असार ११, २०८३ बिहिबार June 25, 2026

फिफा विश्वकप : कतारलाई हराउँदै बोस्निया नकआउटको संघारमा

अलायबेगोभिच चम्किए, बोस्नियाको नकआउट यात्रा बलियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । बोस्निया एण्ड हेर्जेगोभिना पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्ने संघारमा पुगेको छ ।

समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा कतारलाई ३–१ ले पराजित गरेपछि बोस्नियाले महत्वपूर्ण तीन अंक जोडेको हो ।

यस जितसँगै बोस्नियाको चार अंक पुगेको छ र उत्कृष्ट आठ तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्दै अन्तिम ३२ मा स्थान सुरक्षित गर्ने सम्भावना बलियो बनेको छ ।

खेलको सुरुआती चरणमै युवा खेलाडी अलायबेगोभिचले दुई प्रतिद्वन्द्वी खेलाडीलाई छलाउँदै पेनाल्टी क्षेत्रबाहिरबाट आकर्षक प्रहार गर्दै गोल गरे ।

कतारी गोलकिपर अबुनादा उनको शक्तिशाली प्रहार रोक्न असमर्थ रहे ।

आफ्नो एक सय पचासौँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका एडिन जेकोले त्यसपछि खेलमा प्रभाव बढाउँदै लगे । उनले दोस्रो गोलको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरे । उनको प्रहार सुल्तान अलब्राके हुँदै गोलकिपर अबुनादामा लागेर जाली चुम्न पुगेको थियो ।

लयमा देखिएका जेकोले केही मिनेटपछि अर्को अवसर सिर्जना गरे । उनले गोलकिपरलाई बिट गरिसके पनि उनको प्रहार पोस्टमा ठोक्किएर फर्किएको थियो ।

गर्मीका कारण बोस्नियाको खेल केही सुस्त बन्दै जाँदा कतारका अनुभवी कप्तान अलहायडोसले प्रशिक्षक जुलेन लोपेटेगुईले देखाएको विश्वासको सम्मान गर्दै ४२औँ मिनेटमा गोल फर्काए ।

पहिलो हाफको अतिरिक्त समयमा पेड्रो मिगेलको प्रहार पोस्टमा लागेर फर्किएपछि बोस्निया अग्रता जोगाउन सफल भयो ।

कतारका कप्तान अलहायडोसका लागि भने यो विश्वकप तथा सम्भवतः उनको गौरवपूर्ण अन्तर्राष्ट्रिय यात्राको अन्त्य पीडादायी बन्यो । उनी ५५औँ मिनेटमा घाइते भएपछि आँसु झार्दै मैदानबाट बाहिरिएका थिए ।

दोस्रो हाफमा अवसरहरू निकै कम बने । तर दायाँ विङबाट अघि बढेका एस्मिर बाज्राक्तारेभिचले अलायबेगोभिचकै शैलीमा गोल गर्ने प्रयास गरेका थिए । यद्यपि गोलकिपर अबुनादाले उनको प्रहार बचाउँदै कर्नरमा परिणत गरे ।

खेलको अन्त्यतिर बोस्नियाको दबाबले सफलता पायो । माह्मिकले नजिकैबाट बललाई जाली चुमाउँदै टोलीको तेस्रो गोल गरे ।

गोल गरेपछि उनले खुसीयालीमा जर्सी फुकालेका थिए । त्यसका लागि पहेँलो कार्ड पाए पनि २१ वर्षीय खेलाडीले त्यसको कुनै पर्वाह नगरी टोलीसँग विजय उत्सव मनाएका थिए ।

यो जितसँगै बोस्निया र हेर्जेगोभिनाले पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना अत्यन्त बलियो बनाएको छ भने कतारको यात्रा समूह चरणमै टुङ्गिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया