असोज ६, २०८३ मंगलबार September 22, 2026

डिजिटल मिडिया, एल्गोरिदम र राजनीतिक अर्थतन्त्रबारे पत्रकारहरूको गहन छलफल

सञ्चार माध्यममाथि राजनीतिक तथा आर्थिक प्रभाव बढ्दै गएको विश्लेषण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख १८ गते । डिजिटल रूपान्तरण, राजनीतिक अर्थतन्त्र र सञ्चार क्षेत्रका चुनौतीबारे केन्द्रित एक राष्ट्रिय सेमिनार काठमाडौँमा सम्पन्न भएको छ । नेपाल प्रेस युनियनको आयोजना तथा फेस नेपालको सहयोगमा आयोजित उक्त कार्यक्रममा डिजिटल सञ्चार, मिडियाको विश्वसनीयता र लोकतान्त्रिक अभ्यासमा सञ्चार क्षेत्रको भूमिकाबारे गहन छलफल गरिएको हो ।

सेमिनारमा डिजिटल सञ्चार विज्ञ उज्वल आचार्यले “डिजिटल मिडिया र एल्गोरिदम” विषयमा कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा प्रयोग हुने एल्गोरिदमले सूचना प्रवाह, जनमत निर्माण तथा मिडियाको पहुँचमा ठुलो प्रभाव पारिरहेको बताउनुभयो । उहाँले डिजिटल युगमा गलत सूचना, दुष्प्रचार र ‘क्लिक’मा आधारित सामग्रीको बढ्दो प्रवृत्तिले पत्रकारिताको विश्वसनीयतामाथि चुनौती थपिएको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा र सञ्चारकर्मी कृष्णा पौडेलले डिजिटल प्रविधिले सञ्चार क्षेत्रमा अवसरसँगै गम्भीर चुनौती पनि ल्याएको बताउँदै मिडियाको व्यावसायिकता र तथ्यमा आधारित समाचारका लागि पत्रकारिताको आचारसंहितालाई थप सुदृढ बनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।

त्यसैगरी, पुष्प आचार्यले “अर्थ–राजनीति र नेपाली सञ्चार अवस्था” विषयमा कार्यपत्र प्रस्तुत गर्दै सञ्चार माध्यममाथि राजनीतिक तथा आर्थिक प्रभाव बढ्दै गएको विश्लेषण प्रस्तुत गर्नुभयो । उहाँले सञ्चार संस्थाको स्वामित्व संरचना, विज्ञापन बजारको दबाब र राजनीतिक पहुँचले स्वतन्त्र पत्रकारितामा असर पारिरहेको बताउनुभयो ।

प्रस्तुत कार्यपत्रमाथि सञ्चार विज्ञ जगत नेपाल र सञ्चारिका समूहकी पूर्वअध्यक्ष विमला तुम्खेवाले डिजिटल रूपान्तरणसँगै सञ्चार क्षेत्रलाई थप उत्तरदायी, समावेशी र विश्वसनीय बनाउन नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो । उहाँहरूले पत्रकारको क्षमता अभिवृद्धि र डिजिटल साक्षरतामा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा फेस नेपालकी प्रतिनिधि पवित्रा रावलले लोकतान्त्रिक समाजमा स्वतन्त्र र जिम्मेवार सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न जिल्लाका करिब ७५ जना पत्रकारको सहभागिता रहेको थियो । सहभागीहरूले डिजिटल युगमा मिडियाले भोगिरहेका चुनौती, एल्गोरिदमको प्रभाव र सूचना प्रवाहको पारदर्शिताका विषयमा व्यापक छलफल गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार