जेठ १८, २०८३ सोमबार June 1, 2026

रोयल च्यालेन्जर्स बैंगलुरुलाई लगातार दोस्रोपटक आईपीएलको उपाधि

जितसँगै आरसीबी आईपीएल इतिहासमा लगातार दुई सिजन उपाधि जित्ने तेस्रो टोली बन्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै आईपीएल २०२६ को उपाधि जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको फाइनलमा जित निकाल्दै आरसीबीले लगातार दोस्रोपटक उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएको थियो । गुजरातका लागि वासिङ्टन सुन्दरले अविजित ५० रन बनाए भने निशान्त सिन्धुले २० तथा जोस बटलरले १९ रन जोडे। आरसीबीका रसिख सलाम दारले ३ विकेट लिए भने जोश हेजलवुड र भुवनेश्वर कुमारले समान २–२ विकेट हात पारे।

जितको लागि १५६ रनको लक्ष्य पछ्याएको आरसीबीका लागि विराट कोहली नायक बने । उनले ४२ बलमा अविजित ७५ रनको शानदार इनिङ्स खेले। कोहलीले आफ्नो सबैभन्दा छिटो आईपीएल अर्धशतक पूरा गर्दै टोलीको जितको आधार तयार पारे। आरसीबीले १८ ओभरमै ५ विकेट गुमाएर १६१ रन बनाउँदै उपाधि आफ्नो नाम गर्यो।

फाइनलमा आरसीबीको बलिङ नै निर्णायक बन्यो। सुरुदेखि नै नियमित अन्तरालमा विकेट लिँदै गुजरातलाई ठूलो स्कोर बनाउनबाट रोकेको थियो । वासिङ्टन सुन्दरले अन्तिमतिर संघर्षपूर्ण अर्धशतक बनाए पनि टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याउन पर्याप्त हुन सकेन ।

यस जितसँगै आरसीबी आईपीएल इतिहासमा लगातार दुई सिजन उपाधि जित्ने तेस्रो टोली बनेको छ। यसअघि चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले मात्र यस्तो उपलब्धि हासिल गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया