असार १४, २०८३ आइतबार June 28, 2026

उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू

बिमासम्बन्धी सेवा लिन आउने बिरामीको सङ्ख्या सरकारी अस्पतालमा उल्लेख्य रूपमा बढे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लुम्बिनी, १४ असारः लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक कक्षमा ‘ट्र्याज प्रणाली’ लागू गरेको छ । यस प्रणालीले गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउने उद्देश्य राखेको अस्पताल प्रशासनले जनाएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विष्णुप्रसाद गौतमका अनुसार हाल अस्पतालमा दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म सेवाग्राही उपचार तथा स्वास्थ्य परामर्शका लागि आउने गरेका छन् । सीमित जनशक्ति र स्रोतसाधनका बीच गम्भीर बिरामीलाई समयमा उपचार उपलब्ध गराउन ट्र्याज प्रणाली प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सरकारले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत निजी स्वास्थ्य संस्थामा उक्त सेवा बन्द गरेपछि बिमासम्बन्धी सेवा लिन आउने बिरामीको सङ्ख्या सरकारी अस्पतालमा उल्लेख्य रूपमा बढेको छ । निजी अस्पतालबाट रिफर भई आउने तथा सिधैँ बिमामार्फत सेवा लिन आउने सेवाग्राही थपिँदा प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका मेसु डा गौतमका अनुसार ट्र्याज प्रणालीमा अस्पताल पुगेका बिरामीलाई पालोका आधारमा नभई स्वास्थ्य अवस्थाको गम्भीरताका आधारमा वर्गीकरण गरिन्छ । अत्यन्त गम्भीर अवस्थाका बिरामीलाई रातो सङ्केतमा राखी तत्काल उपचार सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, मध्यम तथा गम्भीर अवस्थाका बिरामीलाई पहेँलो सङ्केतमा र सामान्य ज्वरो, हल्का चोटपटक वा केही समय पर्खंदा ज्यानको जोखिम नहुने बिरामीलाई हरियो सङ्केतमा वर्गीकरण गरिने उहाँले बताउनुभयो ।

अस्पतालका अनुसार यस प्रणालीले आकस्मिक कक्षको व्यवस्थापन सहज बनाउनाका साथै गम्भीर बिरामीले समयमा उपचार पाउने सुनिश्चितता गर्नेछ । साथै उपचारको पालो कुर्दाकुर्दै ज्यान गुमाउनुपर्ने जोखिम पनि न्यून हुने अपेक्षा गरिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम उपयोग गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र गुनासोरहित बनाउन आवश्यक सबै प्रयास भइरहेको बताउनुभयो । उहाँले उपलब्ध स्रोतसाधन र बढ्दो सेवाग्राहीको चापबीच ठूलो अन्तर रहेकाले सेवा व्यवस्थापन दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
२०८३ असार १४, आइतबार
इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प
२०८३ असार १४, आइतबार
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक सोमबार बस्ने
२०८३ असार १४, आइतबार
असार १६ र १७ गते भारी वर्षाको सम्भावना
२०८३ असार १४, आइतबार
सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
२०८३ असार १४, आइतबार
रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्वः वर्षमान पुन
२०८३ असार १४, आइतबार
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउने दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
२०८३ असार १४, आइतबार