काठमाडौं । अनुभवी फरवार्ड नेयमारलाई समेट्दै फिफा विश्वकप-२०२६ का लागि ब्राजिलियन टोली घोषणा भएको छ ।
सोमबार मुख्य प्रशिक्षक कार्लो एन्सोलोट्टीले नेयमारलाई समेट्दै २६ सदस्यीय टोली घोषणा गरेका हुन् । पछिल्लो सयम चोटसँग संघर्ष गरिरहेका नेयमारले २०२३ यता ब्राजिलका लागि खेलेका छैनन् ।
‘‘नेयमार लयमा फर्किने प्रयासमा छन् । हामीलाई उनीजस्ता अनुभवी खेलाडी आवश्यक छ,’’ प्रशिक्षक एन्सोलोटीले भने, ‘‘विश्वकपमा नेयमारको अनुभव काम लाग्नेछ ।’’
नेयमारले ब्राजिलको लागि सर्वाधिक ७९ गोल गरेका छन् । साउदी क्लब अल हिलाल पुगेपछि नेयमार घाइते भएका थिए । त्यसयता उनी स्वभाविक लयमा छैनन् । उनी अहिले ब्राजिलकै क्लब सान्तोष पुगेका छन् ।
फिफा विश्वकप जुन १२ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुँदै छ । ब्राजिलको समूह ‘सी’मा मोरक्को, हाइटी र स्कटल्यान्ड छन् ।
ब्राजिलले जुन १३ मा मोरक्कोसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । ब्राजिलले जुन १९ मा हाइटी र जुन २४ मा स्टकल्यान्डको सामना गर्नेछ ।
ब्राजिलियन टोलीः
गोलकिपर : एलिसन, एडर्सन, वेभर्टन
डिफेन्डर : एलेक्स सान्द्रो, ब्रेमर, डानिलो, डोग्लस सान्तोष, गाब्रियल मागाल्हस, इबानेज, लियो पेरेइरा, मार्किन्होस, विस्ली
मिडफिल्डर : ब्रुनो गुइमारेज, क्यासिमिरो, डानिलो सन्तोष, फिबिन्हो, लुकास पाक्वेटा
फरवार्ड : एन्ड्रिक, गाब्रियल मार्टिनेली, इगोर थियागो, लुइस हेनरिक, म्याथ्युज कुन्हा, नेयमार, राफिन्हा, रायन, भिनिसियस जुनियर
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया