असार १७, २०८३ बुधबार July 1, 2026

गर्मीले बढ्यो ‘मही’ को माग

देशभरका करिब ५० उद्योगले दैनिक एक लाख लिटर हाराहारीमा मही उत्पादन तथा बिक्री गरिरहेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार १७ गते । गर्मी बढेसँगै बजारमा चिसो पेय पदार्थको माग बढ्छ । तर पछिल्ला वर्षहरूमा नेपालमा एउटा पुरानो पेय नयाँ पहिचानका साथ फर्किएको छ–

‘मही’ । कुनै समय गाउँघरका किसानको दैनिक जीवनसँग जोडिएको मही अहिले स्वास्थ्यप्रेमी, पोषणविद्, चिकित्सक र उद्यमीहरूको रुचिको विषय बनेको छ ।

महीको लोकप्रियता केवल स्वादका कारण बढेको होइन । यसको पछाडि नेपाली समाजको इतिहास, संस्कृति, स्वास्थ्य चेतना र बदलिँदो उपभोक्ता व्यवहार जोडिएको छ । कृत्रिम पेय पदार्थप्रति बढ्दो सावधानी र प्राकृतिक खानाप्रतिको आकर्षणले महीलाई नयाँ पुस्तामाझ पनि स्थापित गरिरहेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो फेसबुक पेजमा डिडिसीका उत्पादनलाई प्रोत्साहन गरेपछि मही युवा पुस्तामाझ पनि लोकप्रिय बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा हालै सम्पन्न भएको राष्ट्रिय महाधिवेशनमा हजारौँ लिटर मही बिक्री भएको थियो । मञ्चमा बसेर अतिथिहरूले मोही खाएको तस्बिर सामाजिक सञ्जालमा निकै लोकप्रिय बनेका थिए ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल महीको बढ्दो लोकप्रियतालाई उपभोक्ताको स्वास्थ्य सचेतनासँग जोड्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “केही वर्षअघिसम्म मही गाउँघरमा सीमित थियो । अहिले उपभोक्ता प्राकृतिक र स्वास्थ्यवर्धक पेयतर्फ आकर्षित भइरहेका छन् । त्यसैले महीको माग उल्लेख्य रूपमा बढेको छ ।”

नेपाली संस्कृतिमा दुध, दही र घिउ जस्तै महीको पनि विशेष महìव छ । शुभकार्यमा दही खुवाएर बिदाइ गर्ने, पञ्चामृतमा दुध, दही प्रयोग गर्ने र यात्रामा निस्कँदा दही खाने परम्पराले दुग्धजन्य पदार्थलाई केवल खाद्य वस्तु नभई संस्कृतिको हिस्सा बनाएको छ ।

दुग्ध अभियन्ता शम्भुप्रसाद गुरागाईंका अनुसार महीको महìव धार्मिक ग्रन्थहरूमा समेत उल्लेख छ । “योग रत्नाकर जस्ता ग्रन्थमा महीलाई अमृतसरह वर्णन गरिएको पाइन्छ । यसले प्राचीन समाजमा महीलाई कति महत्व दिइन्थ्यो भन्ने देखाउँछ,” उहाँ भन्नुहुन्छ ।

महीको इतिहास कृषि सभ्यतासँग जोडिएको छ । गाई वा भैँसीको दुधबाट दही जमाएर घिउ निकालिसकेपछि बाँकी रहने तरल पदार्थ मही हो । खेतबारीमा घाममा काम गर्ने किसानका लागि यो तिर्खा मेटाउने मात्र होइन, ऊर्जा र स्फूर्ति दिने पेय पनि थियो । आज पनि धेरै ग्रामीण क्षेत्रमा रोपाइँ र खेतको काममा मही अनिवार्य जस्तै मानिन्छ ।

स्वास्थ्यका दृष्टिले पनि मही निकै उपयोगी मानिन्छ । आयुर्वेद चिकित्सक डा. मनोजकुमार चौधारीका अनुसार महीमा क्याल्सियम, प्रोटिन, एमिनो एसिड, भिटामिन तथा प्रोबायोटिक तत्व पाइन्छ । “महीमा रहेका लाभदायक जीवाणुले पाचन प्रणालीलाई सक्रिय राख्न मद्दत गर्छ । यसले आन्द्राको स्वास्थ्य सुधार गर्नुका साथै शरीरलाई आवश्यक पोषण पनि दिन्छ,” उहाँ बताउनुहुन्छ ।

डा. चौधरीले दहीबाट मही बनाउने क्रममा विकसित हुने प्रोबायोटिक जीवाणु नै यसको मुख्य शक्ति भएको बताउनुभयो । “महीले पाचन प्रक्रिया चुस्त राख्छ । शरीरमा पानीको कमी हुन दिँदैन र हड्डीको विकासका लागि आवश्यक क्याल्सियम उपलब्ध गराउँछ ।” दुध पचाउन नसक्ने व्यक्तिका लागि पनि मही राम्रो विकल्प हुन सक्ने उहाँले बताउनुभभयो । दही र महीले आन्द्रामा रहेका उपयोगी जीवाणुको सन्तुलन कायम राख्न सहयोग गर्ने उहाँले बताउनुभयो । “दुध नपच्ने वा एन्टिबायोटिक सेवनपछि पखाला लाग्ने व्यक्तिका लागि दही र मही उपयोगी हुन सक्छ ।”

महीको उपयोग स्वास्थ्यमा मात्र सीमित छैन । घरेलु सौन्दर्य उपचारमा पनि यसको प्रयोग हुँदै आएको छ । दही वा महीमा बेसन र बेसार मिसाएर अनुहारमा लगाउने तथा कपालको हेरचाहमा प्रयोग गर्ने परम्परा अझै धेरै घरमा कायम छ । पछिल्लो समय महीले व्यावसायिक रूप पनि लिन थालेको छ ।

दुग्ध विकास संस्थानको लोकप्रिय उत्पादनमा मही पर्छ । विभिन्न डेरी उद्योगले प्याकेटबन्द मही बजारमा ल्याइरहेका छन् । नेपाल डेरी एसोसिएसनका अनुसार देशभरका करिब ५० उद्योगले दैनिक एक लाख लिटर हाराहारीमा मही उत्पादन तथा बिक्री गरिरहेका छन् । तर महीको बढ्दो बजारसँगै गुणस्तरको चुनौती पनि छ । अध्यक्ष दाहाल भन्नुहुन्छ, “महीको सबैभन्दा ठुलो शक्ति यसको प्राकृतिकपन हो । कृत्रिम स्वाद वा अत्यधिक चिनी मिसाएर यसको मौलिकता बिगार्नु हुँदैन ।” एक समय किसानको खेतमा श्रमपछि तिर्खा मेटाउने पेयका रूपमा चिनिएको मही आज आधुनिक स्वास्थ्य जीवनशैलीको प्रतीक बन्दै गएको छ । संस्कृति, विज्ञान, पोषण र व्यवसायलाई एउटै गिलासमा समेट्न सफल मोही वास्तवमै नेपाली जीवनको अमूल्य सम्पत्ति हो । यसको सही प्रवर्धन गर्न सकिए मही केवल पेय पदार्थ होइन, नेपालको पहिचान बन्न सक्छ ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया