बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १८ वैशाख : प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदैछ ।

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।

किरात समुदायका विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किरात राई यायोक्खाले गरेको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ ।

किरात समुदायमा पनि एकथरिले उभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उभौली वैशाख शुक्ल पूर्णिमा र उधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । यो पर्व किरात राई समुदायको महत्त्वपूर्ण पर्वका रूपमा रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार
सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी
२०८३ बैसाख १८, शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख १८, शुक्रबार
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाँइको राशिफल ? हेर्नुहोस्
२०८३ बैसाख १८, शुक्रबार
अमेरिकी विशेष दूत सेर्गियो गोर काठमाडौंमा
२०८३ बैसाख १७, बिहिबार