काठमाण्डौं । बिचौलियाको आरोप लागेका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, शंकर ग्रुपका साहिल अग्रवालसमेत ८१ जनाविरुद्ध २३ अर्ब रुपैयाँ बढी बिगो दाबीसहित बिहीबार तीन प्रकृतिका मुद्दा दायर गरिएको छ। भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा करिब २२ अर्ब बिगो, बैंकिङ कसुरमा चार जनाविरुद्ध करिब ४२ करोड रुपैयाँभन्दा बढी बिगो र धितोपत्रसम्बन्धी कसुरमा ८१ जनाविरुद्ध करिब एक अर्ब १४ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको हो। कसुर अनुसार फरकफरक मुद्दा फर दायर गरिएको हो।
इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा २२ अर्ब ३९ करोड रुपैयाँ बिगो दाबी गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले धितोपत्र बोर्ड र बिमा प्राधिकरणले दिएका अनुसन्धान प्रतिवेदनलाई आधार बनाएर उनीहरूविरुद्ध मुद्दा दायर गर्न विशेष सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको थियो। सोही आधारमा विशेष सरकारी वकिलको कार्यालयले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सम्पत्ति शुद्धीकरण ऐनअनुसार विभागले इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट, जगदम्बा होल्डिङ्सका अध्यक्ष अग्रवाल, उनकी पत्नी सुभी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, हिमालयन रिइस्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज मोर, सन्दीप चाचान, दीपक वंशल, भारतीय नागरिक उपेन्द्र हिरावत लगायतलाई आरोपी बनाएर मुद्दा चलाउन सिफारिस गरेको थियो।
विभागले ‘बिमा ऐन २०७९ को दफा १४० को कसुरसमेतका कसुरजन्य कार्य गरी आर्जन गरेको सम्पत्ति धितोपत्र बजार र अन्य क्षेत्रमा लगानी गरी कसुरबाट प्राप्त सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छुप्ने, स्वरूप, सही प्रकृति छुप्ने, बदल्ने समेतका सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ (१) को खण्ड (क), (ख) र (ग) ले निषेधित कार्यहरू गरीगराई सम्पत्ति शुद्धीकरणको कसुर गरेको’ आरोपमा मुद्दा चलाउन सिफारिस गरेको थियो।
यसैगरी सेयर बजारमा संगठित रूपमा चलखेल गरी करोडौं रुपैयाँ ठगी गरेको आरोपमा व्यवसायी, बिमा कम्पनीका पदाधिकारी र ब्रोकरसहित ८१ जनाविरुद्ध करिब एक करोड १४ लाख रुपैयाँ बढी बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत बिहीबार अभियोगपत्र दर्ता गरेको हो।
संगठित रूपमा कृत्रिम कारोबार गरी मूल्यमा चलखेल गरेको अभियोगमा सरकारी वकिलको कार्यालयले प्रतिवादीहरूलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४ (झुटो कारोबार), दफा ९५ (मूल्यमा उतारचढाव गराएको), दफा ९६ (धितोपत्र बजारलाई प्रभावित पारेको) र दफा ९८ (जालसाजीयुक्त कारोबार) को कसुरमा सजाय माग गरेको छ। बिगोका अतिरिक्त प्रतिवादीहरूलाई ऐनको दफा १०१ बमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ।
मुख्य प्रतिवादीमा इन्फिनिटी होल्डिङ्सका सञ्चालक अध्यक्ष दीपक भट्ट, हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष सुलभ अग्रवाल तथा भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नं. ५५) का कार्यकारी अध्यक्ष सन्दीप चाचन अग्रवाललगायत छन्। अधिकांश प्रतिवादी फरार छन्।
सेयर बजारमा चलखेलसम्बन्धी अभियोगमा दायर मुद्दामा प्रतिवादीहरूका रूपमा अधिक श्रेष्ठ, प्रधिना चाहाल, सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण, बद्री सिग्देल, मृगेन्द्रनाथ रिमाल, सुजल मल्ल, ऋषिराज मोर, मृदुला सरिया, रोहितकरण वैद्य, धिवुर पुरी, पवित्रलाल चुके, विनोद नरसिंह श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ छन्।
त्यसैगरी सुनिता महर्जन, प्रतापमान श्रेष्ठ, निकोलस पाण्डे, बलराम खत्री, मनीष तिमिल्सिना, नेहा अग्रवाल, अधिक सिंह, रामकुमार यादव, देवेन्द्र भिताल, कृतिका अग्रवाल, दिनेश सरिया, निरु चाहाल, नितेश मालपानी, गणेशराज पन्त, भानुभक्त पोखरेल, नरेशकुमार रोका, दीपेशकुमार श्रेष्ठ, सुलभ अग्रवाल, सचिन आचार्य, सौरभ दुर्गा, राजीवप्रसाद प्याकुरेल, प्रमिला केसीलाई पनि प्रतिवादी बनाइएको छ।
दिगम्बर झा, अधिक ढकाल, कपिलकुमार चाहाल, विवेककुमार शाह, मनोजकुमार लाल कर्ण, राजनप्रसाद अधिकारी, दिनु घिमिरे, नारायणकुमार अधिकारी, उत्सव प्रधानांग, सुमेरशमशेर ज.ब. राणा, सुवास पौडेल, सालिनी सांघाई, प्रतिक जोशी, उदिप श्रेष्ठ, जयप्रकाश जयसवाल, उदयनारायण भट्टराई, त्रिशिला झुनझुनवाला, प्रमोदप्रसाद भट्टराई, ज्योति अग्रवाल, नवराज मुग्भरी, चिरायु भण्डारीलाई पनि सोही कसुरमा प्रतिवादी बनाइएको छ।
त्यसैगरी ज्योतिप्रकाश पाण्डे, समीर खरेल, शेखर गोल्छा, साहिल अग्रवाल, रोहित गुप्ता, अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुवासकुमार झुनझुनवाला, उपासना पौडेल, मनीषकुमार, दीपककुमार श्रेष्ठ, शिशिर गैह्रे, सीताराम ढकाल, रितेश प्रधान, आकांक्षा गुप्ता, सुभाषबहादुर श्रेष्ठ, सन्दीप चाचन अग्रवाल, सुभी अग्रवाल, राजबहादुर शाह, सुधा कर्ण र राजीव ठाकुरलाई प्रतिवादी बनाइएको छ।
अभियोगपत्रअनुसार प्रतिवादीहरूले भृकुटी स्टक ब्रोकिङलाई केन्द्र बनाएर ‘सर्कुलर ट्रेडिङ’ मार्फत नेपाल पुनर्बिमा कम्पनी, एनएलजी इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफलगायत कम्पनीको सेयर मूल्य कृत्रिम रूपमा बढाएका थिए। यस क्रममा विभिन्न किमा कम्पनी तथा सार्वजनिक संस्थालाई १ अर्ब १४ करोड ८ लाख रुपैयाँभन्दा बढी नोक्सानी पुगेको दाबी अभियोगपत्रमा गरिएको छ।
अनुसन्धानका क्रममा प्रतिवादीहरूले विभिन्न कम्पनीको नाममा कारोबार गर्दा सुलभ अग्रवालसँग सम्बन्धित कार्यालयको इन्टरनेट प्रयोग गरेको प्रमाण फेला परेको जनाइएको छ। ब्रोकर कम्पनीले पर्याप्त धरौटीबिनै अर्बौं रुपैयाँ बराबरको सेयर खरिदका लागि सुविधा दिएको आरोप पनि लगाइएको छ।
त्यसैगरी बैंकिङ कसुरमा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टसहित चारजनाविरुद्ध करिब ४२ करोड रुपैयाँ बढी बिगो दाबी गर्दै मुद्दा दायर भएको छ। बैंकिङ कसुरमा विशेष सरकारी वकिलको कार्यालयले भट्ट, जगदम्बा स्टिलका अध्यक्ष साहिल अग्रवाल, शंकरलाल अग्रवाल, सुलभ अग्रवालविरुद्ध मुद्दा दायर गरेको हो। विशेष सरकारी वकिल कार्यालयले नेपाल राष्ट्र बैंक र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रतिवेदनका आधारमा उच्च अदालत पाटनमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत मुद्दा दायर गरेको हो।
अभियोगपत्रअनुसार प्रतिवादीहरू दीपक भट्ट, शुलभ अग्रवाल र साहिल अग्रवालले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ अन्तर्गतको कसुर गरेकाले ४२ करोड १४ लाख ८८ हजार बिगोसहित कैद जरिवाना माग गरिएको छ।
त्यसैगरी शंकरलाल अग्रवाललाई मुख्य प्रतिवादीहरूलाई कर्जा दुरुपयोगमा अप्रत्यक्ष सहयोग तथा मद्दत पुर्याएको देखिएको भन्दै बैंकिङ कसुर तथा सजाय ऐनको दफा १५(६) बमोजिम सजायको माग गरिएको छ।
अभियोगपत्रमा अपराधपीडित संरक्षण ऐन, २०७५ को दफा ४१(२) र (३) अनुसार प्रतिवादीहरूबाट पीडित राहत कोषमा क्षतिपूर्ति रकमसमेत भराइदिन माग गरिएको उल्लेख छ।यस्तै प्रतिवादी दीपक भट्ट र सुलभ अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत सम्पत्ति अनुसन्धान विभाग, पुल्चोक, ललितपुरमा छुट्टै अनुसन्धान भइरहेको जनाइएको छ। अनुसन्धानका लागि आवश्यक बयान तथा अन्य कानुनी प्रक्रिया पूरा गर्न अदालतसँग अनुरोध गरिएको छ।
अभियोगपत्रमा फरार रहेका साहिल अग्रवाल र शंकरलाल अग्रवाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७(२) बमोजिम पक्राउ पुर्जी जारी गर्न पनि अदालतसमक्ष माग गरिएको छ। सरकारी पक्षले सक्कल मिसिलसहित अभियोगपत्र दर्ता गर्दै प्रतिवादीहरूलाई कानुनबमोजिम सजाय तथा बिगो असुलउपर गराउन अदालतसँग माग गरेको छ।
अभियोगपत्र अनुसार जगदम्बा स्टिल्सले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, एभरेस्ट बैंक तथा कृषि विकास बैंकलगायत वित्तीय संस्थाबाट चालु पुँजी (वर्किङ क्यापिटल) तथा अल्पकालीन कर्जा लिएको थियो। उद्योग सञ्चालन, कच्चा पदार्थ खरिद तथा दैनिक व्यावसायिक प्रयोजनका लागि प्रदान गरिएको कर्जामध्ये करिब ५४ करोड ५० लाख रुपैयाँ दीपक भट्टको सिद्धार्थ बैंकस्थित व्यक्तिगत खातामा स्थानान्तरण गरिएको अनुसन्धानबाट खुलेको छ।
राष्ट्र बैंकको सुपरीवेक्षण प्रतिवेदनअनुसार उक्त रकम जग्गा खरिदका लागि बैनास्वरूप दिइएको भनिए पनि वास्तविक रूपमा हिमालयन रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयर खरिद तथा अन्य व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको देखिएको छ।
अनुसन्धानका क्रममा जगदम्बा स्टिल्सबाट दीपक भट्टको खातामा रकम पठाउने, त्यसपछि इन्फिनिटी होल्डिङ्सको खातामा सार्ने र अन्ततः सेयर लगानीमा प्रयोग गर्ने गरी रकमको तहकीकरण (लेयरिङ) गरिएको पाइएको छ।
बैंक तथा नियामक निकायलाई झुक्याउन जग्गा खरिदसम्बन्धी नक्कली बैना कागजात तयार गरिएको निष्कर्ष सिआइबीले निकालेको छ।
भट्टले भने आफ्नो बयानमा उक्त रकम जग्गा खरिदका लागि बैनास्वरूप लिएको र पछि जग्गा हस्तान्तरण हुन नसकेपछि साँवा–ब्याजसहित फिर्ता गरेको दाबी गरेका छन् तर सरकारी वकिलको कार्यालयले उक्त कारोबारलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ अन्तर्गत पर्ने ‘कर्जा दुरुपयोग’ को कसुर ठहर गर्दै मुद्दा दायर गरेको हो।
यी हुन् प्रतिवादी
सम्पत्ति शुद्धीकरण, धितोपत्र र बैंकिङसम्बन्धी फरकफरक कसुरमा व्यवसायीहरू दीपक भट्ट, शंकरलाल अग्रवाल, साहिल अग्रवाल, सुलभ अग्रवाल, सुभी अग्रवाल, शेखर गोल्छा, राजबहादुर शाह, उपासना पौडेल, रोहित गुप्ता, ऋषिराज मोर, सन्दीप चाचान, दीपक वंशल, अधिक श्रेष्ठ, प्रधिना चाहाल, सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण, बद्री सिग्देल, मृगेन्द्रनाथ रिमाल, सुजल मल्ल, मृदुला सरियालाई प्रतिवादी बनाइएको छ।
त्यस्तै रोहितकरण वैद्य, धिवुर पुरी, पवित्रलाल चुके, विनोदनरसिंह श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ, सुनिता महर्जन, प्रतापमान श्रेष्ठ, निकोलस पाण्डे, बलराम खत्री, मनीष तिमिल्सिना, नेहा अग्रवाल, अधिक सिंह, रामकुमार यादव, देवेन्द्र भिताल, कृतिका अग्रवाल, दिनेश सरिया, निरु चाहाल, नितेश मालपानी, गणेशराज पन्त, भानुभक्त पोखरेललाई पनि प्रतिवादी बनाइएको छ।
नरेशकुमार रोका, दीपेशकुमार श्रेष्ठ, सचिन आचार्य, सौरभ दुर्गा, राजीवप्रसाद प्याकुरेल, प्रमिला केसी, दिगम्बर झा, अधिक ढकाल, कपिलकुमार चाहाल, विवेककुमार शाह, मनोजकुमार लाल कर्ण, राजनप्रसाद अधिकारी, दिनु घिमिरे, नारायणकुमार अधिकारी, उत्सव प्रधानांग, सुमेरशमशेर ज.ब. राणा, सुवास पौडेल, सालिनी सांघाई, प्रतिक जोशी, उदिप श्रेष्ठलाई पनि प्रतिवादी कायम गरिएको छ।
यसैगरी जयप्रकाश जयसवाल, उदयनारायण भट्टराई, त्रिशिला झुनझुनवाला, प्रमोदप्रसाद भट्टराई, ज्योति अग्रवाल, नवराज मुग्भरी, चिरायु भण्डारी, ज्योतिप्रकाश पाण्डे, समीर खरेल, अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुवासकुमार झुनझुनवाला, दीपककुमार श्रेष्ठ, शिशिर गैह्रे, सीताराम ढकाल, रितेश प्रधान, आकांक्षा गुप्ता, सुभाषबहादुर श्रेष्ठ, सुधा कर्ण, राजीव ठाकुरलाई पनि प्रतिवादी बनाइएको छ। नागरिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया