असार १५, २०८३ सोमबार June 29, 2026

कांग्रेसमा क्रियाशील सदस्यता झन् पेचिलो, देउवा पक्ष असन्तुष्टै

सभापति थापाले क्रियाशील सदस्यता अद्यावधिक अभियान अपेक्षाभन्दा राम्रो भएको दाबी गरेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : कांग्रेस सभापति गगन थापाले ‘क्रियाशील सदस्यता नवीकरण नगर्नेलाई पार्टीले नचिन्ने’ घोषणा गरे– असार ९ गते। पार्टीमा क्रियाशील सदस्यता नवीकरणको विवाद चर्किरहेका बेला सभापति थापाले झापाबाट गरेको यस्तो घोषणाले कांग्रेसमा थप द्वन्द्व निम्त्याएको छ। सभापति थापाको उक्त घोषणापछि पूर्वसंस्थापन शेरबहादुर देउवा पक्षीय नेताहरू झन् असन्तुष्ट बनेका छन्।

पार्टीको १५औं महाधिवेशनको संघारमा कांग्रेसभित्र क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया झन्–झन् पेचिलो बन्दै गएको छ। सदस्यता अद्यावधिक केवल प्रशासनिक कार्य मात्र नभई पार्टीको भावी नेतृत्वको शक्ति सन्तुलन निर्धारण गर्ने प्रमुख माध्यम पनि हो। १४ औं महाधिवेशनमा ८ लाख ६६ हजार २०२ क्रियाशील सदस्य थिए।

पछिल्लो डिजिटल अद्यावधिक अभियानमा ७ लाख ८२ हजार २ सय ९ सदस्य मात्र योग्य देखिएको कांग्रेसले जनाएको छ। तीमध्ये हालसम्म ६ लाख ८७ हजार ९३१ सदस्यको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भइसकेको छ। तर, करिब १ लाख ७८ हजार सदस्य अझै अद्यावधिक प्रक्रिया बाहिर छन्।

कांग्रेसमा १४औं महाधिवेशनका बेला ८ लाख ६६ हजार २ सय २ क्रियाशील सदस्य थिए। तर, तीमध्ये ६ लाख ८७ हजार ९ सय ३१ सदस्यको मात्र डिजिटल विवरण राखिएको छ । करिब १ लाख ७८ हजार सदस्य अझै अद्यावधिक प्रक्रियाबाहिर छन् । जसमध्ये निर्वतमान सभापति देउवा र वरिष्ठ नेता डा. शेखर कोइराला निकट मानिने जिल्लाका सदस्यहरूको संख्या ठूलो छ।
सभापति थापाले ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक भइसकेको र नवीकरण नगर्ने पार्टीका सदस्य नरहने भनेर घोषणा गरेपछि थप विवाद चर्केको छ। देउवा पक्षीय नेता जितजंग बस्नेतले सदस्यता विवाद पूर्णरूपमा समाधान गर्न हालको नेतृत्वले नसकेको दाबी गरे। ‘सदस्यता नवीकरणको विषयमा हामी संलग्न छैनौं,’ बस्नेतले भने, ‘यो पार्टी हितको पक्षमा छैन।’
क्रियाशील सदस्यता व्यवस्थापन केन्द्रीय समितिले डिजिटल प्रमाणीकरण प्रणाली लागू गरेपछि दोहोरो सदस्यता र अनियमितता नियन्त्रण हुने पार्टीको दाबी छ। पार्टीको विधानअनुसार विभिन्न पदको जिम्मेवारी लिन पनि क्रियाशील सदस्य हुनु अनिवार्य छ।

महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन केन्द्रीय समितिले पहिलोपटक अनिवार्य डिजिटल प्रमाणीकरण प्रणाली लागू गरेको हो। यसमा प्रत्येक सदस्यले आफ्नो मोबाइल नम्बर, व्यक्तिगत विवरण र वडास्तरबाट प्रमाणीकरण गराउनुपर्ने व्यवस्था छ। यो प्रणालीले विगतमा हुने दोहोरो सदस्यता, मृत व्यक्तिको नाममा सदस्यता, बसाइँसराइ भइसकेका व्यक्तिको विवरण तथा कागजी प्रक्रियामा हुने अनियमितता नियन्त्रण गर्ने पार्टीको दाबी छ।

तर, यो नयाँ प्रणालीले पार्टीभित्र विवाद निम्त्याएको छ। देउवा कोइराला पक्षले पर्याप्त सहमति नगरी प्रक्रिया अघि बढाइएको, धेरै जिल्लामा प्राविधिक समस्या देखिएको तथा हजारौं पुराना सदस्यहरू छुटेको आरोप लगाएका छन् उनीहरूले सबै पक्षको सहमतिमा मात्र अन्तिम सदस्यता सूची सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

संयोजक पौडेलले ७ लाख ८२ हजार २०९ सदस्य अद्यावधिक गर्नका लागि योग्य थिए। यसमध्ये ५ लाख ३८ हजार ६ सय २२ जनाले वडामार्फत क्रियाशील अद्यावधिक गराएर एनसी आईडी प्राप्त गरिसकेको बताए।
उनले केही हिमाली जिल्ला र विदेशस्थित जनसम्पर्क समिति अन्तर्गतका क्रियाशील सदस्यहरूको अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने बताए । त्यस्तै, महामन्त्री पौडेलले अद्यावधिक हुन बाँकी प्रक्रिया सम्पन्न भएपछि पार्टीका क्रियाशील सदस्य संख्या १० लाख नाघ्ने दाबी गरे।

उनका अनुसार वडा तहबाट अद्यावधिक भएका सदस्यबाहेक वडाबाहिर रहेका १ लाख ४९ हजार ३ सय ९ जनाले स्वयंले अद्यावधिकका लागि आवेदन दिएका छन्। उनीहरूले अझै एनसीआईडी प्राप्त गर्न बाँकी रहेकाले १५औं महाधिवेशनमा सहभागी हुन एनसीआईडी अनिवार्य हुने उनले स्पष्ट पारे। यद्यपि आवेदन दिएका ती सदस्य स्वतः अद्यावधिक हुने पौडेलले बताए। कारबाहीमा परेका सदस्यबाहेक अरू कसैको अद्यावधिक रोक्ने अधिकार केन्द्रीय सभापति, वडा सभापति वा महामन्त्री कसैसँग पनि नरहेको पनि स्पष्ट पारे।

सभापति थापाले क्रियाशील सदस्यता अद्यावधिक अभियान अपेक्षाभन्दा राम्रो भएको दाबी गरेका छन्। ‘५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक भइसकेको छ,’ थापाले भने, ‘नवीकरण नगर्नेहरू पार्टीका सदस्यका रूपमा रहनुहुन्न।

यो प्रक्रियाले पार्टीलाई आधुनिक र पारदर्शी बनाउँछ। सदस्यता नवीकरण रोक्न खोज्नेहरूलाई पदबाट हटाइने छ।’ नेता डा. शेखर कोइराला पक्षले भने डिजिटल अद्यावधिकको सट्टा पुरानो प्रणालीलाई निरन्तरता दिनुपर्ने वा नयाँ प्रणालीलाई थप व्यवस्थित गरेर मात्र अघि बढ्नुपर्नेमा जोड दिइरहेका छन्। कोइरालाले पार्टीभित्र निरंकुशता हावी भएको आरोप लगाइसकेका छन्।

केही दिनअघि कोशी प्रदेशस्तरीय एकता भेलालाई सम्बोधन गर्दै कोइरालाले भनेका थिए, ‘कांग्रेसभित्र पनि आन्तरिक लोकतन्त्रको अभाव र निरंकुशतावादी चरित्र बढ्दै छ। बिनाकारण र स्पष्ट स्पष्टीकरण बिना नै विभिन्न जिल्लाका वडा सभापतिहरूलाई पदबाट हटाइको छ। सदस्यता अद्यावधिक गर्न नमानेको बहानामा कारबाही गरिनु निरंकुशताको प्रस्थानविन्दु हो।’

उनले अगाडि भने, ‘पार्टीभित्र र प्रदेश तहको राजनीतिमा अहिले त्रासको वातावरण सिर्जना गरिएको छ। यस्तो डर, धम्की र त्रासका बाबजुद मनको भय हटाएर कोशी प्रदेशका १ कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले सभापति थापाले झापामा दिएको अभिव्यक्तिप्रति असहमति जनाउँदै पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाए। शाहीले भने, ‘गगन थापाजीले क्रियाशील सदस्यता पहिला नै नवीकरण गरिसकेका तर अहिले पुनः दबाबमा अद्यावधिक नगरेका हजारांै साथी कोही पनि कांग्रेस पार्टीको सदस्य नरहेको घोषणा गर्नु भएछ। अद्यावधिक नगरेका साथीहरूको नाम अब वडा अधिवेशनका क्रममा आउँदैन, सिस्टमले नै चिन्दैन। त्यसैले अद्यावधिक नभएका सदस्यको नाम वडा अधिवेशनदेखि माथिल्लो तहका निर्वाचन प्रक्रियामा समावेश नहुने र १५औं महाधिवेशनमा भाग लिन नपाउने प्रतिबन्ध लगाउनुभएछ।’

पार्टीमा हालिमुहाली र चुरिफुरी भएकाभन्दा अझै बढी कांग्रेसमा योगदान गरेकालाई सदस्यताबाट बञ्चित गर्ने प्रयास भइरहेको शाहीले आरोप लगाए। ‘लामो समय आफ्नो ऊर्जा र जीवन समर्पण गरेका, रगत र पसिना बगाएका तमाम पार्टीका नेता कार्यकर्ताहरूको सदस्यता खारेज गर्नु भनेको लोकतान्त्रिक पार्टीमा फरक बिचारलाई निषेध र लोकतान्त्रिक मूल्य मान्यताको उपहास हो,’ शाहीले भने, ‘अहिले पार्टीमा देखिएको एकलौटी र निरंकुश निर्णय, अलोकतान्त्रिक चरित्र, अद्यावधिकको नाममा हामीले पहिल्यै नवीकरण गरिसकेका सदस्यतालाई खारेज गर्ने र पार्टीमा हिजो जीवन समर्पण गरेका व्यक्तिहरूलाई निकालेर पार्टी कब्जा गर्ने जस्ता गम्भीर समस्या उत्पन्न गराउनुले देशभरिका शुभचिन्तक र समर्थकहरूलाई स्तब्ध र दुःखित बनाएको छ। पार्टी कसैको पेवा, व्यक्तिगत सम्पत्ति र बपौती होइन। कसैको धम्की, लहड र मनपरीतन्त्रबाट पार्टी चल्दैन। हामी कसैको दास र लास बन्ने होइन। आफ्नो स्वविवेक, विचार र अधिकारसहित बोल्न, लड्न र फरक विचार राख्न आउनु हाम्रो लोकतान्त्रिक अधिकार हो।’

राजनीतिक विश्लेषक शंकर तिवारी कांग्रेसले राष्ट्रिय राजनीतिको परिवर्तन स्विकार्न नसकेको जस्तो देखिएको बताउँछन्। ‘अहिले मुद्दा केन्द्रित राजनीति भएको छ। बीपी कोइरालाले नै प्रश्नको पार्टी भन्नुभएको हो,’ उनले भने, ‘अहिले प्रश्न गरिराख्नुपर्छ भन्ने पुस्तामा पार्टी गयो। पार्टीभित्र लामो समय यथास्थितिमा बसेर राजनीति गरेको पुस्ताले बुझेर पनि अबुझ बनेको छ। सदस्यताको विषय खाली एउटा बाहाना भएको देखिन्छ। कांग्रेसमा पुरानो पुस्ताको हातबाट गुमिसकेको देखिन्छ। उहाँहरू पहिला पनि केही गर्नुभएन नयाँ स्विकार्न सक्नुभएको छैन जस्तो देखिन्छ। यसमा शक्ति सन्तुलनभन्दा पनि व्यक्तिलाई केन्द्रित राजनीति गर्न खोजेको देखिन्छ।’ अन्नपूर्णपोष्ट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया