असार १६, २०८३ मंगलबार June 30, 2026

विश्वकप : पेनाल्टी सुटआउटमा जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम १६ मा

चार पटकको विश्व विजेता जर्मनी अन्तिम ३२ बाटै आउट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। फिफा विश्वकप २०२६ मा चार पटकको विश्व विजेता जर्मनीको यात्रा अप्रत्याशित रूपमा अन्त्य भएको छ। अन्तिम ३२ को चरणमा पाराग्वेसँग पराजित हुँदै जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो।

भर्खरै सम्पन्न खेलमा जर्मनी पहिलो हाफमै १–० ले पछि परेको थियो। पाराग्वेका जुलियो एन्सिसोले ४२औँ मिनेटमा हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा चार पटकका विश्व विजेताको प्रदर्शन निकै फितलो देखिएको थियो।

दोस्रो हाफ सुरु भएपछि जर्मनीले खेलमा फर्कने प्रयास गर्‍यो। ५३औँ मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि जर्मनीले कर्नरबाट अर्को गोल गरे पनि भीएआर समीक्षा पछि पाराग्वेका गोलकिपरमाथि फाउल भएको ठहर गर्दै गोल रद्द गरिएको थियो।

निर्धारित समय र अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। सुटआउटमा जर्मनीका लागि पहिलो पेनाल्टी हानेका हाभर्ट्जले नै अवसर गुमाए।

जर्मनीले कुल तीन पेनाल्टी खेर फालेको थियो भने पाराग्वेले दुई पेनाल्टी चुकाए पनि अन्ततः ४–३ ले जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो।

प्रतियोगिता सुरु हुँदा जर्मनी फिफा वरीयतामा १०औँ स्थानमा थियो भने पाराग्वे ४१औँ स्थानमा रहेको थियो। त्यसैले यो नतिजालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो उलटफेरमध्ये एक मानिएको छ।

विशेषगरी नकआउट चरणमा जर्मनीको यो हारलाई विश्वकपकै सबैभन्दा ठूलो आश्चर्यजनक नतिजामध्ये एकका रूपमा हेरिएको छ।

यसअघि जर्मनीको सबैभन्दा चर्चित अप्रत्याशित हार सन् १९९४ को विश्वकपमा आएको थियो, जहाँ ह्रिस्टो स्टोइचकोभ प्रेरित बुल्गेरियाले क्वाटरफाइनलमा साविक विजेता जर्मनीलाई प्रतियोगिताबाट बाहिर निकालेको थियो। त्यस टोलीका प्रमुख खेलाडी स्टोइचकोभ पछि सन् १९९४ को बालोन डी’ओर विजेता बनेका थिए।

जर्मनी विश्वकप इतिहासमा पहिलो पटक पेनाल्टी सुटआउटमा पराजित भएको हो। साथै सन् २०१४ मा विश्वकप जितेपछि जर्मनी लगातार अन्तिम चरणहरूमा संघर्षरत रहँदै आएको छ, र यस पटक पनि अन्तिम १६ सम्म पुग्न असफल भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहसमा वामपन्थी एकता : सत्ता र शक्ति गुमेपछि ‘एकताको अलाप’
२०८३ असार १६, मंगलबार
गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर/बङ्गुर मरे
२०८३ असार १६, मंगलबार
नतिजा प्रकाशनमा छलाङ, परीक्षाको विश्वसनीयतामा प्रश्न
२०८३ असार १६, मंगलबार
विश्वकप : पेनाल्टी सुटआउटमा जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम १६ मा
२०८३ असार १६, मंगलबार
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
२०८३ असार १६, मंगलबार
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
२०८३ असार १६, मंगलबार
जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै
२०८३ असार १६, मंगलबार