनि माथि बाटोसम्म ल्यायौँ। सबैलाई बोकेरै ल्याइयो,” केसीले उद्धार गर्दाको अनुभव सुनाए।

पुरानो बसको लापरबाहीले खोस्यो ५ जनाको ज्यान, माझठाना गाउँ शोकमा डुब्योस्थानीय करिब १०-१२ जना घाइतेको उद्धारमा जुटिरहँदा सुरक्षाकर्मीको टोली पनि घटनास्थलमा आइपुगेको थियो। पोखरा बजारबाट करिब १५ किलोमिटर टाढा रहेको उक्त स्थानमा बिहानै भएको दुर्घटनाले सिङ्गो गाउँलाई शोकमा डुबाएको छ।

सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका इङ्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस शुक्रबार बिहान ६ः३३ बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको थियो। दुर्घटनामा चार विद्यार्थी र एक ज्येष्ठ नागरिक गरी पाँच जनाको मृत्यु भएको छ भने १३ विद्यार्थी र चालक घाइते भएका छन्।

कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थी बिहान ट्युसन पढ्न विद्यालय आउँदै थिए। विद्यालय पुग्न केही समय मात्र बाँकी रहँदा बस दुर्घटनामा परेको थियो। दुर्घटनाको वास्तविक कारण खुलिसकेको छैन।

सामान्य उकालो र फराकिलो पक्की सडकमा बस दाहिनेतर्फ मोडिनुपर्ने स्थानमा सिधै भीरतर्फ गएर खसेको स्थानीय बताउँछन्। सडक फराकिलो भएकाले सवारीसाधन चलाउन कठिनाइ हुने अवस्था नरहेको उनीहरूको भनाइ छ। बसका चालक घाइते भएकाले घटनाबारे थप अनुसन्धान भइरहेको छ।

स्थानीयका अनुसार दुर्घटनामा परेको बस निकै पुरानो थियो। विद्यार्थीले उक्त बसमा चढ्न आनाकानी गर्ने गरेका थिए। बसको अवस्था पुरानो भएकाले प्रयोग नगर्न विद्यालय प्रशासनलाई पटक-पटक आग्रह गरिएको स्थानीय केसीले बताए।

“गाडी पुरानो भएको थियो। पटक-पटक हामीले पुरानो गाडी प्रयोग नगर्नु भनेर सम्झाएका पनि हौँ। तर, आज यस्तो दुःखद घटना भोग्नुपर्यो,” केसीले दुःख व्यक्त गरे। स्थानीयले बस पुरानो भएकै कारण दुर्घटना भएको दाबी गरे पनि प्राविधिक परीक्षण तथा अनुसन्धानबाट यसको कारण पुष्टि हुन बाँकी छ। बसका चालक समेत दुर्घटनामा घाइते छन्। उद्धारका क्रममा सामान्य बोलचालमा चालकले आफूले दुर्घटना अगाडि एक्कासी अँध्यारो देखेको बताएको केसीले सुनाए।

विद्यालय जाने क्रममा भएको दुर्घटनामा एउटै गाउँका चार विद्यार्थीको मृत्यु भएपछि माझठाना गाउँ शोकमा डुबेको छ। गाउँमा शोक छाएको छ भने आफन्त र छिमेकीका आँखाबाट आँसु रोकिएका छैनन्।

दुर्घटनाको खबर फैलिनासाथ घाइतेलाई उपचारका लागि ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आफन्त तथा स्थानीयको भीड लागेको थियो। बिहान घरबाट विद्यालय जान निस्किएका बालबालिका दुर्घटनामा परेको खबरले परिवार र गाउँले स्तब्ध बनेका छन्।

पोखरा–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले दुर्घटनाले सिङ्गो माझठाना गाउँलाई शोकमा डुबाएको बताए। “एउटै गाउँका चार विद्यार्थीले दुर्घटनामा जीवन गुमाए भने अन्य घाइते छन्। बिहान उठेर सधैँझैँ विद्यालय गएका विद्यार्थीको आज यो हालत हुँदा सबैको मन रोएको छ,” उनले भने।

वडाध्यक्ष लामिछानेले दुर्घटनाको कारण पुष्टि नभए पनि स्थानीयले बस पुरानो भएकै कारण दुर्घटना भएको आशङ्का व्यक्त गरिरहेको बताए। उनले घटनाको निष्पक्ष छानबिन गरी दुर्घटनाको कारण पहिचान गर्नुपर्नेमा जोड दिए।

दुर्घटनापछि पोखरा महानगरपालिकाले घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ। महानगरपालिकाका प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यले जनाए अनुसार दुर्घटनाको कारण पहिचान गर्न, घटनासँग सम्बन्धित विषयको विस्तृत अध्ययन तथा छानबिन गर्न र आगामी दिनमा यस्ता दुर्घटना दोहरिन नदिन आवश्यक सुधारका उपायसहित सुझाव पेस गर्ने उद्देश्यले समिति गठन गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी कालिका बोर्डिङका विद्यार्थी १३ वर्षीया ममता तिवारी, १४ वर्षीया रुमिका नेपाली, १४ वर्षीय अशिम कँडेल र सुवेच्छा तिवारीको मृत्यु भएको छ। यसैगरी, बसमा लिफ्ट मागेर यात्रा गरिरहेका माझठानाका ६५ वर्षीय बाबुराम तिवारीको पनि दुर्घटनामा मृत्यु भएको कास्कीका प्रहरी प्रमुख नवीन कार्कीले बताए।

दुर्घटनामा घाइते भएका तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ भने बाँकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस चालक पोखरा–१५ निवासी ५७ वर्षीय तुलबहादुर गुरुङको ढाड र छातीमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चौध लाखभन्दा बढीका सामान र ई-लोडर बरामद
२०८३ असोज २४, शनिबार
सुन तस्करीमा चिनियाँ नयाँ समूह : २१ किलो ७५० ग्राम सुनसहित तीन जना बुढानीलकण्ठबाट पक्राउ
२०८३ असोज २४, शनिबार
पुरानो बसको लापरबाहीले खोस्यो ५ जनाको ज्यान, माझठाना गाउँ शोकमा डुब्यो
२०८३ असोज २४, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी
२०८३ असोज २४, शनिबार
आज आश्विन कृष्ण औंसी: पितृ पक्ष अर्थात् सोह्र श्राद्ध समापन गरिँदै
२०८३ असोज २४, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक
२०८३ असोज २४, शनिबार
दसैंको मुखमा मारमा उपभोक्ता,५० प्रतिशतसम्म मूल्यवृद्धि
२०८३ असोज २४, शनिबार