हुम्ला, असार १३ गते । हुम्लाको जिल्ला अस्पतालमा दक्ष चिकित्सकसहितको विशेषज्ञ टिमको व्यवस्था भएपछि जटिल खालका बिरामीको शल्यक्रिया सफलतापूर्वक भइरहेको छ ।
सीमित स्रोतसाधन र दुर्गम भौगोलिक अवस्थाबिच पनि स्वास्थ्यसेवा कार्यालय हुम्लाको जिल्ला अस्पतालमा एकपछि अर्को जटिल प्रकारका शल्यक्रिया सफलतापूर्वक गर्न सकिएको कार्यालय प्रमुख एवं विशेषज्ञ चिकित्सक डा. उमाकान्त तिवारीले बताउनुभयो । पछिल्लो समययता जुम्ल्याहा शिशु रहेको गर्भावस्थाजन्य जटिल अवस्थाको बिरामीको सफल शल्यक्रिया गरिएको बताउँदै डा. तिवारीले भन्नुभयो, “आमाको उच्च रक्तचाप अनि प्रसूतिको दोस्रो चरण, शिशुको उल्टो प्रस्तुति भएको जोखिमपूर्ण अवस्थामा पनि जिल्लामै हामीले शल्यक्रिया गर्न सफल भयौँ ।” जिल्लामा विशेषज्ञ चिकित्सकको टिम भएकाले केही जटिल अवस्थाका केस पनि सफलतापूर्वक नै सम्पन्न भएको पनि डा. तिवारीले बताउनुभयो ।
भौगोलिक विकटता, सीमित पूर्वाधार तथा विभिन्न चुनौतीका बाबजुद जिल्ला अस्पतालले सहज स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ भने स्वास्थ्यसेवा सुधारमा महत्वपूर्ण योगदान पु¥याएको छ । अस्पतालले जटिलखालका शल्यक्रिया, दुर्घटनाका घाइतेको उपचार तथा कैलाश–मानसरोवर तीर्थयात्राका क्रममा बिरामी परेका स्वदेशी तथा विदेशी यात्रुलाई प्रभावकारी उपचारसेवा प्रदान गर्दे आएको छ । जिल्लामा यत्तिको जनशक्ति नभएको भए कतिपय जटिल अवस्थाका सर्वसाधारणले मृत्युकै मुखमा पुग्नुपर्ने बाध्यता थियो भने लाखौँ रुपियाँ खर्च गरेर जिल्लाबाहिर उपचार गर्नुपर्ने अवस्था थियो । दुर्गम जिल्लामा सहज स्वास्थ्यसेवा पाउँदा स्थानीयवासीले भने उल्लेखनीय उपलब्धिका रूपमा लिएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया