असार ११, २०८३ बिहिबार June 25, 2026

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २९ गते मङ्गलबार दिउँसो १ः०० बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनमार्फत सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतिका लागि राष्ट्रपति रामचन्द्र पौडेलप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।

सभामुख डोलप्रसाद अर्यालले धन्यवाद प्रस्ताव प्रस्तुत गर्दा बैठकले सर्वसम्मतिले पारित गरेको थियो । दुवै सदनको संयुक्त बैठक सकिएपछि भएको प्रतिनिधिसभा बैठकले सो प्रस्ताव पारित गरेको हो । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रमको प्रति टेबुल गर्नुभएको थियो ।

सभामुख अर्यालले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा छलफलमा उठेका विषयमाथि प्रधानमन्त्रीले यही वैशाख ३० गते जवाफ दिने कार्यक्रम तय भएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिन अर्को बैठक अगावै नाम दिनुपर्ने र विरोधको सूचना गर्ने सदस्यले वैशाख २९ गते दिउँसो २ बजेभित्र दिइसक्नुपर्ने छ ।

बैठकमा नेकपा एमालेका गुरुप्रसाद बरालले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संयुक्त बैठकमा प्रधानमन्त्री शाहले राष्ट्रिय पोसाक नलगाएको र संसदीय मर्यादा पालना नगरेको भनी ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २९ गते मङ्गलबार दिउँसो १ः०० बजे बस्नेछ । सङ्घीय संसद्को बजेट अधिवेशन आजैबाट सुरु भएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया