काठमाण्डौं । फिफा विश्वकपमा एर्लिङ हालान्डले आफ्नो डेब्यू खेलमै दुई गोल र एक असिस्ट गरेपछि नर्वेले समूह आईको खेलमा इराकमाथि ४–१ को सहज जित निकालेको छ।
फ्रान्समा सन् १९९८ को विश्वकप खेलेपछि नर्वेको यो पहिलो विश्वकप उपस्थिति हो, जुन हालान्ड जन्मनुभन्दा दुई वर्ष अघिको कुरा हो। बोस्टन स्टेडियममा बुधबार बिहान भएको खेलको २९ औँ मिनेटमा हालान्डले डेभिड मोलर वोल्फको क्रसलाई बक्सभित्र प्रहार गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर ३९ औँ मिनेटमा इराकका आयमेन हुसेनले अमिर अल अम्मारीको क्रसमा उत्कृष्ट हेडर गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। यससँगै हुसेन विश्वकपमा गोल गर्ने दोस्रो इराकी खेलाडी बनेका छन्।
खेलको ४३ औँ मिनेटमा हालान्डले नर्वेलाई पुनः २–१ को अग्रता दिलाए। दोस्रो हाफको ७६ औँ मिनेटमा मार्टिन ओडेगार्डको कर्नर किकमा लियो। अनि ओस्टिगार्डले उत्कृष्ट हेडर गोल गर्दै नर्वेको अग्रता ३–१ बनाए। खेलको अन्तिम समयमा हालान्डको पासमा क्रिस्टियन थोर्स्टभेड्टले प्रहार गरेको बल इराकका हुसेनलाई लाग्दै आत्मघाती गोलमा परिणत भएपछि नर्वेले ४–१ को फराकिलो जित पक्का गर्यो। यो जितसँगै नर्वे समूह आईको शीर्ष स्थानमा उक्लिएको छ। खेलमा दुई गोल गरेका हालान्ड प्लेयर अफ द म्याच चुनिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया