असार ६, २०८३ शनिबार June 20, 2026

‘बर्ड फ्लु’ सङ्क्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

पशु सेवा विभागमा गरिएको नमूना परीक्षणबाट चिडियाखानाका जीवजन्तुमा बर्ड फ्लू पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ६ असारः सदर चिडियाखाना जावलाखेलमा ‘बर्ड फ्लु’ (एच फाइभ एन वान) को सङ्क्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साहमाथि  छानबिन हुने भएको छ ।

कोषको अध्यक्ष एवं कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा कोषले साहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएको छ । कोषले चिडियाखानामा फैलिएको बर्ड फ्लूका कारण पत्तालगायत प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजक्तमा तीन सदस्यसीय छानबिन समिति बनाएको हो ।

समितिको सदस्यहरूमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डा मधु क्षेत्री सदस्य छन् । दुवै जनालाई एक हप्ताभित्र छानबिन गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।

वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहमा संवेदनशील नभएको उल्लेख गर्दै कोषले प्रमुख साहलाई केन्द्रीय कार्यालयमा तानेको छ । साहलाई जिम्मेवारीबाट हटाइएकाले चिडियाखानाको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई दिइएको मन्त्रालयले जनाएको छ ।

पशु सेवा विभागमा गरिएको नमूना परीक्षणबाट चिडियाखानाका जीवजन्तुमा बर्ड फ्लू पुष्टि भएको थियो ।  चिडियाखानामा करिब १० दिनअघि बाटै पन्छी र जनावर मरेका भए पनि यसबारे प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई साहले कुनै जानकारी नै दिएका थिएनन् । चराचुरुङ्गीहरू मर्ने क्रम नरोकिएपछि परीक्षण गर्दा बकुल्ला, लाटोकोसेरो, गिद्ध तथा जनावरतर्फ नीरबिरालो र चरीबाघमा समेत बर्ड फ्लू फेला परेको थियो ।

रोग सङ्क्रमणका कारण वन्यजन्तुहरू मरेको धेरै दिन बितिसक्दा कुनै जानकारी नदिइएपछि साहलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिइएको छ । पछिल्ला समयमा चिडियाखानामा भएका शृङ्खलाबद्ध घटना र बर्ड फ्लूजस्तो संवेदनशील विषयमा बेलैमा केन्द्रलाई ‘रिपोर्टिङ’ नगरेका कारण कोषले साहमाथि विभागीय कारबाही गर्दै अनुसन्धान अघि बढाएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया