काठमाडौँ, असार १४ गते । निजामती कर्मचारीले पूर्वानुमानकै भरमा पदबाट राजीनामा दिने क्रम बढ्दै गएको छ । प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकको मसौदामा ऐन जारी भएको मितिभित्र एक पटकका लागि कर्मचारीको सेवा अवधि ३० वर्ष र अवकाश उमेर ५५ वर्षको प्रस्ताव गरेको चर्चा भएपछि कर्मचारीले पदबाट राजीनामा दिन थालेका हुुन् ।
आधिकारिक रूपमा पुष्टि नभए पनि अब जारी हुने भनिएको अध्यादेशले ३० वर्षभन्दा बढी सेवा अवधि भएका कर्मचारीले ३० वर्षसम्मको मात्र पेन्सनका लागि अवधि गणाना हुने चर्चा छ । कसैबाट पुष्टि नभएको यस्तो चर्चाका कारण कर्मचारीले राजीनामा दिन थालेको बताइएको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले ऐन नै नबनी बाहिर सञ्चार माध्यममा आएकै हल्लाका भरमा कर्मचारीले पदबाट राजीनामा दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय कर्मचारीले व्यक्तिगत कारणले त कतिपयले स्वास्थ्यका कारणले पनि पदबाट राजीनामा दिन्छन् । यसलाई हामीले धेरै अस्वाभाविक रूपमा लिएका छैनौँ तर ठुलो सङ्ख्यामा कर्मचारीले पदबाट राजीनामा दिए भने चाहिँ नीतिगत रूपमा सोच्नुपर्ने हुन्छ ।” कर्मचारीले जुनसुकै बेला पनि आफ्नो सेवाबाट राजीनामा दिएर अवकाश हुन पाउने व्यवस्था कानुनले नै सुनिश्चित गरेको उहाँले स्पष्ट पार्नुभयो ।
विधेयकको मसौदा अहिले राय सुझावका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ । मन्त्रालयले उक्त विधेयकको मसौदा गत जेठ २६ गते कानुन मन्त्रालयमा रायका लागि पठाएको हो । कानुन मन्त्रालयले विधेयकको मसौदाको अध्ययन गरिरहेको छ । उक्त व्यवस्था ऐन निर्माण हुँदासम्म कायम रहे पेन्सन घट्ने जोखिमबाट बच्न कर्मचारीले पदबाट राजीनामा दिएको हुन सक्ने बुझाइ प्रशासनिक वृत्तको छ । राष्ट्रिय किताबखाना निजामतीका महानिर्देशक श्रवणकुमार पोखरेलले असार महिना लागेदेखि ८९ जना निजामती कर्मचारीले पदबाट राजीनामा दिई पेन्सन पट्टाका लागि किताबखानामा आएको जानकारी दिनुभयो ।
त्यस्तै यस अवधिमा ७१ जना कर्मचारी अनिवार्य अवकाशमा गएका छन् । यसअगाडि भने राजीनामा दिनेभन्दा अनिवार्य अवकाशमा जाने कर्मचारी २.६ प्रतिशतले बढी थियो तर असार महिना लागेदेखि भने अनिवार्य अवकाशमा जानेभन्दा कर्मचारीको अवकाशको उमेरभन्दा अगाडि नै पदबाट राजीनामा दिने सङ्ख्या वृद्धि भएको छ । विगतमा वार्षिक औसत दुई हजार तीन सय जना कर्मचारी अनिवार्य अवकाशमा जाने गरेका थिए ।
राष्ट्रिय किताबखाना (निजामती) मा प्रविष्ट भएको विवरण अनुसार ३० वर्षभन्दा बढी सेवा अवधि भएका र ५५ वर्ष सेवा पूरा गरेका कर्मचारीको सङ्ख्या छ हजार १०६ जना रहेको छ । हाल ३० वर्षभन्दा बढी सेवा अवधि भएका कर्मचारीको सङ्ख्या दुई हजार ६७८ जना रहेको छ भने ५५ वर्ष उमेर पुगेका कर्मचारी तीन हजार ४२८ जना रहेका छन् । यसरी हेर्दा ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेर पुगेका कर्मचारीको कुल सङ्ख्या १२ हजार २१२ देखिन्छ । पोखरेलले करिब दुई साताको अवधिमा कर्मचारीले राजीनामा दिने दर बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक पेन्सन पट्टा बनाउने कर्मचारीको तथ्याङ्क बढ्दै गएकाले राजीनामा दिने क्रम तीव्र भयो भनेर निष्कर्षमा पुग्न सकिन्छ ।” राजीनामा दिनेमा कार्यालय सहयोगीदेखि सहसचिवसम्मका कर्मचारी भएको उहाँले बताउनुभयो ।गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया