जेठ २१, २०८३ बिहिबार June 4, 2026

रिलेमा गण्डकी प्रदेशको कीर्तिमान

गण्डकी टोलीले निर्धारित दूरी ३ मिनेट २७.९ सेकेन्डमा तय गर्दै कीर्तिमान रचे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गण्डकी प्रदेशले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र ४ गुणा ४ सय मिटर रिलेमा बिहीबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अतित थापा, आर्यन राना मगर, अंकित रानाभाट र सुदिप भण्डारी सम्मिलित गण्डकी टोलीले निर्धारित दूरी ३ मिनेट २७.९ सेकेन्डमा तय गर्दै कीर्तिमान रचेका हुन् । यसअघि ३ मिनेट ३०.९ सेकेन्डको कीर्तिमान बागमती प्रदेशका प्रवीण राना मगर, हस्त सुनार, निरज शाह र सन्तबहादुर दराइको नाममा थियो । उनीहरुले उक्त कीर्तिमान गत संस्करणमा बनाएका थिए ।

गत संस्करणमै बनेको कीर्तिमानलाई उछिन्ने क्रममा ३ मिनेट ३०.७ सेकेन्डको समय निकाल्दै बागमतीका सप्रेश अधिकारी, निरज शाह, हस्त सुनार र सचिन थिङ दोश्रो भए । सुदूरपश्चिम प्रदेशका सुरेश चौधरी, चित्रबहादुर केसी, विराज सुनार र बरुणदत्त राना तेश्रो बने । उक्त स्पर्धाको छात्रामा बागमती प्रदेशका सुरुची मोक्तान, अनिशा थारु, भगवती खड्का र सर्मिला विक पहिलो भए । टोलीले निर्धारित दूरी ४ मिनेट १८.१ सेकेन्डमा पूरा गरे । लुम्बिनी प्रदेशका अनुजा चौधरी, रोशनी कामी, करिश्मा खड्का र दुर्गा विक दोश्रो तथा सुदूरपश्चिमका उषा चौधरी, विजया चटौल, स्वस्तिका शाह र कमल जैशी तेश्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भइरहेको प्रतियोगिताको छात्र लङजम्पमा सुदूरपश्चिमका विक्रम नाथ पहिलो भए । उनले ६.६० मिटर जम्प गरे । बागमतीका दिपेन्द्र गिरी र विशाल गुरुङ तेश्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा ५.०८ मिटर जम्प गर्दै बागमतीकी अनिशा थारु पहिलो भइन् । सुदूरपश्चिमकी उषा चौधरी दोश्रो तथा लुम्बिनीकी गरिमा चौधरी तेश्रो भए ।

छात्र ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमका लोकेश ऐरीले स्वर्ण जिते । उनले ५६.३२ मिटर थ्रो गरे । लुम्बिनीका अमित थारुले रजत तथा कोशी प्रदेशका सोहेल मनसोलीले कांस्य जिते । त्यसै स्पर्धाको छात्रामा सुदूरपश्चिमकी पूजा साउद पहिलो भइन् । पूजाको उत्कृष्ट थ्रो ३५.४२ मिटर रह्यो । कोशीकी उमिता राई र कर्णाली प्रदेशकी सरिता शाह क्रमशः दोश्रो र तेश्रो भए ।

छात्र ८ सय मिटर दौडमा बागमतीका हस्त सुनार पहिलो भए । उनले २ मिनेट ००.२ सेकेन्ड समय निकाले । कर्णालीका सुमन सुनार दोश्रो तथा लुम्बिनीका सचिन कुर्मी तेश्रो भए । सो स्पर्धाको छात्रामा बागमतीकी भगवती खड्का २ मिनेट २२.१ सेकेन्ड समयसाथ पहिलो भइन् । सुदूरपश्चिमकी स्वस्तिका शाह दोश्रो तथा गण्डकी प्रदेशकी आस्मा अधिकारी तेश्रो बने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया