काठमाडौं : ‘म स्वयंले जेनजी आन्दोलनको जग अनि परिवर्तनको नारामा बनेको यो सरकारमा परिवर्तन महसुस गर्न पाइनँ । जनताले कसरी परिवर्तन महसुस गर्न पाउलान् ?’
यो प्रश्न सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि पन्त (बुद्धिप्रसाद)को हो । बिहीबार प्रतिनिधिसभामा पन्तले गत शनिबार वीरगन्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत बिरामीको मृत्यु भएको विषय उठाए । त्यसपश्चात् उत्पन्न तनावपूर्ण स्थिति, डाक्टरमाथि भएको हातपात र त्यसपछि देशैभरका चिकित्सकहरू आन्दोलित भएको घटनाक्रम सदनमा राखे ।
यो विषयका कुरा गर्न खोज्दा आफूलाई कहिले गृह मन्त्रालय पठाउने, कहिले स्वास्थ्य मन्त्रालयतिर देखाउने काम भएको भन्दै उनले सरकार परिवर्तन भएको महसुस गर्न नपाएको बताएका हुन् ।
रास्वपाका कतिपय सांसदले त जनताकहाँ जाँदा सरकार खै भन्ने प्रश्नको सामना गर्नुपरेको सुनाए । ‘मैले निर्वाचन क्षेत्र भ्रमण गर्दा जनताले सोधे, सांसद त आउनुभयो, हाम्रो घरदैलोमा सरकार कहिले आउँछ ?’ रास्वपा सांसद प्रकाश पाठकले प्रतिनिधिसभाको बैठकमा भने ।
झापाको भद्रपुरमा भारतले दुई किलोमिटर नेपाली भूमि मिचेर सीमा स्तम्भ बनाएको विषयमा सरकार मौन रहेको भन्दै उनले राष्ट्रियताको सवालमा सरकारको खोजी गरेका हुन् ।
संसद्मा विपक्षी दलहरूले सरकारको आलोचना गर्नु र प्रश्न उठाउनुलाई स्वभाविक मानिन्छ । तर, जब सत्तारुढ दलका सांसद नै सरकारको आलोचनामा उत्रिन्छन्, त्यसले सम्बन्धित दलभित्रको असन्तुष्टिलाई उजागर गरिरहेको छ ।
यसका उदाहरण संसद्मा देखापरेका हुन् । सरकारको काम गर्ने शैलीलाई लिएर प्रश्न गर्नेमा सांसदद्वय बुद्धिप्रसाद पन्त र प्रकाश पाठक मात्र छैनन् ।
बिहीबार नै प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाकी सांसद अप्सना बानुले सुनसरीमा गोली हान्न कसले र कुन प्रशासनबाट आदेश दिइएको हो ? भनेर प्रश्न गरिन् । ‘हालै सुनसरी लगायतका क्षेत्रहरूमा हिन्दु र मुस्लिम समुदायबीच अप्रिय विवाद र झडप भयो । यसले हामी सबैको छाती पिरोलिएको छ,’ उनले भनिन् ।
यहाँनेर उनले सरकारको भूमिकामाथि प्रश्न उठाएकी हुन् । सांसद बानुले भनेकी छिन्, ‘म सरकारलाई प्रश्न गर्न चाहन्छु, बारम्बार गोली हान्न कसले र कुन प्रशासनबाट आदेश दिइरहेका छन् ? गोली चलाएर मुलुकमा शान्ति कायम हुन्छ जस्तो लाग्दैन । यसले झनै विकराल अवस्था सिर्जना गर्दछ ।’ अन्य धेरै उपायबाट समस्याको समाधान गर्न सकिनेमा सरकारले यसतर्फ ध्यान नदिएको उनको टिप्पणी छ ।
रास्वपाका अर्का सांसद उत्तमप्रसाद पौडेलले ‘राहदानी लिन जाँदा, वडामा सिफारिस लिन जाँदा वा राजस्व तिर्न जाँदा, जहाँ पनि सर्भर डाउन’ भइराखेको भनेर सरकारको ध्यानाकर्षण गरे । उनले भनेका छन्, ‘यो प्राविधिक त्रुटि मात्र हो कि कर्मचारी र बिचौलियाको सेटिङमा गरिएको मानवीय नियत ? यसको तत्काल छानबिन हुनुपर्छ ।’
सरकारले चुस्त सेवा भनेर भनेको, तर व्यवहारमा कर्मचारीको मनोमानी र बेथिति जस्ताकोतस्तै रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
संसद्मा व्यक्त रास्वपाका सांसदहरूका यी अभिव्यक्तिले सत्तारुढ दल रास्वपाभित्रको असन्तुष्टिलाई देखाउँछ । पार्टीको महाधिवेशन सकेर आएको रास्वपाले एकपटक केन्द्रीय समितिको बैठक राख्यो । पार्टीका अन्य संरचनाहरू पनि छन् । रास्वपाका सांसदहरू संसद्मै सरकारको कार्यसम्पादन, सेवा प्रवाह र निर्णय क्षमतामा प्रश्न गर्नेतर्फ उन्मुख भएका हुन् । यसले रास्वपाभित्र असन्तुष्टि बढ्दै गएको देखाउँछ ।मध्यान्ह दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया