काठमाडौँ, जेठ २९ गते । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतालई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘स्वास्थ्य बिमा पुनर्संरचनासम्बन्धी मार्गचित्र’ बुझाएको छ ।
मन्त्री मेहतालाई आज मन्त्रालयमा रास्वपा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख डा तोसिमा कार्कीले ‘स्वास्थ्य बिमा पुनर्संरचनासम्बन्धी मार्गचित्र’ बुझाउनुभएको हो । सो क्रममा मन्त्री मेहताले रास्वपा पार्टीले बाचापत्रमा उल्लेख गरेअनुसार स्वास्थ्य बिमा कार्यक्रमलाई पुनर्संरचना गरिने बताउनुभयो ।
विभागका प्रमुख डा कार्कीले रास्वपाको गत फागुनमा सम्पन्न निर्वाचनको बाचापत्रमा उल्लेख भएअनुसार स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गर्नका लागि मार्गचित्र बुझाएको बताउनुभयो ।
सरकारका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लले आगामी आर्थिक वर्षको बजेटमा पनि स्वास्थ्य बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचनाको गर्ने उल्लेख गर्नुभएको छ । विभागका प्रमुख डा कार्कीले बजेटमा समेटिएको स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गर्ने प्रतिबद्धतालाई कार्यान्वयनमा लैजानका लागि मन्त्री मेहतालाई वाचापत्र बुझाएको बताउनुभयो ।
उहाँले केही महत्त्वपूर्ण विषय स्वास्थ्य बिमा ऐनमै संशोधन गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य बिमा कार्यक्रमलाई सफल, सबल, सुदृढ र प्रभावकारी बनाउन रास्वपा पार्टी कटिबद्ध रहेको बताउनुभयो ।
पार्टीले स्वास्थ्य बिमाको यथास्थिति, समस्या, रुपान्तरण, पुनर्संरचना, स्रोत व्यवस्थापन सम्बन्धमा छलफल, अध्ययन र विभिन्न सरोकारवालासँगको छलफलपश्चात स्वास्थ्य बिमा पुनर्संरचनाका लागि मार्गचित्र बनाएको उहाँले बताउनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया