काठमाडौँ, २ असार : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तई योङले शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल र गणतन्त्र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्ध तथा स्वास्थ्य क्षेत्रको द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य बिमा कार्यक्रम, स्वास्थ्य जनशक्तिको क्षमता विकास, स्वास्थ्य पूर्वाधार सुदृढीकरण, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य पर्यटन प्रवर्द्धन तथा जडीबुटी एवं औषधि उत्पादनका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।
मन्त्री मेहताले कोरियामा कार्यरत नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षा र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
सो अवसरमा राजदूत योङले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा गणतन्त्र कोरिया सरकार निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य अझ सुदृढ र परिणाममुखी बन्ने विश्वास व्यक्त गर्नुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया