तानसेन (पाल्पा), १८ वैशाख : तानसेन नगरपालिका–९ दमकडामा ३८० वर्ष पुरानो माण्डव्य ऋषिको रथयात्रा निकालिएको छ । माण्डव्य ऋषिको तपोभूमिका रूपमा रहेको माडीफाँटको दक्षिण दमकडास्थित माण्डव्य ऋषिको मन्दिरबाट आज उक्त रथयात्रा निकालिएको हो ।
हरेक वर्ष वैशाख पूर्णिमाका दिन रथयात्रा निकाल्ने गरिन्छ । मन्दिर स्थापना भएको ३७७ वर्ष पूरा भएको अवसरमा पहिलोपटक यहाँ रथयात्रा निकालिएको थियो । यो चौथो रथयात्रा हो । माण्डव्य क्षेत्र उत्थान प्रतिष्ठानका तानसेनको आयोजना र तानसेन नगरपालिका–९ वडा कार्यालयको सहआयोजनामा रथयात्रा निकालिएको हो । रथयात्रा तिन्टीआप, दमकडा र अम्लेयान क्षेत्रमा घुमाइएको थियो । रथयात्राका क्रममा स्थानीय भजनकीर्तन, पञ्चेबाजा, ब्याण्डबाजासहित सङ्घसंस्था, टोल विकास संस्था, स्थानीय आमा समूहको सहभागिता रहेको थियो ।
माण्डव्य ऋषिको योगदानलाई जनमासमा पुर्याउन र बैदिक परम्परागत कला, संस्कृति जोगाउन विगत चार वर्षदेखि रथयात्रा निकाल्न थालिएको माण्डव्य क्षेत्र उत्थान प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम अर्यालले बताउनुभयो । छ हजार वर्ष अगाडि माण्डव्य ऋषिले तपस्या गरेको तपोभूमि भएकाले यसको धार्मिक तथा ऐतिहासिक महत्व रहेको उहाँको भनाइ छ । ऋषिकै नामबाट नामकरण गरिएको माडीफाँटको किनार दमकडामा मन्दिर स्थापना गरिएको छ । तपस्या र साधनायुक्त ठानिने माण्डव्य ऋषिको यहाँ मन्दिर स्थापना गरिएको स्थानीय पत्रकार प्रकाश नेपालले बताउनुभयो । धार्मिकशास्त्रमा ऋषिको व्यख्याअनुरूप महत्त्व र महिमा ठूलो भए पनि प्रचारप्रसारको कमीले गर्दा ओझेलमा परेको उहाँको भनाइ छ । रथलाई विगतमा जस्तै उत्साहजन रूपमा निकालिएको प्रतिष्ठानका सदस्य लोकनाथ अधिकारीले बताउनुभयो । उहाँका अनुसार यो मन्दिर विसं १७०३ मा स्थापना गरिएको थियो ।
पुरानो र ऐतिहासिक, धार्मिक सम्पदाका रूपमा रहेको यो मन्दिरको प्रचारप्रसार नहुँदा भने ओझेलमा परेको छ । मन्दिरको आफ्नै महत्त्व र इतिहास रहे पनि सम्बन्धित निकायले चासो नदिँदा भने ओझेलमा पर्न गएको हो । स्थानीय धार्मिक, सांस्कृति, पर्यटकीय सम्पदाको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको रहे पनि विगतका स्थानीय सरकारले यस्ता सम्पदाप्रति बेवास्ता गर्दा ओझेलमा परेका हुन् । अहिलेको स्थानीय सरकारले भने माण्डव्य ऋषि मन्दिरको प्रचारप्रसारमा केही चासो देखाएको छ । यो मन्दिरको प्रचारप्रसार गरी धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्य राखेर तानसेन नगर सरकार र वडा कार्यालयले चासो देखाएका छन् । मन्दिर स्थापना भएको केही वर्षसम्म रथ निकाल्ने पराम्परा रहे पनि लामो समययता निकालिएको थिएन । वडाबाट केही बजेट विनियोजन भएपछि भने अहिले रथयात्राले निरन्तरता पाएको प्रतिष्ठानले जनाएको छ ।
रथयात्रा प्रसिद्ध महर्षि माण्डव्य ऋषिको योगदानको सम्मानमा निकाल्ने गरिएको वडाध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “माण्डव्य ऋषिको तपोभूमि, साधनाभूमि र शास्त्रार्थस्थका रूपमा परिचित यस क्षेत्रको प्रचारप्रसार गर्नुका साथै स्थानीय धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्नु यसको उद्देश्य रहेको छ ।” यहाँको मन्दिर पुनर्निर्माणका लागि पूर्वमन्त्री तथा स्थानीय सोमप्रसाद पाण्डेले सङ्घीय सरकारमार्फत बजेट विनियोजन गर्नुभएको थियो ।
यो क्षेत्र प्राचीनकालदेखि नै माण्डव्य ऋषिको तपस्यास्थलका रूपमा चिनिँदै आएको छ । पद्म पुराणमा उल्लेख भएअनुरूप माडीफाँट आसपासदेखि सत्यवतीसम्म माण्डव्य ऋषिको प्रसङ्ग जोडिने गर्दछ । माण्डव्य ऋषिले साधनाको क्षेत्रमा मात्र नभई आयुर्वेदिक चिकित्सा क्षेत्रमा समेत उत्तिकै दख्खल राखेको पाइन्छ । माण्डव्य ऋषिको नेपाल सरकारले केही समय अगाडि हुलाक टिकट प्रकाशनमा ल्याएको थियो । यसको महत्व र महिमा धेरै भए पनि प्रचारप्रसारको कमीले गर्दा ओझेलमा परेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया