काठमाडौं : सुनसरीको कप्तानगन्जको धार्मिक द्वन्द्व हिंसात्मक भई मधेशभर फैलिन थालेपछि काठमाडौंमा प्रधानमन्त्री वालेन्द्र शाहभन्दा धेरै रास्वपा सभापति रवि लामिछानेले सक्रियता बढाए । उनले सर्वदलीय बैठक बोलाए । मधेशकेन्द्रित दलका शीर्ष नेताहरूसँग संवाद गरे । आफ्नै दलका मधेशबाट निर्वाचित सांसदहरूसँग छलफल गरे । अनि, जिल्लामा फर्केर शान्ति र सद्भावका लागि पहल गर्न निर्देशन दिए ।
त्यतिन्जेलसम्म प्रधानमन्त्री शाहमाथि ‘संवेदनशील घडीमा पनि राष्ट्रलाई सम्बोधनसम्म नगरेको’ आरोप थियो । १० साउनको मध्यरात कप्तानगन्जबाट सुरु भएको साम्प्रदायिक द्वन्द्व मधेश प्रदेशतर्फ फैलिँदै थियो । दुई साताको स्थगनपछि १४ साउनमा संसद्को बैठक बस्दै थियो । त्यसको अघिल्लो दिन प्रधानमन्त्री शाहलाई भेटेरै सभामुख डिपी अर्यालले संसद्लाई सम्बोधन गर्न सुझाव दिएका थिए । उनले सम्बोधन त गरेनन् नै, सुनसरी घटना हुँदै मधेशमा फैलिँदै गएको धार्मिक तनावबारे सरकारले संसद्लाई जानकारीसम्म गराएन । संसद्मा आफैं नगए पनि प्रधानमन्त्रीले गृहमन्त्री सुधन गुरुङलाई उभ्याएर घटनाको बिफ्रिङ गर्न सक्थे ।
तर, साँझसम्म परिस्थिति अर्कै भइसकेको थियो । चौतर्फी दबाबपछि प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो फेसबुक पेजबाट देशवासीलाई भिडियो सम्बोधन गरे । गृहमन्त्री गुरुङलाई तराई–मधेश खटाए । ठ्याक्कै, सभापति लामिछानेले गरेझंै मधेशकेन्द्रित दलका शीर्ष नेता र आफ्नो पार्टीका मधेशका सांसदसँग छलफल गरे ।
तराई–मधेश तनावमा मात्र होइन, पछिल्ला केही घटनाक्रमले बालेन र रविका समानान्तर गतिविधिलाई पुष्टि गरेका छन् । कूटनीति, जनसम्र्पक र सरकार सञ्चालनमा प्रधानमन्त्री शाहले पार्टीसँग खासै समन्वय गरेको देखिँदैन । उनका अपरिपक्व अभिव्यक्ति, निर्णय र कार्यशैलीको सभापति लामिछानेले बारम्बार बचाउ गर्नुपरेको छ ।
कूटनीतिमा खेलाँची
सभापति लामिछानेको भारत भ्रमणपछि प्रधानमन्त्री शाह र उनको टिम केही सशंकित देखिएको छ । भारतले सुरुमा शाहलाई भ्रमणको निम्तो दिन चाहेको थियो । भारतीय विदेश सचिव निम्तोपत्र दिन काठमाडौं आउने तय भइसकेको थियो । तर, प्रधानमन्त्री बालेनले उनलाई भेट्न अस्वीकार गरिदिए । उनले संसद्को रोस्ट्रमबाट नेपालले भारतका धेरै जग्गा मिचेको मात्र बताएनन्, नेपाल–भारत विवाद समाधानका लागि ब्रिटिससँग कुरा भइरहेको समेत बताउन भ्याए । भारतले तत्कालै तेस्रो पक्षको आवश्यकता नरहेको प्रतिक्रिया दियो । बालेनका यी अभिव्यक्तिलाई नेपालका मात्र होइन, भारतीय कूटनीतिज्ञहरूले समेत ‘अपरिपक्व’ भनिदिए ।
त्यहीबीच रास्वपा सभापति रवि लामिछानेले १८ जेठदेखि भारत भ्रमण गरे । भाजपाले उनको स्वागतमा नयाँ दिल्लीमा रातो कार्पेट बिछ्यायो । बिजेपीका अध्यक्ष नीतिन नवीन, परराष्ट्रमन्त्री एस. जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर लामिछानेले सम्बन्ध बिस्तार गरे । विदेशी आगन्तुकसँग खासै नभेट्ने अमित शाहसमेतले लामिछानेलाई भेटेपछि भारतीय संस्थापनले महत्व दिएको सन्देश दियो । संयोग, लामिछाने फर्किएको २२ जेठकै दिन परराष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्ली पुगे । उनले प्रधानमन्त्री शाहले संसद्मा बोलेको विषयले भारतमा उत्पन्न आशंका हटाउने कोसिस गरे । राष्ट्रिय अडानबारे प्रस्ट पारे ।
लामिछानेको भारत भ्रमणपछि सशंकित बालेनको सचिवालयले भारतसँग सम्बन्ध विस्तार गर्न प्रमुख सल्लाहकार कुमार बेनलाई सुटुक्क नयाँ दिल्ली पठायो । १९ असारमा सिमरा हुँदै स्थलमार्गबाट दिल्ली पुगेका उनले विदेश मन्त्रालयका अधिकारीसँग भेट गरेको खुलासा भएको छ । उनी २२ असारमा काठमाडौं फर्किएका थिए । उनी फर्किएपछि नै प्रधानमन्त्री बालेनको भारत भ्रमणको गृहकार्य सुरु भएको छ । तर, बेन आफैंले भने भारत गएको अस्वीकार गरेका छन् ।
बालेन–स्वर्णिमको अलग–अलग शैली
सरकार बनेको सय दिन नपुग्दै प्रधानमन्त्री शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेको सम्बन्ध बिग्रियो । आर्थिक विज्ञलाई अर्थमन्त्री नियुक्ति गर्दासमेत सेयर बजार ओरालो लागिरहेको थियो । जेनजी आन्दोलनयता सुस्ताएको अर्थतन्त्रमा कुनै उत्साह देखिएन । बजेट आएपछि पनि त्यो स्थितिमा खासै सुधार नदेखिएपछि बालेनको सचिवालयले त्यसको दोष अर्थमन्त्रीमाथि थोपर्यो । त्यहीबेला अर्थमन्त्री वाग्लेमाथि विपक्षी दलहरूले आर्थिक विधेयक संशोधन गरेर करका दर हेरफेर गरेको गम्भीर आरोप लगाए । बजेटअघि नै करका दर चुहाएर भन्सारबाट गाडी भित्र्याएको आरोप पनि उनीमाथि लाग्यो । बजेटपछि नै प्रधानमन्त्री र अर्थमन्त्रीको दूरी बढेको थियो । अर्थतन्त्रका सूचकहरू निरन्तर नकारात्मक देखिन थालेपछि प्रधानमन्त्री शाहले २४ असारदेखि निजी क्षेत्रसँग भेटघाट गर्न थाले । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका नेतृत्व र व्यवसायीसँग लगानीको वातावरण र व्यवसायको अवस्थाबारे छलफल गरे । २५ असारमा निर्माण व्यवसायी र २६ गते उर्जा उत्पादकसँग भेटे । ती कुनै पनि भेटमा अर्थमन्त्री वाग्लेलाई राखेनन् ।
सभापति लामिछानेसँग १० साउनको भेटमा प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै हटाउने इच्छा सुनाए । त्यसअघि नै वाग्लेले सभापति लामिछानेलाई भेटेर प्रधानमन्त्री र उनको सचिवालयका कारण काम गर्न असहज भएको गुनासो गरेका थिए । साथै, जथाभावी उद्योगी व्यवसायीलाई धरपकड गर्दा अर्थतन्त्रमै नकारात्मक प्रभाव परेको उनको बुझाइ थियो । यी सबै विषयमा रवि–बालेनको चार घण्टा लामो बसाइमा दुवै पक्षले आ–आफ्ना कुरा खुलस्त राखेका थिए ।
प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्ध सुधार्न सभापति लामिछानेले २ साउनमा काभ्रेको दूषित थानी रिसोर्टमा तीन नेताबीच आवासीय छलफल राखेका थिए । वाग्लेकै लगानी रहेको रिसोर्टमा प्रधानमन्त्री शाह स्वास्थ्यको कारण देखाएर गएनन् । लामिछाने र वाग्ले एकरात बसेर फर्किए ।
प्रधानमन्त्री शाहको निजी क्षेत्रसँगको छलफल शृंखला ६ साउनमा हस्तकला महासंघको नेतृत्वसँगको भेटपछि टुंगियो । त्यसअघि १ साउनमा जुत्ता उत्पादक, ४ साउनमा पुँजीबजार र बिमासम्बन्ध व्यवसायीसँग भेटे । त्यसपछि बल्ल अर्थमन्त्री वाग्लेले सिंहदरबारमा सक्रियता बढाएका हुन् । उनले १२ साउनमा झन्डै ४० उद्योगी व्यवसायी र निजी क्षेत्रका अगुवासँग भेटे । सो छलफलमा अर्थसचिव डा.घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडी पनि सहभागी थिए । प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेका छुट्टाछुट्टै एवं समानान्तर छलफलले निजी क्षेत्र आश्वस्त हुन भने सकेको पाइएन ।
विश्लेषक भीम भुर्तेल रास्वपामा पूर्ववर्ती समूहका आ–आफ्नै शैलीका कारण यस्ता अपरिपक्व गतिविधि भइरहेको बताउँछन् । ‘चुनाव जितेर आए पनि रास्वपा पार्टी नै बनिसकेको छैन । एक हिसाबले यो रेल स्टेसनजस्तै हो । मुसाफिर आउँछन्, जान्छन् । आफ्नो ठाउँमा पुगेपछि ओर्लिन्छन्,’ उनले मध्यान्हसँग भने, ‘प्रस्ट राजनीतिक दर्शन, विचारधारा र संगठन नभएकाले पनि यस्ता समस्या आइरहन्छन् ।’
अर्को कारण चुनाव जित्ने स्वार्थका लागि एकठाउँ आइपुगेका समूहका विचार, व्यवहार र कार्यशैली भिन्न देखिनु स्वाभाविक ठान्छन् उनी । ‘प्राविधिक रूपमा एकठाउँ भए पनि गुटहरू मर्ज भइसकेका छैनन् । आ–आफ्ना समूह छँदै छन् । त्यसमाथि, शासन व्यवस्था कसरी चल्छ भन्ने ढंग नपुगेका कारण पनि पार्टी एकातिर, सरकार अर्कोतिरजस्तो देखिएको छ,’ भुर्तेल भन्छन् । यी दुवैसँग पार्टी र सरकार चलाएको लामो अनुभव नभएकाले कार्यशैलीगत समस्या देखिएको उनी बताउँछन् ।
पार्टी र सरकारका समानान्तर गतिविधिबारे प्रतिक्रिया लिन हामीले केही मन्त्री र पार्टीका नेतासँग सम्र्पक गरेका थियौं । तर, अधिकांश यसबारे बोल्न चाहेनन् । रास्वपा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियार हरेक काम पार्टी र सरकार एकैठाउँ बसेर गर्नुपर्छ भन्ने आफूलाई नलागेको बताउँछन् । ‘दलले गर्ने र सरकारले गर्ने काम भिन्न हुन्छन् । दुवैले आफूलाई पायक पर्नेगरी बैठक, छलफल र निर्णय गर्नु स्वाभाविक हो,’ उनले भने । तर, परराष्ट्र नीतिमा भने समानान्तर देखिनेगरी गतिविधि हुन नहुनेमा आफू प्रस्ट रहेको परियार बताउँछन् । मधेशको पछिल्लो तनावजस्ता संवेदनशील राष्ट्रिय मुद्दामा भने पार्टी र सरकार एकैठाउँ बसेर बहुपक्षीय छलफल गर्नु उपयुक्त हुने उल्लेख गर्दै उनी भन्छन्, ‘त्यसो गर्न सकेको भए सुनमा सुगन्ध हुन्थ्यो ।’मध्यान्ह दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया