असार ११, २०८३ बिहिबार June 25, 2026

स्थानीय तहको बजेट : सुशासन प्राथमिकतामा

आगामी आर्थिक वर्षका लागि सबै स्थानीय तहले असार १० गतेभित्र गाउँ र नगर सभामा बजेट पेस गर्नुपर्ने व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ११ गते । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७५३ स्थानीय तहमध्ये ७२४ स्थानीय तहले गाउँ र नगर सभामा बजेट पेस गरेका छन् । बाँकी २९ स्थानीय तहले गाउँ र नगर सभामा बजेट पेस गर्न सकेनन् ।  सभामा बजेट पेस गरेका अधिकांश स्थानीय तहले यस अगाडिका अधुरा योजना पूरा गर्ने, स्थानीय तहलाई सूचना तथा प्रविधिमैत्री बनाउने र सुशासनलाई जोड दिएका छन् ।

कतिपय दुर्गम क्षेत्रका स्थानीय तहले भने अहिले पनि भौतिक पूर्वाधारका क्षेत्रलाई नै बजेटको प्राथमिकता निर्धारण गरेका छन् । महानगरपालिका, उपमहानगरपालिका र सहरी क्षेत्रका नगरपालिकाले भने सिप विकास, रोजगारी प्रवर्धन, सूचना तथा प्रविधिको विकास, विपत् व्यवस्थापनलगायत कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएका छन् ।

२०७९ वैशाखमा सम्पन्न स्थानीय तहका जनप्रतिनिधिहरूको बजेट सभामा ल्याउने यो अन्तिम कार्यकाल हो । आगामी २०८४ वैशाखमा हालका बहालवाला जनप्रतिनिधिको पाँचबर्से कार्यकाल सकिन्छ । जनप्रतिनिधिको अन्तिम कार्यकाल भएकाले पनि विगतका अधुरा योजना पूरा गर्ने गरी स्थानीय तहले बजेटमा प्राथमिकता दिएका हुन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले गत दस वर्षको तुलनामा यस वर्ष सबैभन्दा कम मात्र स्थानीय तहले सभामा बजेट पेस गर्न नसकेको बताउनुभयो । उहाँका अनुसार केही स्थानीय तहका प्रमुख तथा अध्यक्षको आकस्मिक रूपमा स्वास्थ्य समस्या हुँदा सभामा बजेट पेस गर्न नसकिएका, केही स्थानीय तहमा आन्तरिक विवाद र कतिपय स्थानीय तहले तयारी नपुगेकाले र प्रमुख प्रशासकीय अधिकृत सरुवा भएकाले बजेट सभामा पेस गर्न नसकेका हुन् ।

उहाँले भन्नुभयो, “सङ्घीयता कार्यान्वयन भएको दस वर्षको अवधिलाई हेर्दा स्थानीय तहले क्रमिक रूपमा कानुनले तोकेकै समयमा बजेट सभामा पेस गर्ने क्रम बढ्दै गएको छ । यसबाट स्थानीय तह सुशासनतर्फ अग्रसर भएको पुष्टि हुन्छ ।” सभामा बजेट नल्याउने स्थानीय तहका लागि महासङ्घले आवश्यक सहजीकरण गर्ने प्याकुरेलले स्पष्ट पार्नुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले आगामी आर्थिक वर्षका लागि सबै स्थानीय तहले असार १० गतेभित्र गाउँ र नगर सभामा बजेट पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

सङ्घीयताविद् डा. खिमलाल देवकोटाले २०७४ देखि २०८३ सालसम्मको स्थानीय तहको बजेटलाई मूल्याङ्कन गर्दा समयक्रमसँगै स्थानीय तहको प्राथमिकता फरक/फरक हुँदै गएको बताउनुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्षका लागि भने अधिकांश स्थानीय तहले सुशासन, सूचना प्रविधि, विपत् व्यवस्थापनका साथै यसअघिका अधुरा योजनालाई नै प्राथमिकता दिएको देखिएको छ । उहाँले भन्नुभयो, “स्थानीय तहका जनप्रतिनिधिका बजेट सभामा ल्याउने यो अन्तिम कार्यकाल भएकाले पनि यसअघिका अधुरा योजनालाई प्राथमिकता दिएका हुन् ।” गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया