असार ९, २०८३ मंगलबार June 23, 2026

फिफा विश्वकप : अल्जेरियासँग हारेपछि बाहिरियो जोर्डन

अस्ट्रियासँग ३–१ गोलले पराजित भएको जोर्डनले अन्तिम खेल अर्जेन्टिनासँग प्रतिष्ठाका लागि खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ९ गते । नवप्रवेशी जोर्डन एक खेल अगावै फिफा विश्वकप–२०२६ को समूह चरणबाट बाहिरिएको छ ।

समूह ‘जे’ अन्तर्गत लेभिस स्टेडियममा मङ्गलबार बिहान भएको खेलमा अल्जेरियाले जोर्डनलाई २–१ गोलले हरायो । एसियाली टोली जोर्डनले सुरुवाती गोल गरे पनि हार टार्न सकेन ।

जोर्डनका लागि ३६औँ मिनेटमा निजार अल–रशदानले सुरुवाती अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफमा खेलमा फर्किएको अल्जेरियाले ६९औँ मिनेटमा बराबरी गोल फर्कायो । नाधिर बेनबोउलीले हेडगोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

त्यसपछि ८२औँ मिनेटमा अमिन गुइरीले उत्कृष्ट गोल गर्दै अल्जेरियाको नकआउट सम्भावना जिवित बनाउनुभयो । पहिलो जितसँगै दुई खेलबाट तीन अङ्क बनाएको अल्जेरिया समूहको तेस्रो स्थानमा छ ।

समान तीन अङ्क बनाएको अस्ट्रिया गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको साविक विजेता अर्जेन्टिना ६ अङ्क जोड्दै नकआउट चरणमा पुगिसकेको छ ।

सोमबार राति भएको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २–० गोलले पराजित गरेको थियो । अब अल्जेरिया र अस्ट्रियाबिचको विजेताले सोझै नकआउच चरणमा स्थान बनाउने छ । जोर्डन अङ्कबिहीन छ ।

अस्ट्रियाविरुद्ध हुने खेलमा जित निकाल्न सकेमा अल्जेरिया समूह ‘जे’ मा दोस्रो स्थान हासिल गर्दै अन्तिम ३२ मा पुग्ने छ । पहिलो खेलमा अस्ट्रियासँग ३–१ गोलले पराजित भएको जोर्डनले अन्तिम खेल अर्जेन्टिनासँग प्रतिष्ठाका लागि खेल्ने छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया