असार १, २०८३ सोमबार June 15, 2026

विश्वकप उद्घाटनमा जर्मनीको शानदार प्रदर्शन, कुरासाओ ७–१ ले पराजित

हाभर्ट्ज चम्किए, जर्मनीले विश्वकपको पहिलो खेलमै दियो शक्ति प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ।

ह्युस्टनस्थित बन्द रंगशालामा भएको खेलमा जर्मनीले पहिलो २१ औं मिनेटमा बराबरी गोल व्यहोरे पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै क्यारिबियन राष्ट्र कुरासाओलाई सहज रूपमा हरायो।

जर्मनीले विश्वकपको उद्घाटन खेल जितेको यो सन् २०१४ पछिकै पहिलो अवसर हो। त्यही वर्ष जर्मनीले विश्वकप उपाधि जितेको थियो।

खेलको पाँचौं मिनेटमै फेलिक्स नेमेचाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर निलो रंगमा सजिएका हजारौं समर्थकको साथ पाएको कुरासाओले ऐतिहासिक क्षण सिर्जना गर्‍यो।

लिभानो कोमेनेन्सियाको प्रहार डिफ्लेक्सन हुँदै जाली चुमेपछि खेल १–१ को बराबरीमा पुग्यो। उक्त गोल विश्वकपमा कुरासाओको इतिहासकै पहिलो गोल बनेको थियो, जसले समर्थकमाझ उत्साहको लहर पैदा गर्यो।

यद्यपि जर्मनीले छिट्टै खेलमा नियन्त्रण पुनः प्राप्त गर्‍यो। निको श्लोटरबेकले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए भने पहिलो हाफको अन्त्यतिर काइ हाभर्ट्जले पेनाल्टीमार्फत गोल गर्दै अन्तर ३–१ बनाए।

दोस्रो हाफ सुरु भएको केही समयमै जमाल मुसियालाले गोल थपे। त्यसपछि नाथानिएल ब्राउनको आकर्षक भली गोलले जर्मनीको दबदबा झन् बलियो बनायो।

वैकल्पिक खेलाडी डेनिज उन्डाभले पनि गोल गरे भने हाभर्ट्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीको जितलाई ७–१ को फराकिलो बनाए।

खेलमा जर्मनीका कप्तान तथा गोलरक्षक मानुएल नोयरले पनि नयाँ कीर्तिमान बनाए। ४० वर्षको उमेरमा मैदान उत्रिएका उनी विश्वकपमा खेल्ने सबैभन्दा बढी उमेरका जर्मन खेलाडी बने।

विश्वकप इतिहासमै सबैभन्दा सानो जनसंख्या भएको राष्ट्रका रूपमा छनोट भएको कुरासाओ पराजित भए पनि विश्वकपमा आफ्नो पहिलो गोल दर्ता गर्दै ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भयो।

समूह ‘ई’ मा रहेको जर्मनीले अब जुन २१ मा टोरन्टोमा आइभरी कोस्टसँग प्रतिस्पर्धा गर्नेछ भने कुरासाओले कान्सास सिटीमा इक्वेडरसँग खेल्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया