असार २४, २०८२ मंगलबार July 8, 2025

विश्वभर कोरोना संक्रमणबाट १० लाख ३३ हजारको मृत्यु, भारतमा मात्रै मृत्यु हुनेको सङ्ख्या १ लाख नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० लाख ३३ हजार ३३० पुगेको छ । कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या एक लाख नाघेको छ ।

आजसम्म प्राप्त समाचारअनुसार भारतमा ६४ लाख ७३ हजार ५४४ जनालाई कोरोना भाइरस सङ्क्रमण भएको र यस सङ्क्रमणबाट एक लाख ८७५ जनाको मृत्यु भईसकेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४८ लाख ३६ हजार २८ पुगेको छ ।

कूल सङ्क्रमितमध्ये दुई करोड ५८ लाख ९७ हजार ९९६ निको भएका छन् भने करिब ७९ लाख ४ हजार ७०२ मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६६ हजार ३२५ मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७५ लाख ४९ हजार नाघिसकेको छ ।

कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १३ हजार ५२४ को मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा ४८ लाख ८२ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४५ हजार ४३१ जनाको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा ११ लाख ९४ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २१ हजार ८९१ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा कोरोना भाइरसको प्रकोप बढ्दो रुपमा रहेको केही दिन अगाडी एकै दिनमा २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ३ हजार ३५२ जनाको मृत्यु भएको थियो । युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । -एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया