काठमाडौँ । डिजिटल प्रविधिको तीव्र विस्तारसँगै फेसबुकलगायत सामाजिक सञ्जालमार्फत आम्दानी गर्ने प्रवृत्ति नेपालमा उल्लेखनीय रूपमा बढ्दै गएको छ। फेसबुक मोनिटाइजेसन सुविधा विस्तार भएसँगै हजारौँ नेपाली कन्टेन्ट क्रिएटरहरू यसतर्फ आकर्षित भएका छन्। तर आवश्यक प्राविधिक ज्ञान, नीति–नियमको स्पष्टता तथा व्यवहारिक अनुभवको अभावका कारण धेरै प्रयोगकर्ताहरू अझै पूर्ण रूपमा लाभ लिन सकेका छैनन्।
यही अवस्थालाई मध्यनजर गर्दै एमडिआर टिमले नेपाली क्रिएटरहरूलाई लक्षित गर्दै प्रशिक्षण, मार्गदर्शन तथा समस्या समाधानका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। टिमका अनुसार एमडिआर टिमले सम्पूर्ण सहयोग निःशुल्क तथा निःस्वार्थ रूपमा प्रदान गर्दै आएको छ, जसले डिजिटल कमाइतर्फ उन्मुख व्यक्तिहरूलाई थप सहजता प्रदान गरेको छ।
एमडिआर टिमका संयोजक केदार तिमिल्सिना पेशाले आईटी इन्जिनियर हुन्। ओखलढुङ्गामा जन्मिएका तिमिल्सिना हाल अमेरिकामा बसोबास गर्दै आएका छन्। उनी नेपाल भाइरल मोनिटाइजेसन ग्रुप तथा एमडिआर ग्रुपका एडमिन समेत रहेका छन्। नेपालमा फेसबुक मोनिटाइजेसन सुविधा सुरु भएपछि उनले नेपाली क्रिएटरहरूलाई संगठित र सक्षम बनाउने उद्देश्यले एमडिआर टिम स्थापना गरेका हुन्।
टिमका अनुसार एमडिआर टिममा नेपालका ७६ जिल्ला र विदेशका करिब २३ देशमा बसोबास गर्ने नेपालीहरूको सहभागिता रहेको छ। यसले समूहको पहुँच अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार भएको देखाउँछ।
एमडिआर टिम अन्तर्गत डिजिटल कमाइ चौतारी, नेपाली भाइरल तथा मोनिटाइजेसन ग्रुप तथा परदेशमा नेपाली मन जस्ता डिजिटल कम्युनिटीहरू सञ्चालनमा रहेका छन्। यी प्लेटफर्महरूले क्रिएटरहरूबीच अनुभव आदान–प्रदान, सहकार्य तथा नेटवर्क विस्तारमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्।
विभिन्न समूहहरूको नेतृत्व संरचना समेत निर्धारण गरिएको छ। नेपाल भाइरल मोनिटाइजेसन ग्रुपको नेतृत्व गीता खड्का र सह–नेतृत्व कविता घिमिरेले गरिरहेका छन् भने डिजिटल कमाइ चौतारीको नेतृत्व निर्मल योगी र सह–नेतृत्व रञ्जना श्रेष्ठले सम्हालिरहेका छन्। त्यस्तै परदेशमा नेपाली मनको नेतृत्व विकास मगर आले कान्छो र सह–नेतृत्व अमृत गुरुङले गरिरहेका छन्।
एमडिआर टिम अन्तर्गत आठ वटा उपसमूहहरूको व्यवस्थापनका लागि दीपक घिमिरेलाई इन्चार्ज तथा सूर्य बहादुर खड्कालाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ। मोनिटाइजेसनसँग सम्बन्धित समस्या समाधान गर्न टिमले लाइभ इश्यू, पेमेन्ट तथा कर, कन्टेन्ट गाइडलाइन, फलोअर्स इन्गेजमेन्ट, अनुशासन, स्टार सेन्डर लगायतका विषयसँगै मिडिया हेल्प टिम समेत सञ्चालनमा ल्याएको छ, जसले कन्टेन्ट गुणस्तर सुधार तथा डिजिटल प्रस्तुतीकरणमा सहयोग पुर्याउँदै आएको छ।
एमडिआर टिमले नियमित रूपमा फेसबुक लाइभमार्फत प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोमबारदेखि शुक्रबार बेलुकी ७:३० देखि ९:३० बजेसम्म सञ्चालन हुने लाइभहरूमा आधारभूतदेखि उन्नत विषयहरू समेटिन्छन्। विशेषगरी शनिबार र आइतबार सञ्चालन हुने लाइभ सेसनहरूमा आम्दानी वृद्धि र व्यावहारिक रणनीतिमा केन्द्रित प्रशिक्षण प्रदान गरिन्छ।
टिमका इन्चार्ज दीपक घिमिरेका अनुसार फेसबुक मोनिटाइजेसनको यात्रामा एमडिआर टिमले प्रयोगकर्ताहरूलाई आवश्यक सहयोग उपलब्ध गराउँदै समस्या समाधानलाई सहज बनाएको छ। डिजिटल कमाइ चौतारीका नेतृत्वकर्ता निर्मल योगीले डिजिटल युगमा हरेक व्यक्तिलाई आम्दानीको अवसरसँग जोड्न टिमले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।
त्यसैगरी एमडिआर महिला इश्यू हेल्प टिमकी लिड शुशिला उप्रेतीले डिजिटल माध्यम प्रयोग गर्ने क्रममा महिलाहरूले भोगिरहेका समस्याहरू समाधान गर्न टिम तयार रहेको बताएकी छन्।
टिम संयोजक तिमिल्सिनाले एमडिआर टिमको उद्देश्य केवल मोनिटाइजेसन सुविधा उपलब्ध गराउनु मात्र नभई नेपाली क्रिएटरहरूलाई डिजिटल रूपमा सक्षम र आत्मनिर्भर बनाउनु रहेको बताएका छन्। साथै नेपाली कन्टेन्टलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने दीर्घकालीन लक्ष्य समेत रहेको जानकारी दिएका छन्।
डिजिटल अर्थतन्त्र विस्तार हुँदै गएको वर्तमान सन्दर्भमा एमडिआर टिम जस्ता पहलहरूले नेपाली युवाहरूलाई नयाँ अवसरसँग जोड्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्। हाल एमडिआर टिम सामाजिक सञ्जालमा सक्रिय हजारौँ नेपाली क्रिएटरहरूको भरोसायोग्य प्लेटफर्मका रूपमा स्थापित भइसकेको छ र आगामी दिनमा अझ व्यापक रूपमा विस्तार हुने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया