असार १२, २०८३ शुक्रबार June 26, 2026

रास्वपाको घोषणा र व्यवहारमा विरोधाभास

निर्वाचनमा सहभागी हुन योग्य चार हजार ३११ प्रतिनिधिमध्ये दुई हजार ९५९ जना मात्र मतदानमा सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मुलुकको राजनीतिमा सफा गर्न र फरक राजनीतिक संस्कार बसाल्ने भन्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमै घोषणा र व्यवहारमा विरोधाभास देखिएको छ । असार ७ गतेदेखि चितवनको भरतपुरमा सुरु भएको सरकारको नेतृत्व गरिरहेको दल रास्वपाको पहिलो महाधिवेशनमै देखिएको भद्रगोल व्यवस्थापनप्रति प्रतिनिधिहरू नै रुष्ट बनेका छन् । रास्वपाले फरक सन्देश दिनेगरी महाधिवेशन गर्ने भनेको थियो । तर, आइतबार उद्घाटन सत्रदेखि नै रास्वपाले आफूलाई फरकशैलीमा प्रस्तुत गर्न सकेन । कार्यक्रमको आन्तरिक व्यवस्थापन मात्र होइन, केन्द्रीय सदस्यका उम्मेदवारको प्रचार शैलीसमेत पुरानै दलको जस्तो देखियो ।

पुरानो दलका महाधिवेशनहरूमा झैँ महाधिवेशनस्थल वरिपरि प्रचार सामग्री यत्रतत्र छरिए, पानीको बोतलमा समेत प्रचार सामग्री टाँसिए । मधेसमा पर्सा बाहेकका जिल्लामा अधिवेशन नै नगरी महाधिवेशनमा होमिएको रास्वपाले बन्दसत्रको मुखमा प्रतिनिधिको विवाद खेप्नुपर्‍यो । बन्दसत्रमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समेत प्रतिनिधिहरूले छलफल गर्न पाएनन् । प्रतिवेदन पेस हुनेबित्तिकै प्रतिनिधिहरूले ताली बजाउनुपर्‍यो ।

बन्दसत्र र निर्वाचन प्रक्रिया पटक-पटक प्रभावित भएर महाधिवेशन लम्बिएपछि कतिपय जनप्रतिनिधि घर फर्किए । पार्टीको भावी दिशा तय गर्ने राजनीतिक दस्तावेजमाथि समेत पहिलो महाधिवेशनमै पर्याप्त छलफल हुन नपाएको प्रतिनिधिहरूको गुनासो छ । रास्वपाका सांसदसमेत रहेका एकजना महाधिवेशन प्रतिनिधिले त विगतमा एमाले, कांग्रेस त्यही गुटगत राजनीतिका कारण बिग्रिएको निष्कर्षसहित सामूहिक उम्मेदवारी नदिने भनिए पनि रास्वपामा झन् खराब अभ्यास देखिएको टिप्पणी गरेका छन् ।

सबैभन्दा विरोधाभास विषय त ‘नो भोट’मा छरपष्ट देखिएको छ । रास्वपाले स्थापना कालदेखि नै राइट टु रिजेक्ट (नो भोट) को एजेण्डा उठाउँदै आएको छ । तर, पार्टीकै पहिलो महाधिवेशनमा भने ‘नो भोट’को अभ्यास हुन नसकेको भन्दै प्रतिनिधिहरूले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन् । महाधिवेशन प्रतिनिधिहरूका अनुसार आफूलाई मनपरेका उम्मेदवारलाई मात्र मतदान गर्ने वा कसैलाई अस्वीकार गर्ने अधिकार निर्वाचन प्रक्रियाले दिएन । ६४ सिटका लागि ३५ जना मात्र योग्य लागे पनि बाँकी २९ जनालाई समेत मत दिन बाध्य बनाइएको टिप्पणी प्रतिनिधिहरूको छ ।

रास्वपाले सार्वजनिक रूपमा ‘नो भोट’ र ‘राइट टु रिजेक्ट’को पक्षमा आवाज उठाउँदै आए पनि आफ्नै आन्तरिक निर्वाचनमा त्यसको व्यवस्था नगर्नु घोषणा र व्यवहारबीचको स्पष्ट विरोधाभास भएको टिप्पणी महाधिवेशन प्रतिनिधिहरूले गरेका छन् । रास्वपाका सांसदसमेत रहनुभएका महाधिवेशन प्रतिनिधि राजीव खत्रीले पार्टी महाधिवेशनमा ‘नो भोटको धज्जी’ उडाइएको टिप्पणी गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ । नो भोटको धज्जी ।’ यसैगरी, केन्द्रीय सदस्यका उम्मेदवार यदुकुमार गिरीले पनि असन्तुष्टि जनाउँदै फेसबुकमा लेख्नुभएको छ, ‘हामी नयाँहरूले आफ्नै प्रतिद्वन्द्वीलाई भोट हालेर चुनाव लडियो ।’

नेता तथा कार्यकर्ताको असन्तुष्टि र प्रश्नैप्रश्न

पुराना दलहरूभन्दा फरक भएको दाबी गर्न नथाक्ने रास्वपाभित्रको असन्तुष्टि पहिलो महाधिवेशनमै छताछुल्ल भएको छ । भरतपुरस्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको हलभित्र लोकतन्त्रिक अभ्यास चलिरहेको दाबी गरिए पनि बाहिर उम्मेदवारसँगै प्रतिनिधिहरूमा असन्तुष्टि चर्को रूपले सार्वजनिक भएको छ । सांसदसमेत रहनुभएका गणेश कार्कीले प्रारम्भिक सूचीविपरीत मतदानका लागि नामहरू राखिएको भन्दै आपत्ति जनाउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोख्दै कार्कीले लेख्नुभएको छ, ‘खुलातर्फको १३३ नम्बरमा मेरो नाम रहेछ । प्रारम्भिक सूचीमा मभन्दा तल दर्ता भएकाहरूको नाम मेरोभन्दा माथि कसरी भयो ? मेरोभन्दा पहिले दर्ता गरेकाहरू मभन्दा तल कसरी पुगे ? के आधारमा भोटिङ मेसिनमा नाम, स्थान तोकियो ?’

अर्का सांसद यज्ञमणि न्यौपानेले पनि उम्मेदवारको सूचीमा बबण्डर गरिएको टिप्पणी गर्दै भन्नुभयो, ‘मेरो नाम खुला सूचीको ४२ नम्बरमा रहेछ । मभन्दा पछि फर्म भरेका साथीहरूको अगाडि नै नाम राखेको देखियो । अल्फाबेटिकल अर्डरसमेत मिलाएको रहेनछ ।’

सांसद आशिका तामाङले केन्द्रीय सदस्यका लागि मनोनयन दर्ता गरेको नम्बर र भोटिङ मेसिनमा राखिएको नम्बर पनि फरक परेको उल्लेख गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘मनोनयन दर्ता गर्ने बेला ३७ नम्बरमा भएको मेरो नाम भोटिङ मेसिनमा केको आधारमा १०६ नम्बरमा पुग्यो ? आफूले चाहेर पनि आफ्नो नेतालाई चुन्न गाह्रो भयो । नचिनेका/नजानेकालाई भोट हाल्दिनँ भन्न नपाइने अवस्था छ ।’ सांसद धनञ्जय रेग्मीले महाधिवेशन लथालिंग पारेर पदाधिकारीहरूले पार्टीको अन्तर्राष्ट्रिय जगतमा बेइज्जत गरेको आरोप लगाउँदै भन्नुभयो, ‘जुन हिसाबले मैले गर्वका साथ हाम्रो पार्टी भनिरहेको थिएँ, जुन पदाधिकारी छन् । त्यसले (तिनले) अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय स्वतन्त्र पार्टीको बेइज्जत गरेका छन् । यति बेथिति गरेर हामीले देश चलाउन सक्दैनौँ है साथीहरू । मैले आजै भन्दिएको छु ।’ केन्द्रीय सदस्यका उम्मेदवारहरू महाधिवेशन स्थलमा देखिएको भद्रगोलको दृश्यप्रति सामाजिक सञ्जालमार्फत खिसिट्युरीसमेत गरिरहेका छन् ।

भोटिङ मेसिनमै ‘सेटिङ’ को आरोप

रास्वपाको महाधिवेशनमा ढिला गरी सुरु भएको निर्वाचन नै विवादित बनेको छ । थुप्रै उम्मेदवारहरूले भोटिङ मेसिनमा कायम गरिएको क्रमसंख्यामा चलखेलको आरोप लगाएका छन् । एक महाधिवेशन प्रतिनिधिले नाम उल्लेख नगर्ने सर्तमा भनेका छन्, ‘सबै उम्मेदवारहरू भोटिङ मेसिनमा आफ्नो नाम अगाडि आओस् भन्ने चाहन्छन् । यसले मतदातालाई मनोवैज्ञानिक प्रभाव पार्ने उनीहरूको विश्वास छ । भोट हाल्दै जाँदा कोटा सकियो भने पछाडि नाम भएकाहरू मतदाताले चाहेर पनि छुट्न सक्छन् ।’ ती प्रतिनिधिका अनुसार भोटिङ मेसिनमा सुरुवातमा चर्चित नेताहरूका नाम छन् । डा.स्वर्णिम वाग्लेको नाम पहिलो नम्बरमा छ । वाग्लेपछि दोस्रोमा गणेश पराजुली र तेस्रोमा मनिष झाको नाम छ । चौथोमा सोविता गौतम र पाँचौँमा विपीन आचार्य छन् । उनीहरू सबै शीर्ष तहकै नेता हुन् । छैटौँ नम्बरमा शंकर श्रेष्ठ छन् । उनी रास्वपाको संगठन विभागका सचिव हुन् । उनले सहमहामन्त्रीमा आकांक्षा राखिरहेका छन् । पार्टीका साबिक महामन्त्री कवीन्द्र बुर्लाकोटीभन्दा शंकर अगाडि कसरी आए ? भन्ने प्रश्न उठेको छ । त्यसपछाडि वरीयता भताभुंग भएको छ । सातौँमा कवीन्द्र र आठौँमा क्रान्तिशिखा धितालको नाम छ । कमैले चिनेका गुणानन्द महतो नवौँ र शिशिर खनालको दशौँ नम्बरमा छ ।

निर्वाचनमा एकतिहाइ प्रतिनिधि मतदानबाट बाहिर

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि सम्पन्न निर्वाचनमा करिब एकतिहाइ प्रतिनिधि मतदानमा सहभागी नभएको पाइएको छ । रास्वपा निर्वाचन आयोगका अनुसार निर्वाचनमा सहभागी हुन योग्य चार हजार ३११ प्रतिनिधिमध्ये दुई हजार ९५९ जना मात्र मतदानमा सहभागी भएका छन् । यसअनुसार एक हजार ३५२ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन् । बिहीबार सम्पन्न मतदानमार्फत पार्टीको नयाँ केन्द्रीय समिति चयनका लागि मत संकलन गरिएको हो । ९९ जना निर्वाचनबाट चयन हुने रास्वपाको विधानमा व्यवस्था छ । महाधिवेशनको व्यवस्थापन अस्तव्यस्त हुनुका साथै निर्वाचन कार्यमा ढिलाइ हुँदा थुप्रै प्रतिनिधि घर फर्किएका कारण भोट हाल्नेको संख्या घटेको रास्वपाका नेताहरूको भनाइ छ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया