काठमाडौँ । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले विश्वकप २०२६ मा आफ्नो दोस्रो डबल (दुई गोल) पूरा गर्दै इराकविरुद्ध ३-० को सहज जित दिलाएका छन् ।
सोमबार भएको खेलमा खराब मौसमका कारण दोस्रो हाफ करिब दुई घण्टा ढिलो सुरु हुँदा प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा लामो मौसमजन्य अवरोध देखिएको थियो ।
एम्बाप्पेले गरेका दुई गोलबीच झण्डै तीन घण्टाको अन्तर रह्यो । पहिलो गोल खेलको १४औँ मिनेटमा गरे भने दोस्रो गोल मौसमका कारण भएको लामो अवरोधपछि सम्भव भयो ।
यससँगै एम्बाप्पेको विश्वकपमा कुल गोल संख्या १६ पुगेको छ, जसले उनलाई जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजसँग बराबरीमा पुर्याएको छ ।
यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अस्ट्रियाविरुद्ध २–० को जितमा दुई गोल गर्दै विश्वकप इतिहासमा १८ गोलसहित नयाँ कीर्तिमान बनाएका थिए । गोल्डेन बुटको दौडमा पनि एम्बाप्पे चार गोलसहित मेसीभन्दा एक गोलले मात्र पछाडि छन् ।
फ्रान्सका लागि अर्को गोल वर्तमान बालोन डी’ओर विजेता उस्मान डेम्बेलेले गरे। लगातार दोस्रो जितसँगै फ्रान्सले समूह ‘आई’ मा ६ अंक जोडेको छ र नकआउट चरणमा पुग्ने सम्भावना लगभग सुनिश्चित गरेको छ ।
खेलको सुरुआती चरणदेखि नै फ्रान्सले दबाब बनाएको थियो । १४औँ मिनेटमा माइकल ओलिसेको पासमा एम्बाप्पेले पेनाल्टी क्षेत्रको किनाराबाट शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए । त्यसपछि इराकले खेलमा फर्कने प्रयास गरे पनि बल नियन्त्रणमा फ्रान्स निकै हाबी रह्यो ।
मौसम अवरोधपछि इराकले गोलकिकमा गरेको ठूलो गल्तीको फाइदा उठाउँदै एम्बाप्पेले दोस्रो गोल थपे । त्यसको १२ मिनेटपछि डेम्बेलेले ओलिसेको उत्कृष्ट पास नियन्त्रण गर्दै फ्रान्सको तेस्रो गोल गरे ।
इराकका लागि अर्को झट्का टोलीका प्रमुख स्ट्राइकर आयमेन हुसेनको चोट रह्यो । प्रतियोगितामा इराकको एकमात्र गोल गरेका हुसेन २६औँ मिनेटमै चोटका कारण मैदान छाड्न बाध्य भए ।
खेलको सबैभन्दा चर्चित पक्ष भने मौसम बन्यो । पहिलो हाफ सकिनेबित्तिकै चट्याङसहितको वर्षा सुरु भएपछि दर्शकलाई स्टेडियमभित्र सुरक्षित स्थानमा जान निर्देशन दिइएको थियो ।
करिब १ घण्टा ४० मिनेटपछि खेलाडीहरू वार्मअपका लागि मैदान फर्किए पनि मैदानमा जमेको पानी हटाउन समय लाग्दा खेल पुनः सुरु हुन थप ढिलाइ भएको थियो ।
दुई खेलबाट अंकविहीन रहेको इराक अझै प्रतियोगिताबाट बाहिरिएको छैन । उत्कृष्ट तेस्रो स्थानका टोलीहरूलाई पनि नकआउट चरणमा अवसर दिइने भएकाले अन्तिम खेलमा सेनेगललाई हराउनुपर्ने दबाब इराकमाथि रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया