असार ६, २०८३ शनिबार June 20, 2026

आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने

प्रतियोगिताका खेलहरू जनकपुरधाम र वीरगञ्जमा सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आगामी आर्थिक वर्षदेखि जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको निर्माण कार्य शुरु हुने बताउनुभएको छ ।

मधेस खेलकुद परिषद्द्वारा जनकपुरधाममा आयोजित ‘नेकोस कप’ राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिताको शनिवार उद्घाटन गर्दै मुख्यमन्त्री यादवले यस्तो जानकारी दिनुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेस सरकार रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माणको विषयमा गम्भीर रहेको बताउनु भयो ।

उहाँकाअनुसार आगामी आर्थिक वर्षमा २ सय ५६ करोड रुपैयाँको लागतमा रंगशालाको निर्माण कार्य शुरु गरिनेछ । यस पटकको बजेटमा प्रदेश सरकारले क्रिकेट लगायत समग्र खेलकुद क्षेत्रको विकासका लागि विशेष योजनाहरू ल्याउन लागेको उहाँले स्पष्ट पार्नुभयो । साथै, प्रदेशका आठ वटै जिल्लामा रहेका खेलकुद मैदानहरूको स्तरोन्नति गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।

सोही अवसरमा मधेस खेलकुद परिषद्का सदस्यसचिव शिवजी यादवले प्रदेशका युवाहरूलाई खेलकुदमा जोड्दै यस क्षेत्रलाई व्यवसायीकरण गर्ने लक्ष्य रहेको बताउनु भयो । खेलकुद क्षेत्रको विकासले नै राज्यको समृद्धिको आधार तयार गर्ने उल्लेख गर्दै उहाँले मधेसलाई ‘खेलकुदमय प्रदेश’ बनाउन परिषद् प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

शनिवारदेखि शुरु भएको नेकोस कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा मधेस, कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र एपीएफ गरी कुल आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका खेलहरू जनकपुरधाम र वीरगञ्जमा सञ्चालन हुनेछन् भने फाइनल खेल वीरगञ्जमा आयोजना गरिनेछ । –न्युज एजेन्सी नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया