काठमाण्डौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को रोमाञ्चक उद्घाटन खेलमा जापान ले दुई पटक पछि परेको अवस्था उल्टाउँदै नेदरल्यान्ड्स सँग २–२ को बराबरी खेलेको छ। अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा सम्पन्न खेलमा जापानले अन्तिम समयमा गोल गर्दै महत्वपूर्ण एक अंक सुरक्षित गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेल दोस्रो हाफमा भने निकै रोमाञ्चक बन्यो। ५१औँ मिनेटमा कप्तान भर्जिल भान डाइकले रियान ग्राभेनबेर्चको उत्कृष्ट क्रसलाई हेडमार्फत जाली चुमाउँदै नेदरल्यान्ड्सलाई अग्रता दिलाए।
तर नेदरल्यान्ड्सको खुसी लामो समय टिकेन। ५७औँ मिनेटमा केटो नाकामुराले सशक्त प्रहारमार्फत गोल गर्दै जापानलाई १–१ को बराबरीमा फर्काए।
बराबरीपछि आक्रामक खेल प्रस्तुत गरेको नेदरल्यान्ड्सले ६४औँ मिनेटमा फेरि अग्रता बनायो। क्राइसेन्सियो समरभिलले सुन्दर कर्लिङ प्रहारमार्फत गोल गर्दै टोलीलाई २–१ को अवस्थामा पुर्याए।
खेल नेदरल्यान्ड्सकै पक्षमा जाने देखिएको बेला जापानले अन्तिम समयमा शानदार पुनरागमन गर्यो। ८८औँ मिनेटमा कर्नरबाट आएको बलमा दाइची कामदाले निर्णायक टच दिँदै गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो। त्यसपछि थप गोल नहुँदा दुवै टोलीले अंक बाँडे।
जापानका प्रशिक्षक हाजिमे मोरियासुले टोलीको संघर्षशील प्रदर्शनको प्रशंसा गरेका छन् भने नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कोमनले दुई पटकको अग्रता जोगाउन नसकेकोमा निराशा व्यक्त गरेका छन्।
यस बराबरीसँगै समूह ‘एफ’ मा दुवै टोलीले एक–एक अंक जोड्दै विश्वकप यात्राको सुरुआत गरेका छन्। अब नेदरल्यान्ड्सले स्विडेनसँग र जापानले ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया