काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आइतबारबाट चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा जारी छ । पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) महाधिवेशनमा जाने-नजाने संशयकै बीच सभापति रवि लामिछानेसँगै चितवन पुग्दा कार्यकर्ताले भव्य स्वागत गरे ।
सभापति लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनले घण्टी बजाएर प्रथम महाधिवेशनको संयुक्त उद्घाटन गरे । उद्घाटन समारोहमा रवि बालेनबीचको सौहार्दताले दुई नेताबीचको सम्बन्धका बारेमा सार्वजनिक रूपमा सुरु भएका टीकाटिप्पणीलाई निस्तेज पारिदिएको छ ।
उद्घाटन कार्यक्रममा आफ्ना भनाइ राख्दै दुवै नेताले आगामी पाँच वर्ष आ–आफ्नो जिम्मेवारी सम्हाल्ने पूर्ववत् सहमति कार्यान्वयन गर्ने सन्देश दिएका हुन् । प्रधानमन्त्री बालेनको पछिल्लो अभिव्यक्ति र कार्यशैलीलाई लिएर दुई नेताबीच दूरी बढेको आकलन थियो । तर, सभापति लामिछानेले प्रधानमन्त्री पदमा दाबी नगर्ने संकेत गर्दै भने, ‘झुक्किएर खुट्टामा बल आए पनि त्यो बल पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहको खुट्टामा पास गर्नेछु ।’
विपक्षी दलहरूले रवि र बालेनबीचको सम्बन्धमा असमझदारी आएको संकेत गरेका थिए । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रास्वपाले स्थिरताका निम्ति सही ढंगले अघि बढ्नुपर्ने बताए ।
‘नेपालको राजनीतिमा रास्वपाले प्राप्त गरेको यो जनमत असाधारण छ । इतिहासमा तीन–चारपटक यस्तै खालको जनमत दलहरूले प्राप्त गरे, तर हरेकपटक त्यो जनमत दुर्घटनामा पर्यो, आफूलाई सम्हाल्न सकेनन् ।’ थापाले रास्वपामा पनि दुर्घटना हुन सक्ने संकेत गरेका हुन् । उनले रास्वपामा विगतमा विभिन्न दलमा देखिएजस्तो आन्तरिक विवाद उत्पन्न नहोस् भन्ने आग्रह गरेका थिए ।
महाधिवेशन उद्घाटन कार्यक्रममा शुभकामना दिनेक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि रास्वपाभित्र बाहिरबाट खेल्न खोज्नेहरू भएकाले सतर्क रहन आग्रह गरे । उनले भने, ‘हामी मान्छे हौं, हामीभित्र स्वार्थी–लोभीपना अलिअलि हुन्छ पनि । अनि अरू आसेपासे, बाह्य र विभिन्न भित्रका शक्तिले पनि खेलेर कोभन्दा को ठुलो ? रवि ठुलो कि बालेन ठुलो ? भनेर त्यहाँ खेलिदिन सक्छन् । त्यो खतरा म देख्छु ।’ भट्टराईले आगामी १०–१५ वर्षसम्म राजनीतिक स्थिरता पाओस् भन्ने आफ्नो चाहना रहेको भन्दै दुई नेताबीचको सम्बन्धमा दरार आउन नहुने बताए ।
रास्वपाभित्रको आन्तरिक असमझदारी देखिएको विषयलाई उनले संकेत गर्दै सुझाव दिएका हुन् । नेताहरूको अभिव्यक्ति सुनिसकेपछि रास्वपा सभापति लामिछानेले आन्तरिक असमझदारीको सन्दर्भलाई कार्यकर्तामाझ प्रस्ट्याएका छन् । लामिछानेले सरकार सञ्चालनबारे चुनावअघि नै सहमति भएको उल्लेख गरे । ‘सरकार सञ्चालन गर्नका निम्ति रास्वपाले चुनावअघि नै वालेन्द्र शाहको खुट्टामा बल पु¥याएको छ । अब भटाभट गोल हान्ने जिम्मा प्रधानमन्त्री बालेन शाहको हो,’ लामिछानेले भने ।
लामिछानले बल पास गर्ने बताएपछि प्रधानमन्त्री वालेन्द्र शाह खुलेर हाँसेका थिए । त्यस्तै, रास्वपाका कार्यकर्ताले उठेर सम्मान प्रकट गरेका थिए । लामिछानले थपे, ‘म इतिहासलाई जवाफ दिन खडा भएको छु । आज जन्मेकाहरूले मात्र होइन, भोलि जन्मनेहरूले पनि मलाई र बालेनलाई प्रश्न गर्नेछन् । यो मौका किन गुमाउन दियौं । हामी त्यो प्रश्न भाँच्न चाहन्छौं । यो अवसरलाई सदुपयोग गर्न चाहन्छौं ।’
प्रधानमन्त्री शाहले पनि पार्टीमा एकता कायम गर्ने सन्दर्भमा तीन दिनसम्म चितवनमा बसेर छलफल गर्ने र बाँकी समय देश बनाउन लाग्ने बताए । महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै नेता बालेनले राम्रो नेता बन्न समूह बनाउने नभई आमजनताको मन जित्नेगरी काम गर्न आग्रह गरे । उनले भने, ‘एउटा योग्य नेता बन्नलाई जनताको माया जित्नुपर्छ कुनै समूहको मायाले हुँदैन । त्यही भएर समूह बनाउनतिर नलाग्नुुहोला । त्यस्तो बीउ अहिले नै नरोप्नु कि त्यो बीउ भोलि रुख बनेर बीचबाट फाँड्नु नपरोस् ।’
सभापति लामिछाने र प्रधानमन्त्री शाहका भनाइप्रति महाधिवेशनमा सहभागी कार्यकर्ता उत्साहित देखिएका छन् । दुुवै नेताले आफ्ना प्रतिबद्धतासहित विगतका सहमति र आगामी यात्राबारे स्पष्ट पारेका हुन् । एकताको सन्देशसहित आगामी पाँच पार्टी र सत्ता मिलेर चलाउने नेताद्वयको प्रतिबद्धताले आमकार्यकर्तामा थप उत्साह ल्याएको देखिन्छ । महाधिवेशन उद्घाटन सत्रमा उपसभापति डा.स्वर्णिम वाग्लेले स्वागत मन्तव्य राखे भने रास्वपाका दुुई नेताबाहेक कसैले बोल्न पाएनन् । महाधिवेशनको औपचारिक कार्यक्रममा अन्य राजनीतिक दलबाट सहभागी अतिथिहरूले शुभ–कामनासहित आन्तरिक एकताका कायम राख्न सुझाव दिए । रास्वपाको महाधिवेशनमा चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) र भारतीय जनता पार्टी (बिजेपी)ले शुभकामना सन्देश पठाएका थिए । मध्यान्ह दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया